स्टार्ट बन्द हुँदा बस दुर्घटना,५ को मृत्यु २१ घाइते



सलिम अन्सारी, प्युठान
जिल्लाको गौमुखी–४ अर्खाका थमजित विक र उनकी भान्जी घरको यात्रामा निस्किए। उनीहरू भारतबाट घर आउन लागेका थिए। त्यसैले शनिबार साँझ थमजित र उनकी भान्जी हीरा टोमटाले महेन्द्रनगर आएर प्युठानका लागि बसको टिकट काटे।

१८ वर्षीया हीरा टोमटा बिरामी थिइन्। त्यसैले भारतमा २ महिना लामो उपचारपछि शनिबार घर फर्कंदै थिए उनीहरू। सीमापारिबाट घरको साइत गर्दा सायदै कसैले पनि विपद् आइलाग्छ भन्ने सोच्दैन्नन्। त्यसैले यी मामा–भान्जीसँगै टिकट काटेका दर्जन बढी यात्रुले दुर्घटनामा परिन्छ भन्ने एकरत्ति पनि सोचेका थिएनन्। तर, जे नहुनु थियो त्यही भइदियो।

सोही रात्रिबसमा प्युठान लुपलुङका रमेश भण्डारी भालुवाङबाट चढे। पूर्वी रुकुममा सशस्त्र प्रहरी जवान रहेका उनी घर बिदामा घर फर्कंदै थिए । महेन्द्रनगरबाट ८÷९ जना र भालुवाङबाट दर्जन बढी यात्रु लिएर बस रातको समयमा गन्तव्यतर्फ कुदिरहेको थियो। बडडाँडाको ओरालो लाग्दा एक्कासि स्टार्ट बन्द भयो, हेडलाइट निभ्यो। दुर्घटनाबाट बाँचेका रमेश भन्छन्– ‘यात्रु अत्तालिन थाले, त्यसपछि कहाँ पुगियो पत्तै पाइएन। बस सडकबाट तल गल्र्यामगुर्लुम गुल्टिसकेको थियो।’

त्यस्तो अवस्थामा पनि रमेशले होस् गुमाएनन्। प्रहरीसँग गुहार माग्दै भने– ‘हामीलाई बचाउनुस् बस पल्टियो।’ दुर्घटनालगत्तै पुगेका प्रहरी जवान बद्री कुँवरले भने– ‘हामीले उद्धारमा कुनै कञ्जुस्याइँ गरेनौं। सास भएका जतिलाई अस्पताल पठायौं।’

महेन्द्रनगरबाट प्युठान आउँदै गरेको यात्रुवाहक बस प्युठानको सरुमारानी गाउँपालिका–४ पाकुरीखोला (बडडाँडा नजिकै)मा दुर्घटना हुँदा ५ जनाले घटनास्थलमै ज्यान गुमाए। घटनामा तीन महिला र दुई पुरुष गरी ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। महाकाली यातायातको ना४ख १८७६ नं. को बस सडकबाट करिब २ सय मिटर तल खस्दा बसचालक कैलाली चौमालाका वीरबहादुर थारू, गोमुखी–४ की १८ वर्षीय हीरा टमाटा, प्युठान नगरपालिका–२ का सरिता शर्मा, झिमरुक गाउँपालिका बादिकोटका २८ वर्षीया हरि मल्ल, कैलाली चिसापानीका २८ वर्षीया सविता चन्दको ज्यान गएको प्रहरीले जनाएको छ।

घाइते २१ जनालाई जिल्ला अस्पताल विजुवारमा ल्याइएकोमा ५ जनालाई बुटवल रिफर गरिएको छ। घटनास्थलबाटै घाइते ४ जनालाई बुटवल पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा मल्लरानी गाउँपालिका–३ का तीर्थराज पोख्रेल (३८), गुल्मी अल्गुङका तारा विष्ट (४५), दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा (२५), जगदीश खत्री (२५) रिगल खातुन (२) रहेका छन्।

यस्तै प्यूठान नगरपालिका–३ साढेखोलाका ईश्वर खड्का (२६), महेन्द्रनगर कंचनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर (२३), मल्लरानी गाउँपालिका चुँजाठाटीका सुश्मा चौधरी (२०) र बैतडी पुचौडी नगरपालिका–६ प्रकाश सावत हुनुहुन्छ।

चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्र प्रसाद तिमलसिना (७३), रोल्पा सुवर्णावती गाउँपालिका–२ का शेरबहादुर विक. (४४), सपना विक. (१६), गौमुखी गाँऊपालिका–४ का थमजीत विक. (१५), कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी (२२), झिमरुक गाउँपालिका–३ का प्रेम केसी (२१), प्यूठान नगरपालिका–१० दहखोलाका गोमा गिरी (४९) पनि घाइते हुनुभएको छ ।

घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ। माण्डवी गाउँपालिका–१ का बसन्त शर्मा (३८), रोल्पा सुवर्णावती गाउँपालिका–२ का हरि सुनार (२५), दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल (७), रूपन्देही कन्चन गाउँपालिका–३ का गोविन्द अर्याल (३५), हिमला पोख्रेल (२९) लाई थप उपचारका लागि बुटबल रिफर गरिएको छ।

सोही बसमा सवार ४ महिने बालक प्रभास दाहाल, रमेश भण्डारी र थमजित बिक भने कालको मुखबाट पुर्णतया जोगिए। प्रभासका बुवा रुकुम निवासी शसीराम जैसी र आमा भवानी जैसीसहित टुकमान खत्रीको बुटवलमा उपचार भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको टोली खोज तथा उद्धारमा सहयोग गरेको प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्