नेतान्याहुसँगको रात्रिभोजमा आबेलाई जुत्तामा डेजर्ट



तेल अभिव, (एजेन्सी)
इजरायलको भ्रमणका क्रममा प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँगको एक रात्रि भोजमा जापानका प्रधानमन्त्री सिन्जो आबे र उनकी पत्नीलाई जुत्तामा डेजर्ट पस्केको समाचारबाहिर आएको छ।

मे २ मा प्रधानमन्त्री नेतान्याहुको आवासमा आयोजित उक्त रात्रिभोजमा उनकी पत्नी सारा नेतान्याहु पनि थिइन्। प्रधानमन्त्री नेतान्याहुका निजी सेफ समते रहेका इजरायलका सेलिब्रिटी सेफ मोसे सेगेवले उक्त भब्य डिनरको अन्त्यमा डेजर्टका रूपमा चकलेट रङको धातुबाट बनेको जुत्तामा पस्केका थिए।

जापानी संस्कृतिमा जुत्तालाई ठुलो अपमानको प्रतिक मानिन्छ। आबेले जुत्तामा पस्केको डेजर्ट बिना हिच्किचाहत खाएका थिए। तर जापानी र इजरायली राजनितिज्ञहरुको बृत्तमा यसलाई राम्रो मानिएको छैन।


जापानमा लामो समयसम्म रहेका एक वरिष्ठ राजनितिज्ञले इजरायली अखबार अहरानोतलाई भने– यो एक असंवेदनशिल र बेवकुफ निर्णय थियो।

उनले भने– जापानी संस्कृतीमा जुत्ता भन्दा तुच्छ केहि पनि छैन। जापानीहरु आफनो घरमा मात्र होइन कार्यालयमा जुत्ता बाहिरै फुकालेर जान्छन्। प्रधानमन्त्री र अन्य मन्त्री तथा सांसद पनि आफनो कार्यालयमा जुत्ता लगाई जाँदैनन्। यो यहुदी पाहुनालाई सुंगुर अनुहारको स्वरूपमा खाना पस्कनु जस्तै हो।

एक जापानी राजनितिज्ञले यदियोतलाई भने– कुनै पनि संस्कृतीमा जुत्तालाई मेचमा राखिँदैन। अन्तत त्यो सेफको दिमागमा के चलिरहेको थियो। यदि ठट्टा हो भने पनि हामीलाई रमाइलो लागेन। हामी आफना प्रधानमन्त्रीसँग भएको यस ब्यवहारलाई लिएर असन्तुष्ट छौं। सेफ सेगेव आफनो सामाजिक सन्जाल प्रोफाइलमा डिनरसँग सम्बन्धित तस्वीर हालेका थिए। त्यसमा जुत्तामा पस्केको डेजर्ट पनि थियो।

सिन्जो आबे सन् २०१५ मा पहिलो पटक इजरायल पुगेका थिए। उनी इजरायल भ्रमण गर्ने पहिलो जापानी प्रधानमन्त्री पनि थिए। आबे र नेतान्याहुले भेटवार्ताका क्रममा उत्तर कोरिया, इरान परमाणु सम्झोता र इजरायल–प्यालेस्टिनी शान्ति वार्ता विषयमा चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्