आलोचनात्मक भ्रमण



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर यसपटक धेरै आलोचना भए । उहाँप्रति सद्भावभन्दा पनि नाकाबन्दीको सूत्राधार भन्दै बढी आलोचना भएको पाइयो । तेस्रोपटक नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री मोदीप्रति जनआक्रोश अत्यधिक बढेको देखिन्छ । नेपालका प्रधानमन्त्री केपी ओलीलाई समेत मोदीसँग जोडेर जसरी आलोचना भएको छ त्यसले नेपाली पक्षलाई समेत सोच्न बाध्य बनाएको छ । भारतमा हरेक दिन लोकप्रियताको शिखरमा पुग्नुभएका मोदीप्रति नेपाली जनताले देखाएको नकारात्मक भावले कस्तो असर पर्ला भन्ने कुरा पनि आएको छ । छिमेकी मुलुकका लोकप्रिय प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदा यति धेरै आलोचना र आक्रोश व्यक्त हुनु पक्कै राम्रो पक्ष होइन ।

विनाकारण नेपालीमाथि अघोषित नाकाबन्दी गरेर एकाएक नायकबाट खलनायकमा परिणत हुनुभएका भारतीय प्रधानमन्त्रीविरुद्ध जनमानसमा देखिएको आक्रोशले भारतीय पक्षलाई पनि एकपटक सोच्च बाध्य बनाएको छ । हरेक नेपालीले गर्ने निर्णयमाथि अप्रत्यरूपमा हस्तक्षेप गर्ने नीति अख्तियार गर्नुले पनि भारतप्रति नेपाली जनताको आक्रोश तीव्र हुँदै गएको अनुमान गर्न सकिन्छ । एउटा छिमेकी मुलुकका प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा देखिएको जनआक्रोशका बारेमा नेपाल सरकारले पनि हल्कारूपमा लिनुहुँदैन । छिमेकीलाई राजकीय भ्रमणमा बोलाउँदा एकपटक गहिरिएर सोच्नुपर्ने अवस्था सिर्जना हुनु नेपालका लागि पनि चिन्ताको विषय हुनुपर्छ ।

सानो र गरिब मुलुक भनेर हेप्ने भारतीय नीति नै गलत भएको यसपटक मोदीको नेपाल भ्रमणका क्रममा देखिएको जनआक्रोशले पुष्टि गरेको छ । भारतले छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध कायम गर्न नसक्नु उसको सबैभन्दा ठूलो कमजोरी रहेको छ । विगतको नाकाबन्दीका बारेमा यसपटकको भ्रमणमा सम्बोधन हुनुपथ्र्यो, त्यो पनि हुन सकेन । भारतले अब आफ्नो रबैया सच्याएन भने भारतप्रति जनताले हेर्ने दृष्टिकोणमा नकारात्मक भावना अझ बढावा हुँदै जानेछ । भारतीय प्रधानमन्त्री मोदीले यसपटकको नेपाल भ्रमणका क्रममा नेपाल र नेपालीप्रति सहानुभूति देखाउनुभए पनि यसले नेपाली जनताको मन छुन सकेको देखिएन । पटक–पटक दुःख दिएर एकपटक खुशी बनाउन खोज्दैमा नेपाली जनता खुशी हुँदैनन् भन्ने उदाहरण यसपटकको भ्रमणमा देखिएको छ । यसतर्फ भारत र भारतीय प्रधानमन्त्री मोदीको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्