११ जनासँग विवाह गर्ने महिलालाई ढुंगाले हिर्काई हत्या



मोगादिसु, (एजेन्सी)
सोमालियाकी एक महिलाले ११ पुरुषसँग विवाह गरेका कारण मृत्युदण्ड पाएकी छिन्। सोमालियाको एक उग्रवादी संगठन अल सबाबले ११ पुरुषसँग विवाह गरेकी एक महिलालाई ढुंगाले हिर्काइ मारेको जनाएको छ।

सुकरी अब्दुल्लाही नामक ३० वर्षीया महिलालाई मुखौटो लगाएका पुरुषहरूको भिडले सार्वजनिक चोकमा उक्त सजाय दिएको हो। उक्त घटना हेर्न मानिसहरूको भिड लागेको थियो।

ती महिलालाई घाँटीसम्म जमिनमा गाडिएको थियो। त्यसपछि उक्त उग्रवादी संगठनका सदस्यहरूले लगातार ढुंगाले हिर्काएर मारेका थिए।

अल सबाब संगठनका क्षेत्रीय गभर्नर मोहम्मद अबु ओसामाले ती महिलालाई उनका ९ पतिसँगै अदालतमा उपस्थित गराएको थियो। ती सबै पुरुषले ती महिला उनकी पत्नी भएको बयान दिएका थिए। अदालतका स्वघोषित न्यायाधीशले ती महिला आफैले बिनासम्बन्ध विच्छेद ११ पुरुषसँग विवाह गरेको आरोप स्वीकार गरेको बताएका थिए।

इस्लामको कानुनअनुसार एक महिलाले एकभन्दा धेरै पुरुषसँग विवाह गर्नु गैरकानुनी हो। अल सबाब अफ्रिकी देशमा सरियत कानुनलाई कडारूपमा लागू गर्न सक्रिय रहेको समूह हो।

सोमालियाको दक्षिण तथा मध्यभागमा उक्त उग्रवादी संगठनको बलियो पकड थियो तर सन् २०११ मा स्थानीय सेनाद्वारा उनीहरुलाई त्यहाँबाट हटाइएको थियो।

प्रतिक्रिया दिनुहोस्