मंगलग्रहमा हेलिकोप्टर उडाउने नासाको तयारी



वासिङ्टन, (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०२० अन्तरिक्ष अभियानअन्तर्गत मंगलग्रहमा एउटा सानो हेलिकोप्टर पठाउने बताएको छ। उक्त अभियानमा नासाले मंगल ग्रहको सतहमा नयाँ पुस्ताको रोबर पठाउने जनाएको छ। कुनै अर्को ग्रहमा यस प्रकारको विमान प्रयोग गर्न लागेको यो पहिलो घटना हुनेछ।
रिमोटबाट चल्ने मार्स हेलिकोप्टरलाई मंगल ग्रहको पातलो वायुमण्डलमा उडान भर्न सक्ने गरी डिजाइन गरिएको जनाइएको छ। यस यानमा दुई काउन्टर रोटेटिङ ब्लेड हुनेछ र यसको तौल करिब ४ पाउन्ड अर्थात् १ दशमल ८ किलोग्राम हुनेछ।

यो विमानको आकार एउटा भकुन्डोजस्तो हुने नासाले जनाएको छ। यसका ब्लेड करिब ३ हजार आरपीएम गतिले घुम्नेछ, जुन पृथ्वीमा चलिरहेका हेलिकोप्टरको तुलनामा १० गुणा बढी हुनेछ।
नासाको जेट प्रपल्सन ल्याबरटरीमा मार्स हेलिकोप्टर परियोजनाका प्रबन्धक मिमी आंगले भनिन्– ‘पृथ्वीमा अहिलेसम्म हेलिकोप्टरले ४० हजार फिटको उचाइसम्म उडान भरेका छन्। मंगल ग्रहको वायुमण्डल १ प्रतिशत मात्र पृथ्वीको जस्तो छ। त्यसैले जब हाम्रो हेलिकोप्टर मंगल ग्रहको सतहमा हुनेछ र त्यो जति उचाइमा उड्छ, त्यो पृथ्वीमा १ लाख फिट उचाइमा उडेको बराबर हुनेछ।’

रोटरक्राफ्ट नामक यो हेलिकोप्टर उक्त रातो ग्रहमा एक गाडी आकारको यानसँग जाने नासाका अधिकारीले बताए। हेलिकोप्टरलाई सतहमा छोडेपछि यो यानले एक सुरक्षित दूरीबाट निर्देशन दिनेछ। पृथ्वीबाट नियन्त्रण हुने यस हेलिकोप्टरलाई यसको ब्याट्री चार्ज भएपछि र परीक्षण पूरा भएपछि मंगल ग्रहमा पठाइने नासाले बताएको छ।

नासाको एडमिनिस्टे«ट ब्रिडेनस्टिनले एक विज्ञप्तिमा भनेका छन्– ‘कुनै अर्को ग्रहको आकाशमा हेलिकोप्टर उडाउने विचार अत्यन्त रोमाञ्चकारी हुनेछ। उक्त हेलिकोप्टर पठाउनुको उद्देश्य मंगलग्रहमा यस प्रकारका विमानहरूको उपयोगिताका बारेमा पत्ता लगाउनु हो।

प्रतिक्रिया दिनुहोस्