यस कारण कांग्रेसमा परिवर्तन आवश्यक



कमल तामाङ

गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले अनपेक्षित परिणाम ल्याएपछि कांग्रेसमा परिवर्तनको बहस शुरू भएको छ। तलदेखि माथिसम्म कांग्रेसको संरचना र शैली परिवर्तन गर्नुपर्ने महसुस कांग्रेसका कार्यकर्ताले गरेका छन्।

कांग्रेसमा कार्यशैलीमा मात्र होइन, नेतृत्वमा पनि परिवर्तनको आवश्यक छ। कार्यशैली र नेतृत्व दुवै परिवर्तन भयो भने कांग्रेस फेरि पहिलेकै अवस्थामा आउनेमा कुनै शंका छैन। विपक्षी दलहरूले भ्रम सिर्जना गरेर मात्र कांग्रेसले भोट बटुल्न नसकेका हुन। त्यो भ्रम धेरै दिनसम्म रहनै सक्दैन। अन्ततः नेपाली जनताले नेपाली कांग्रेसलाई रोज्नेपर्ने अवस्था आउन सक्छ। तर, परम्परागत किसिमबाट कांग्रेस अब अघि बढ्न सक्दैन। एमाले र माओवादीको गठबन्धको कारणबाट मात्रै कांग्रेस हा¥यो भनेर विश्लेषण गर्नु सतही विश्लेषण हो। कांग्रेस पराजयका अन्य कारणहरू पनि खोतल्नु आवश्यक छ।

चुनावको बेलामा कांग्रेस, कांग्रेस थिएन। चुनावमा जाँदा कुनै व्यक्ति देउवा कांग्रेस थियो, कुनै रामचन्द्र पौडेल कांग्रेस हुन्थ्यो। कुनै कृष्ण सिटौला कांग्रेस हुन्थ्यो। पार्टी एउटै हुन्थ्यो तर पार्टीभित्र अर्को पार्टी देखिन्थ्यो। गुटगत कांग्रेस देखिन्थ्यो। एउटा गुटले अर्को गुटलाई हराउन खोजेको धेरै ठाउँमा देखियो। यो परम्परा कांग्रेसले अब पूर्णरूपमा बन्द गर्नुपर्छ। कांग्रेसले आफूभित्रको आन्तरिक व्यवस्थापन राम्रोसँग नगर्दा कांग्रेसले चुनावमा अनपेक्षित परणाम भोग्यो। आफ्ना कार्यकर्ताहरूलाई मर्यादित र अनुशासित बनाउने काम नेतृत्वको हो। कांग्रेस यसमा पनि चुकेको देखिन्छ। खास गरी चुनावमा यो समस्या झनै देखियो।

कांग्रेसमा संरचनागतमै परिवर्तन आवश्यक छ। कार्यकर्तामा नयाँ सञ्चार नल्याइकन कांग्रेस अब अघि बढ्नै सक्दैन।। स्थानीय तहदेखि प्रतिनिधिसभामा टिकट वितरण गर्दा नेतृत्वमा मनोमानी भयो। आफ्ना मान्छेलाई टिकट दिनुपर्छ भन्ने सोच नेतृत्वमा जाग्यो। जित्न सक्ने उम्मेदवारलाई भन्दा आफ्ना मान्छेलाई प्राथमिकता दिनुपर्छ भन्ने सोच नेतृत्वमा भएपछि टिकट वितरणमा गम्भीर अन्याय भयो। चाहे, स्थानीय निर्वाचनमा होस्, चाहे प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होस्। टिकट वितरणमा नेताहरूको मनोमानी भयो। टिकट पाउनेहरूले पनि आफ्नैबाट सहयोग पाउन सकेनन्। पार्टीभित्र गुटगत सन्तुलन मिलाउन एउटा क्षेत्रका व्यक्तिलाई अर्को क्षेत्रमा टिकट दिइयो। जुन क्षेत्रमा जसको प्रभाव छ, त्यो व्यक्तिलाई पन्छाएर कमजोर व्यक्तिलाई टिकट दिइयो। जसलाई टिकट दिइयो, त्यसलाई कांग्रेसभित्रकै अर्को गुटले हराउन खोज्ने प्रवित्ति पनि देखियो। कांग्रेस हार्नुमा यो एउटा प्रमुख कारण हो।

