गजुरेलले गरे निःशुल्क छात्रवृत्ति र प्राविधिक शिक्षाको घोषणा



सुटिङका लागि पोखरामा रहेका हास्यव्यंग्य लेखक तथा कलाकार मनोज गजुरेललाई यसपालिको जन्मदिनमा भ्याइनभ्याई थियो। एकातिर डेब्यु फिल्म १०० कडा १० को सुटिङ, अर्कोतिर जन्मदिनको शुभकामनाको ओइरो।
र पनि उनले जन्मदिनको बिहान आधा दर्जन पोखरेली सामाजिक संस्थासँग रमाइलो गरेर बिताए। त्यहाँ उनले बी एन्ड ब्रोज मेजेन्मेन्ट कन्सल्टेन्सीको व्यवस्थापनमा विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति र युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको घोषणा गरे।

त्यसपछि सुटिङ युनिटसहित पोखरा वृद्धाश्रममा पुगेर लगभग ८० जना असहाय, अशक्त र बेवारिसे जेष्ठ नागरिकलाई फलफूल तथा अन्य सामग्री हस्तान्तरण गरे। उनले जेष्ठ नागरिकप्रतिको दायित्व, कर्तव्य र उत्प्रेरणासहितका हास्य प्रस्तुति प्रस्तुत गरेर मनोरञ्जन पनि गराए। साँझ पोखरास्थित जैन केन्द्रमा पुगेका उनलाई नेपाली जैन मुनि डा. मणिभङले जन्मदिनको शुभकामना तथा आशिर्वाद दिए– ‘१०० कडा १० ले मनोरञ्जनका साथै धार्मिक सदाचारिता र इमानदारिताको सन्देश दिन सकोस्।’

दर्शन नेपाल क्रियसनको ब्यानरमा निर्माणाधीन फिल्म १०० कडा १० मा निर्देशन रामशरण पाठकको रहेको छ। रज्जु प्रधान र उत्तम खत्रीलगायतले निर्माण गरिरहेको फिल्म भ्रष्टाचार भर्सेस प्रेममा आधारित रहेको बताइएको छ।

मनोजका साथमा राजाराम पौडेल, रवि डंगोल, रश्मी भट्ट, अमित पोखरेल, उत्सव न्यौपाने, अमृत ढुंगाना, करुणा श्रेष्ठ, वर्मेली नायिका सोनिया राईले अभिनय गरिरहेको फिल्ममा गजुरेल स्ट्यान्ड अप कमेडियनका रूपमा देखिँदै छन्, जो भ्रष्टाचारको विरुद्धमा सदाचारको अभियान चलाइरहेको छ। फिल्मको छायांकन पोखराका साथमा बन्दीपुर र काठमाडौंमा हुनेछ भने रिलिज मंसिरमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्