पुरानै एजेन्डामा द्विपक्षीय वार्ता



काठमाडौं, (नेस)
नेपाल–भारतबीचको उच्चस्तरीय भेटवार्ता विगतकै एजेन्डामा केन्द्रित भएको छ। जलमार्ग, रेलमार्ग, सडक र ‘कनेक्टिभिटी’, ऊर्जा, कृषि, व्यापारलगायतका विषय यसपटकको भ्रमणमा पनि मुख्य एजेन्डाका रूपमा दोहोरिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीचको शुक्रबारको ‘वान टु वान’ वार्ता र द्विपक्षीय संयुक्त वार्तामा यी विषय दोहोरिएका हुन्। प्रधानमन्त्री ओलीको गत महिनाको भारत भ्रमणमा पनि उल्लिखित विषयबारे द्विपक्षीय छलफल भएको थियो। शुक्रबारको भेटवार्तामा वर्षाद्को समयमा तराईमा हुने डुबान समस्या, प्रतिबन्धित भारु ५ सय र १ हजारका नोट सहटीमा भएको व्यावहारिक समस्याबारे नेपालले भारतीय पक्षको ध्यानाकर्षण गराएको छ।

हाल सञ्चालनमा रहेका बाहेक थप चारवटा हवाई रुटको इजाजतका लागि आग्रह गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो। द्विपक्षीय भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीहरूले ‘कनेक्टिभिटी’बारे चर्चा भएको बताउनुभयो। वीरगन्जमा निर्माण भएको संयुक्त सुरक्षा चौकीका अतिरिक्त अन्य ३ ठाउँमा चौकी निर्माण गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो।

‘दार्चुला र कञ्चनपुरलाई जोड्ने गरी चाँडै नै मोटरेबल सडक सञ्चालन गर्नेबारेमा छलफल भएको छ’, उहाँले भन्नुभयो– ‘हुलाकी सडक निर्माणलाई तीव्रता दिनेबारेमा समेत छलफल भएको छ।’

त्यसै गरी भारतीय प्रधानमन्त्री मोदीले ‘अखण्ड, समृद्ध र सशक्त नेपाल’को आकांक्षा र ‘समृद्ध नेपाल ः सुखी नेपाली’ नेपालको चाहनामा भारतको पूर्ण साथ र समर्थन रहने बताउनुभयो। ‘नेपाल ‘लेन्डलक’ होइन, ‘लेन्डलिंक’ र ‘वाटरलिंक’ले जोडिनुपर्छ। यसमा भारतीय सहयोग रहन्छ, मेरो प्रयास र प्रतिबद्धता रहन्छ।’ –उहाँले भन्नुभयो।

खुला सीमाले दुवै मुलुकको सम्बन्धलाई अझ निकट बनाएको बताउँदै उहाँले सीमाक्षेत्रमा अवाञ्छित गतिविधि र दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाउनुभयो। भक्तपुर क्यान्सर अस्पतालको उपचार सेवालाई सघाउन भारतले छिट्टै अत्याधुनिक किमोथेरापी मेसिन उपलब्ध गराउने मोदीले जानकारी दिनुभयो। कृषि क्षेत्रको सहकार्य, रक्सौल–काठमाडौं रेलमार्ग विस्तारको सम्भाव्यता अध्ययन छिट्टै शुरू हुने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्