यस्तो प्रवित्तिलाई पूर्णरूपमा नरोकेसम्म कांग्रेस सुध्रिँदैन। एक ठाउँको व्यक्तिलाई अर्को क्षेत्रमा टिकट दिँदा त्यो व्यक्ति त हा¥यो नै। त्यसको प्रभाव अर्को क्षेत्रमा पनि प¥यो। यसबाट त्यो व्यक्ति मात्र हारेन, सिंगो कांग्रेस हा¥यो। यो सँगसँगै नेपाली कांग्रेसप्रति नेपाली जनताले देखाएको भावना पनि हा¥यो।
यस्ता गल्तीबाट नेताहरूले पाठ सिक्नै पर्छ। योसँगै कांग्रेसको जीवनमा अब ठूलो परिवर्तनको आवश्यक छ। गाउँदेखि केन्द्रमा सबै कमिटीहरूमा परिवर्तन आवश्यक छ।। वाम गठबन्धन भई मुलुक दुई धु्रवमा बाँडिएको बेला कांग्रेस अझै बलियो हुनु जरुरी छ। तलदेखि केन्द्रमा सम्म सबै तहमा परिवर्तन गर्न महाधिवेशन बोलाउन नेतृत्व तयार हुनुपर्छ। अबको एक वर्षभित्र महाधिवेशन बोलाउन सकिन्छ। अग्रिम महाधिवेशन बोलाउनुपरे पनि बोलाउन नेतृत्व तयार हुनै पर्छ। यस विषयमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको विचारसँग म सहमत छु। कांग्रेसका सबै सबै समिति भंग गरांै।

एउटा तदर्थ समिति बनाऔं। उसले महाधिवेशन गर्छ र कांग्रेसमा नयाँ सञ्चार ल्याउँछ। अहिलेको आवश्यकता पनि यही नै हो। १३औं महाधिवेशनयता कांग्रेसका जुन–जुन तहमा जो–जो जिम्मेवारीमा बसे, उनीहरूले पार्टीका लागि के–के काम गरे, यसको पनि खोजविन हुनुपर्छ। पद मात्र ओगटेर बस्ने प्रवित्तिले पार्टीलाई फाइदा पु¥याउँदैन। काम गर्न नसक्ने व्यक्ति पदबाट बाहिरिनुपर्छ। चाहे केन्द्रमा होस्, चाहे, गाउँमा होस्। काम गर्न सक्ने व्यक्ति जिम्मेवारीमा आउनुपर्छ। जिम्मेवारीमा बस्ने नेताहरूले पनि सोच्ने बेला आएको छ। ‘मैले पार्टीका लागि के–के काम गरें’ आफूले आफैंलाई सोध्नुपर्ने भएको छ। परिवर्तनबाटै कांग्रेसलाई बलियो पार्टी बनाउन सकिन्छ। अहिलकै परम्परागत शैलीबाट कांगे्रसलाई बलियो र पहिलो पार्टी बनाउन सकिँदैन। कांग्रेसले अब आफ्ना कार्यकर्तालाई प्रशिक्षित गर्ने, मर्यादित बनाउने र अनुशासति बनाउने मात्र नभई पार्टीले गरेका कामहरूलाई कसरी जनतासँग लैजाने भन्नेबारेमा प्रशिक्षत गर्न पनि आवश्यक छ। पार्टीले गरेका काम जनतामा लैजाने माध्यम भनेको पार्टीका कार्यकर्ता नै हुन्। त्यसका लागि कार्यकर्ता नेतामुखी नभई पार्टीमुखी हुन आवश्यक छ। कांग्रेसले सुधार गर्नुपर्ने धेरै काम छन्। यसका लागि नेतृत्वले साहसिक कदम चाल्नुपर्छ। पार्टीभित्रका गुट–उपगुटलाई कांग्रेसले जरैदेखि फाल्नुपर्छ। कांग्रेसमा परिवर्तन ल्याउन सबैभन्दा पहिले पुराना र बूढा नेताहरूलाई बिदाइ गर्नुपर्छ। बूढा नेताबाट अब पार्टी चल्न सक्दैन। ७५ कटेका पार्टीको सल्लाहकार पंक्तिमा बस्न सक्छन् तर कार्यकारी पदमा बस्न सक्दैनन्। पार्टीको केन्द्रीय समितिदेखि लिएर गाउँ तहसम्म यो नियम लागू गर्नुपर्छ।

