बलात्कारपछि जलाएर अर्को किशोरीको हत्या



रायपुर, (एजेन्सी)
भारताको मध्यप्रदेश राज्यमा एक युवतीलाई बलात्कारपछि जलाएर हत्या गरिएको छ। एक सप्ताहमा भारतमा घटेको यस प्रकारको तेस्रो घटना हो।

यो घटना मध्यप्रदेशको सागर जिलाको हो। १६ वर्षीय एक किशोरीलाई बलात्कारपछि उनकै घरमा मट्टितेल छर्की जलाइएको थियो।

पीडित केटीले बलात्कारीलाई घटनाका विषयमा आफ्ना परिवारका सदस्यलाई बताउने भनेपछि उनको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको समयमा केटीका परिवार सदस्य घरबाहिर थिए। आरोपितलाई पक्राउ गरिसकेको र उनीहरूलाई सोधपुछ गरिरहेको सागर जिलाका प्रहरी प्रमुख कमल ठाकुरले बताए।

घटना भएको इलाका प्रदेशका गृहमन्त्री भूपेन्द्र सिंहको क्षेत्रमा पर्छ। विगत ६ महिनामा उक्त क्षेत्रमा यो चौथो घटना हो।

त्यस्तै प्रकृतिका दुई घटना यसै हप्ता झारखण्डमा पनि भएका थिए। त्यहाँ एक युवतीको जलेर मृत्यु भएको थियो भने अर्को गम्भीर घाइते भएका छन्।

झारखण्डमा एक १७ वर्षीय किशोरीलाई विवाह गर्न अस्वीकार गर्दा जिउँदै जलाइदिएको थियो। अहिले उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्