जेशिकाले च्याम्पियन नङशललाई हराइन्



नेपाल समाचारपत्र
काठमाडौं
झापाकी जेशिका गुरुङले इटहरीमा जारी सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा स्तब्ध नतिजा निकालेकी छन्।

पछिल्लो तीन वर्षदेखि महिला ब्याडमिन्टनमा वर्चस्व जमाइरहेकी नम्बर एक खेलाडी नङ्शलदेवी तामाङलाई जेशिकाले पहिलो सेट गुमाएर पनि हराएकी हुन्। नवौं स्थानमा रहेकी जेशिकाले राष्ट्रिय च्याम्पियन तामाङलाई १४–२१, २१–१५, २१–१६ सेटले पराजित गरिन्। योसँगै जेशिकाले नेपाली सेनाकी तामाङको ब्याडमिन्टनमा रहेको वर्चस्वसमेत समाप्त गरेकी छिन्।

जेशिकाले सिंगल्समा फाइनल पुगेसँगै महिलाको अन्य दुई विधा डबल्स र यू–१९ मा समेत फाइनलमा स्थान बनाएकी छिन्। उनले सिंगल्सतर्फ सेनाकी रशिला महर्जनको सामना गर्नेछिन्। रशिलाले अर्को सेमिफाइनल खेलमा झापाकी सुनैना मुखिया माथि २१–६, २१–१७ को सहज जित निकालिन्। १४ वर्षीया रशिलाले प्रतियोगिता जितेमा कम उमेरमा सिनियर खेलमा प्रतियोगिता जित्ने खेलाडी बन्ने राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताएका छन्।
यसैगरी महिला यू–१९ को फाइनलमा पनि जेशिकाको सामना रसिलासँगै हुने तय भएको छ। जेशिकाले विराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई सहजै २१–९, २१–५ सेटले हराइन्। त्यस्तै रशिलाले सोही क्लबकी सीमा राजवंशीलाई २१–११, २१–१६ सेटले पन्छाएकी थिइन्।

महिला डबल्सतर्फ जेसिका र सुनैनाले रशिला र अमिता गिरिको जोडीलाई २१–१६, १७–२१, २१–१७ ले हराए। फाइनलमा झापाली जोडीले सेनाका नङशल देवि तामाङ र अनुमाया राईको जोडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यी जोडीले जेष्ट ब्याडमिन्टनका ज्योति लिम्बु र दिना पुनको जोडीमाथि २१–१०, २३–२१ को जित दर्ता गरेको थियो।

इटहरी काव्य बाटिकास्थित इटहरी ब्याडमिन्टन क्लबको हलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ सेनाका रत्नजित तामाङ र एपीएफका दिपेश धामी पुनः एकपटक फाइनलमा आमने सामने गर्ने भएका छन्। रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१–१८, २१–१५ ले हराएका थिए। दिपेशले सेनाका नवीन श्रेष्ठविरुद्ध पहिलो सेट १४–२१ ले हारे पनि पछिको दुई सेट २१–८ र २१–१५ ले जितेका थिए।

पुरुष डबल्सतर्फ पनि रत्नजित र नवीन श्रेष्ठको जोडी फाइनल प्रवेश ग¥यो। सेनाका जोडीले पुलिसका विष्णु कटुवाल र जीवन आचार्यको जोडीलाई २१–१४, २१–१७ ले पाखा लगाएको थियो। अर्को सेमिफाइनल खेलमा दिपेश र विजित थापा मगरको जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१–१९, २१–१८ ले पराजित गर्दै फाइनल यात्रा तय गरे।

पुरुषको यू–१९ तर्फका खेलमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनल फाइनल प्रवेश गरेपछि सेनालाई एक स्वर्ण पक्का भएको छ। प्रफुलले जेष्ट ब्याडमिन्टनका सुनिल जोशीलाई २१–१८, २१–१२ तथा रुकेशले सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रनिश सिंह ठकुरीलाई २१–१३, २१–१२ले पराजित गरे।

प्रतिक्रिया दिनुहोस्