चर्चाको शिखरमा भलिबलका मानबहादुर



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल राष्ट्रिय भलिबल टोलीका ओपन स्पाइकर मानबहादुर श्रेष्ठका लागि २०७४ साल निकै लाभदायी र≈यो। मैदानबाहिर वर्षको शुरुआतमै भलिबल राष्ट्रिय खेल घोषित हुँदाको हर्ष त छँदै छ, घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनले पनि उनले चौतर्फी प्रशंसा बटुले। पछिल्ला तीन घरेलु प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको कप्तानी सम्हालेका मानबहादुरले तीनै प्रतियोगितामा टोलीलाई उपाधि दिलाए।

राखेप च्याम्पियनसिपमा आर्मीलाई उपाधि दिलाउँदा मानबहादुर सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। वर्षको अन्तिममा भएको एनभीए राष्ट्रिय भलिबलमा पनि आर्मीलाई च्याम्पियन बनाउँदा उनले नै उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरे। आर्मीकै आयोजनामा भएको प्रधानसेनापति कपको उपाधि रक्षा गर्दा उनी उत्कृष्ट स्पाइकर चुनिए।
यसबाहेक मानबहादुरले राष्ट्रिय टोलीले हङकङ र मकाउसँग खेलेको मैत्रीपूर्ण खेलमा पनि राम्रो प्रदर्शन गरेका थिए।

राष्ट्रिय टोलीको नतिजामा उनकै प्रदर्शनले निर्णायक भूमिका खेल्दै आएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गरेकै कारण उनी वर्षैभरि मिडियामा छाए। नवलपरासीबाट भलिबल करियर शुरू गरेका मानबहादुर विद्यालयस्तरदेखि नै प्रतिभाशाली खेलाडी थिए। जुनियरस्तरको खेलमा आफ्नो कौशल देखाउँदै विभागीय टोलीसम्मको यात्रा तय गरेका मानबहादुरको समर्थक संख्या पनि ठूलै छ। लगातार चर्चा बटुलिरहेका मानबहादुरले नेपालमा भलिबल खेलेकै भरमा स्तरीय जीवनयापन गर्न सकिन्छ भन्ने बलियो उदाहरण प्रस्तुत गरेका छन्।

मैदानभित्र प्रभावशाली प्रदर्शन गरेका कारण समर्थकको मन जितेका मानबहादुर अहिले समर्थकहरूको बलियो साथको अपेक्षा गरिरहेका छन्। चौतर्फी चर्चाका बीच मानबहादुर पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन्। खेलकौशलले चर्चित बनेका उनलाई यो अवार्ड लोकप्रियता मापन गर्ने माध्यम पनि बन्नेछ। नेपालकै प्रतिष्ठित खेलकुद अवार्ड समारोहमा मानबहादुर राष्ट्रिय खेलको प्रतिनिधित्व पनि गरिरहेका छन्। उनीसँगै क्रिकेटका सन्दीप लामिछाने, टेबल टेनिस खेलाडी स्यान्टुु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र फुटबलर किरण चेम्जोङ पनि अवार्डका लागि प्रतिस्पर्धा गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्