कांग्रेसमा शुरूदेखि नै नेताहरूले आफ्नो व्यक्तिगत बार्गेनिङका लागि गुट–उपगुट बनाउने र गुट–उपगुटभित्र पनि झुण्ड–झुण्ड समूह बनाउने प्रवित्ति बढेको छ। जुन प्रवित्ति पार्टीका लागि घातक छ।। कांग्रेसमा अर्को समाप्त भएपछि मात्र आफू नेतृत्वमा जान सकिन्छ भन्ने सोच विकास हुनु राम्रो होइन। यस्तो सोचले पार्टीभित्र गुट–उपगुट सिर्जना गर्ने र एकले अर्काको राजनीतिक जीवन समाप्त गर्न खोज्ने प्रवृत्ति विकास हुन्छ। पार्टीभित्र आफूूलाई बलियो देखाउने र अर्कोलाई कमजोर देखाउने परम्पराले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा जन्माउँछ। त्यसैले पार्टीमा अनुशासनको डण्डा चलाउन आवश्यक छ। निःसन्देह नेपाली कांग्रेसले यो मुलुकका लागि सबैभन्दा बढी काम गरेको छ। कांग्रेसको नेतृत्वमा मुलुकमा स्थायी शान्ति कायम भयो। कांग्रेसकै नेतृत्वमा मुलुकमा गणतन्त्र आयो। संविधान पनि कांग्रेसको नेतृत्वमा जारी भएको हो। संविधान कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले गरेको हो। हाम्रो पुस्ताले नदेखेको बेलामा पनि कांग्रेसले यो मुलुकका लागि निकै ठूलो काम गरेको छ। इतिहासलाई हामीले बिर्सन हँुदैन, मुलुकबाट राणा शासन फाल्ने आन्दोलन पनि कांग्रेसले नै गरेको हो। तर, कांग्रेसका कार्यकर्ताले यो कुरा जनतामा लैजान चुकेका छन्। कांग्रेसले गरेको राम्रो काम कांग्रेसका कार्यकर्ताले जनतालाई राम्रोसँग बुझाउन सकेनन्।

कांग्रेसले लिएको खुला अर्थनीतिको कारण सञ्चार क्षेत्र, भौतिक निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पर्याप्त विकास भएको छ। सञ्चार क्षेत्रले फड्को नै मारेको छ। कांग्रेसले गरेका यी कामहरू जनतामा पु¥याउन काम कांग्रेसका कार्यकर्ताको हो। तर, पार्टीका कार्यकर्ताले यो कुरामा पनि जनतालाई राम्रो बुझाउन सकेनन्। यसमा पार्टी नेतृत्वको पनि कमजोरी देखिन्छ। पार्टी नेतृत्वले आफ्ना कार्यकतालाई राम्रोसँग प्रशिक्षित नगरेकाले पनि यस्तो भएको हुन सक्छ। पार्टीले कार्यकर्तालाई नियमितरूपमा प्रशिक्षण दिने, मर्यादित बनाउने र अनुशासित बनाउनुपर्छ। यो जिम्मेवारीमा कांग्रेसको नेतृत्व चुकेको देखिन्छ। गत निर्वाचनमा प्रतिपक्षी दल खास गरी एमालेले राष्ट्रवादीको कुरा गरेर कांग्रेसलाई बदनाम गराउने र आफूले भोट तान्ने प्रयास ग¥यो। एमालेको राष्ट्रियताको नारा साँच्चै भन्ने हो नक्कली राष्ट्रियता थियो। वास्तविक राष्ट्रवादी पार्टी भनेको कांग्रेस नै हो। राष्ट्रियताको सवालमा नेपाली कांग्रेसले लिएको अडान जनतालाई बुझाउने काममा पनि कांग्रेस नेतृत्व चुकेको देखिन्छ।

क्रियाशील सदस्यता वितरण गर्ने दायरामा पनि कांग्रेसले परिवर्तन गर्नुपर्छ। गत स्थानीय तहको निर्वाचनमा कुनै–कुनै गाउँमा यस्तो पनि देखियो, त्यो गाउँमा क्रियाशील सदस्यता लिनेको सख्या ७ सय छ तर त्यहाँ कांग्रेसबाट चुनाव लडेका नेताले पाउने भोट ३ सय छ। अर्थात् क्रियाशील सदस्यले समेत कांग्रेसका उम्मेदवालाई भोट दिएनन्। क्रियाशील सदस्यता सिरानीमुनि राखेर अर्को पार्टीलाई भोट दिएको घटना पनि देखियो। जो कांग्रेसको प्रतिबद्ध कार्यकर्ता छ, उसले क्रियाशील सदस्यता पाउँदैन, जो फाइदा लिनका लागि कांग्रेसमा गएको हुन्छ, उसले सदस्यता लिएको देखियो। यस्तो प्रवित्तिको अन्त्य नगरेसम्म कांग्रेस सुधिँ्रदैन। कांग्रेसलाई परिवर्तनको बाटो हिँडाउनु हामी सबैको जिम्मेवारी हो। कांग्रेसका शुभचिन्तक र कांग्रेस बलियो भएको देख्न चाहनेहरू यो बाटोमा हिँडुन्। यसको अगुवाइ नेतृत्वले गरोस् र अरूले नेतृत्वलाई साथ दिउन्।
(लेखक नेपाली कांग्रेस, ओखलढुंगाका नेता हुन्।)

प्रतिक्रिया दिनुहोस्