म्याग्दी भ्रमण वर्ष–२०७५ शुरू, सन् २०२० सम्म देशमा १५ लाख पर्यटक भित्र्याउने दाबी



प्रताप बानियाँ, म्याग्दी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकास गर्न सकेमा देशले आर्थिक समृद्धि हासिल गर्ने बताउनुभएको छ। म्याग्दी भ्रमण वर्ष–२०७५ को आइतबार बेनीमा उद्घाटन गर्दै उहाँले देशमा भएको प्राकृतिक स्रोत साधनको उपयोग गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको हो।

उहाँले पर्यटनको प्रवद्र्धन गर्नका लागि निजी क्षेत्र क्रियाशील हुनुपर्ने बताउँदै सरकारले पर्यटनका क्षेत्रमा पूर्वाधार विकास गर्ने भएकाले निजी क्षेत्रले पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ। मन्त्री अधिकारीले जनताको आम्दानी बढाउन, जीवनस्तर उकास्न र रोजगारी सिर्जना गर्नेतर्फ सरकार लागिरहेको बताउँदै केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा सहयोग गर्ने हुँदा निजी क्षेत्र सक्रियताका साथ पर्यटन प्रवद्र्धनको विकास लाग्नुपर्ने बताउनुभयो।
उहाँले देशको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रबाट २५ प्रतिशत आम्दानी हुनुपर्ने भन्दै त्यसबाट देश समृद्ध हुने र नयाँ रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो। पर्यटन मन्त्री अधिकारीले आफू मन्त्री भएको दिन सन् २०२० सम्म नेपालमा १५ लाख पर्यटक भिœयाउने घोषणा गरेको बताउँदै पर्यटक आगमनको अवस्था हेर्दा २० लाख पर्यटक नेपाल भित्रिने हुँदा त्यसै अनुरुप काम गरिएको बताउनुभयो। उहाँले पर्यटन क्षेत्रको विकास गरेर देशमा रोजगारीको सिर्जना गरी जनताको जीवनस्तर उठाइने बताउनुभएको थियो।

देशका विभिन्न क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन भइरहेको र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि म्याग्दीमा पाँच गुणाले पर्यटक बढ्ने बताउँदै उहाँले पर्यटकको व्यवस्थापनका लागि होटल, लजलगायत पूर्वाधार निर्माण गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ। मन्त्री अधिकारीले म्याग्दी जिल्ला पर्यटकीय हिसाबले ट्रेकिङको राजधानी भएको भन्दै धौलागिरी तथा अन्नपूर्ण बेसक्याम्प, एबीसी पदमार्ग, धौलागिरी–सेञ्चुरी पदमार्ग निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो।
उहाँले म्याग्दी जिल्लालाई सामाजिक सञ्जालसहित विभिन्न माध्यमको प्रयोग गरेर विश्वसामु चिनाउनुपर्ने बताउँदै राउण्ड धौलागिरी पदमार्ग, मुस्ताङ, जोमसोम, मुक्तिनाथ, तातोपानीका कुण्ड लगायतका क्षेत्रहरूलाई जोडेर चिनाउन आवश्यक रहेकोमा जोड दिनुभयो।

मन्त्री अधिकारीले हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले देशको धार्मिक पर्यटनको सम्भावनालाई उजागर गरेको भन्दै मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन बढ्ने बताउनुभयो।

देशमा रहेको पर्यटन, धार्मिक र ऐतिहासिक क्षेत्रको प्रवद्र्धन गरी देशको विकास गर्न सकिने उहाँको भनाइ छ। मन्त्री अधिकारीले यसअघि आफू व्यवस्थापिका संसदको विकास समितिमा रहँदा बेनी–जोमसोम सडक विस्तारका लागि आवश्यक डीपीआर तयार गरी बजेटको व्यवस्थापन गरेको जानकारी दिनुभयो। उहाँले अबको १८–२० महिनाको अवधिमा बेनी–जोमसोम सडक २ लेनसहितको पक्की बन्ने बताउँदै बेनी–पोखरा जोड्ने सडकको समेत विस्तार गरिने बताउनुभएको छ। उहाँले सरकार सुखी नेपाली र समृद्ध नेपाल बनाउनतर्फ लागिपरेको बताउँदै स्थानीय, प्रदेश र संघीय सरकार गठनसँगै नयाँ पाइलामा देश अगाडि बढेको बताउनुभयो। जनताले दिएको जनादेश पार्टी र सरकारले मनपरी गर्ने नभई समृद्ध देश निर्माणका लागि केन्द्रित भएर लाग्नुपर्ने मन्त्री अधिकारीको भनाइ छ।

‘म्याग्दी घुम्न जाऔं, प्राकृतिक सौन्दर्यतामा रमाऔं र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरौ’ भन्ने मूल नारासहित म्याग्दी भ्रमण वर्ष–२०७५ को आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ। बेनीको कालीपुलस्थित बसपार्कमा जिल्ला भित्रिने पर्यटकहरूलाई लक्षित गरी स्थापना गरिएको पर्यटक सूचना केन्द्रको पर्यटन मन्त्री अधिकारीले उद्घाटन गर्नुभएको थियो। सूचना केन्द्रभित्र म्याग्दी जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलहरू चिनाउने आकर्षक फोटोहरू राखिएको छ।

सोही कार्यक्रममा बोल्दै ४ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले म्याग्दी जिल्ला पर्यटकीय हिसाबले सम्भावनायुक्त रहेकोमा जोड दिँदै पर्यटनका क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताउनुभयो। सांसद भूपेन्द्रबहादुर थापाले हिमालै हिमाल भएको म्याग्दी जिल्लालाई हिमाली जिल्लाको सूचीमा राख्न पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्