फेरिइरहनु हुँदैन कूटनीतिक सम्बन्ध



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको तेस्रो भ्रमण शनिबार सकिएको छ । उहाँ शनिबारै स्वदेश फर्किसक्नुभएको छ । उहाँको भ्रमणको चर्चा भने अझै सेलाइसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच बा≈यरूपमा राम्रै सम्बन्ध कायम भएको देखिए पनि भित्र के कस्ता खिचडी पाकेका थिए÷छन् भन्ने विषय खुलस्तरूपमा बाहिर नआएसम्म शंका÷उपशंकाका चर्चा चलिरहनेछन् । यो भ्रमणले अझै केही समय लिइरहनेछ । यसको प्रतिवाद र प्रतिरक्षा गर्नेहरूबीच जुहारी चलिरहनेछ ।
मोदीले यसपटक पहिलो भ्रमणमा जस्तो वाहीवाही पाउनुभएन। उहाँको ‘नागरिक अभिनन्दन’ लाई सबै जनताले रुचाएनन् । त्यसको कारण नाकाबन्दी नै थियो । नाकाबन्दीमा त्यत्रो दुःख खेपेका नेपालीले मोदीको अत्याचारलाई सर्लक्कै बिर्सने कुरा नै थिएन। त्यसैले मोदीले पाएको भनिएको अभिनन्दन जनताबाट स्वतःस्फूर्त नभएर सरकारद्वारा बाध्यतावश गरिएको अभिनन्दन थियो ।

हुन त हाम्रो राष्ट्रवादको चरित्र अचम्मकै छ। छिनछिनमा बद्लिइरहन्छ हाम्रो राष्ट्रवादको रङ। हामीलाई फुटाउन ठूलो निहुँ नै चाहिँदैन । नाकाबन्दीमा एकजुट भएका हामीबीच मोदीको भ्रमणले फाटो ल्याइदिइहाल्यो। विभाजित भइहाल्यौं हामी। सायद मोदीले यसैलाई आफ्नो भ्रमणको पहिलो उपलब्धि मान्नुभयो। २ नम्बर प्रदेशका मुख्यमन्त्रीको भनाइ त घातकमात्रै हैन भारतप्रतिको ‘लम्पसारवाद’ नै थियो। त्यो आमाको काखमा बसेर आमालाई नै ‘वेश्या’ भन्ने दुष्ट सन्तानको भनाइ थियो। तर स्वाभिमानमाथि ठाडै हस्तक्षेप हुँदा ‘राष्ट्रवादी र स्वाभिमानी’ केन्द्रीय सरकार निरीह बन्यो। मोदी जनकपुरबाटै आउनु उहाँको व्यक्तिगत चाहना थियो होला, तर हाम्रो सरकारले उहाँलाई बुझाउन सकेन । भ्रमणको सेड्युलसमेत भारतबाट जे पठाइयो त्यही भयो। मोदी पहिले पशुपतिनाथ आएको भए पनि फरक पर्ने थिएन। आखिर उहाँ हिन्दु नै हो भने हिन्दुका ठूला आराध्यदेव त पशुपतिनाथ नै थिए नि⁄ तर मोदीले त्यसो नगर्नुमा कुटनीतिक चाल थियो। पहिले जनकपुरमा अवतरण भएर २ नम्बर प्रदेशमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्न चाहनुहुन्थ्यो मोदीले।

सरकारले पाहुना प्रधानमन्त्री मोदीलाई हरतरहले स्वागत गर्नु स्वाभाविक नै हो तर कतिपय ठाउँमा नेपालभित्रै पत्रकार अपमानित भए। नेपाली स्वाभिमानमाथि नै आघात पुग्ने गरी भाषण गरिए। झन्डा ब्यानरहरू बनाएर राखिए। यी सबै कुराप्रति सरकारको मौनता देखियो। कतिपयले मोदीको यो भ्रमणबाट असमझदारी हटेको भनेका छन् तर, असमझदारी प्रधानमन्त्री ओली र मोदीबीच मात्रै हटेको हो वा नेपाल र भारतबीच नै हटेको हो? त्यसको असर आगामी दिनमा देखिँदै जानेछ । प्रत्येक प्रधानमन्त्री फेरिनासाथ भारत जानैपर्छ वा भारतीय प्रधानमन्त्री आउनैपर्छ भन्ने सोच नै गलत हो किनकि, व्यक्ति फेरिँदैमा २ देशबीचको कूटनीतिक सम्बन्ध फेरिनु हुँदैन । व्यक्ति–व्यक्तिभन्दा राष्ट्र–राष्ट्रबीचको सम्बन्ध प्रबल हुन्छ।

प्रतिक्रिया दिनुहोस्