शिक्षा सेवीको सहयोग



सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्ति तथा संघसंस्थालाई यस वर्ष पनि लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले समाजसेवी स्व. लीलाराम न्यौपानेको ८७औं जन्मजयन्तीको अवसर पारेर सम्मान गरेको छ।

प्रतिष्ठानले राष्ट्रिय जीवनका विभिन्न विधामा समर्पित व्यक्तिलाई सम्मान गरेको छ। सम्मानित हुनेमा हाँस्य कलाकार एवं समाजसेवी सीताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस–सुन्तली) लाई लीलाराम कुन्तीदेवी न्यौपाने समाजसेवा सम्मान २०७५, शिक्षा क्षेत्रमा समर्पित विनोद शाही (डोल्पो शिक्षक) लाई लीलाराम कुन्तीदेवी न्यौपाने शिक्षासेवा सम्मान २०७५, क्रिकेटर वसन्त रेग्मीलाई लीलाराम कुन्तीदेवी न्यौपाने खेलकुद सम्मान २०७५ र लामो समयदेखि क्रियाशील पत्रकार चेतन पन्तलाई लीलाराम कुन्तीदेवी न्यौपाने पत्रकारिता सम्मान २०७५ बाट जनही १ लाख रुपियाँसहित ताम्रपत्रले सम्मानित गरिएको छ।


सोही कार्यक्रममा विभिन्न जिल्लाका १० वटा सामुदायिक विद्यालयमा लीलाराम कुन्तीदेवी जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्न प्रतिविद्यालय २ लाख ५० हजार रुपियाँका दरले जम्मा २५ लाख रकम हस्तान्तरण गरियो भने अन्य संघसंस्था तथा विद्यालयमा विविध सहयोग गरियो। जस्तै भानु मावि सिद्धार्थनगरमा शैक्षिक व्यवस्थापन (फर्निचर) खरिद गर्न १ लाख १ हजार, नेपाल क्यान्सर सपोर्ट गु्रप हरिसिद्धीलाई १ लाख १५ हजार, संस्कृत विद्याश्रम सिद्धार्थनगरमा पूर्वाधार निर्माण गर्न २ लाख १ हजार, महानन्दप्रसाद उपाध्याय उमावि बगही पर्सामा पूर्वाधार निर्माण गर्न २ लाख १ हजार, वीरेन्द्र मावि छपिया रूपन्देहीमा दृष्टिविहीन स्रोतकक्षा भवन निर्माण गर्न ३ लाख १ हजार, धुर्मुस–सुन्तली फाउन्डेसनको कार्यक्रमलाई ५ लाखका साथै धुर्मुस सुन्तलीद्वारा सञ्चालन गर्न लागिएको वीर अस्पताल सरसफाई कार्यक्रमका लागि थप रकम २ लाख प्रदान गरियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य माननीय घनश्याम भुसाल, सांसद् प्रमोद यादव, सन्तोष पाण्डे, सिद्धार्थ नगरपालिकाका नगरप्रमुख हरि अधिकारी र सम्मानित व्यक्तिले आफ्ना भनाइ राखेका थिए।

प्रतिक्रिया दिनुहोस्