ट्रम्प–किम शिखर वार्ता, तटस्थ सिंगापुर एसियाको स्विजरल्यान्ड हो।



वासिङटन, (एजेन्सी)
केही महिनाअगाडि मात्रै एक–आपसमा व्यक्तिगत गालीगलौज तथा कठोर वचन प्रयोग गर्दै आइरहेका विश्वका सम्भवतः सबैभन्दा कट्टर २ शत्रुदेशका नेताबीच हुने भनिएको ऐतिहासिक शिखर वार्ताका लागि वार्तास्थल सिंगापुर चयन गरिएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उन जुन १२ मा सिंगापुरमा भेट्ने भएका छन्। यी दुईबीच ऐतिहासिक शिखर वार्ता हुने घोषणा भएलगत्तै वार्तास्थल सिंगापुर नै हुने अनुमान गरिएको थियो। सिंगापुरलाई एसियाको स्विजरल्यान्डका रूपमा लिने भएकाले त्यसको चयन भएको ≈वाइट हाउसले जनाएको छ। वार्तास्थल र समयलाई लिएर धेरै अनुमान भइरहेकामा त्यसलाई शान्त पार्दै ट्रम्प आफैंले ट्विटमार्फत त्यसको जानकारी दिएका थिए– ‘किम जोङ उन र मबीच हुने जुन भेटवार्ताको पर्खाइ भइरहको छ, त्यो जुन १२ मा सिंगापुरमा हुनेछ। हामी दुवैले यो शिखर वार्तालाई विश्व शान्तिका लागि अत्यन्त विशेष क्षण बनाउन प्रयास गर्नेछौं।’

यसअघि वार्तास्थलका रूपमा उत्तर र दक्षिण कोरियाको सीमानामा रहेको असैनिक क्षेत्रको नाम पनि चर्चामा आइरहेको थियो। हालै मात्र उक्त क्षेत्रमा सीमा नाघ्दै उत्तर कोरियाली नेता किम दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग भेट्न आएका थिए। शुरूमा ट्रम्पले पनि उक्त असैनिक सीमाक्षेत्रमा वार्ता गर्ने पक्षमा देखिएका थिए तर डिमिलिटराइज्ड जोनमा जानु भनेको उत्तर कोरिया नै जानेजस्तो हुने भएकाले त्यसलाई रद्द गरिएको बताइएको छ।
इतिहासकै पहिलो शिखर वार्ता भएपछि ट्रम्प उत्तर कोरिया जाने र किम अमेरिका जाने सम्भावना भने थिएन। अर्को तेस्रो स्थानका रूपमा किम कुनै पश्चिमी जगत् अर्थात् युरोप र जापान तथा दक्षिण कोरिया नै जान पनि तयार नहुने भएकाले अन्य एसियाली मुलुक नै विकल्प बनेको थियो।

उत्तर कोरियाको छिमेकी राजधानी बेइजिङ वार्ताको उपयुक्तस्थल हुन सक्ने भए पनि चीन उसको एकमात्र अभिन्न सहयोगी हो। यसले वार्तामा प्रभाव पार्न सक्ने सम्भावनालाई नकार्न सक्दैन। त्यसैले होला वार्ता स्थलको चर्चामा चीन कमैमात्र आयो। अर्को स्थलका रूपमा मंगोलियाको नाम पनि उठेको थियो तर त्यो पनि चीनको नजिक भएकै कारण अमेरिकी चयनबाट हटेको हो।

किमको चयन
सिंगापुर वार्तास्थलका रूपमा चयन हुनु भनेको तटस्थता प्रमुख कारण हो। युरोपमा स्विजरल्यान्डजस्तै एसियामा सिंगापुरको स्थान छ। उसको कोरियाली प्रायद्वीपसँग कुनै स्वार्थ जोडिएको छैन। यद्यपि, गतवर्ष नै उत्तर कोरिया र सिंगापुरबीच व्यापारिक सम्बन्ध अन्त्य भइसकेको थियो। तर, यसलाई नहेर्ने हो भने उत्तर कोरिया र सिंगापुरको सम्बन्ध भनेको तनावरहित र सामान्य नै रहेको पाइन्छ। उत्तर कोरियाली नागरिकलाई केही दिनका लागि सिंगापुर जान भिसा पनि चाहिँदैनथ्यो। यो विश्वका ती ४० देशमा पर्छ, जहाँ उत्तर कोरियाको दूतावास छ। किम आफैं सिंगापुरलाई लिएर आश्वस्त रहेको बताइएको छ।

योबाहेक सिंगापुर उत्तर कोरियाबाट धेरै दूरीमा छैन। किम कम समयको उडानबाटै त्यहाँ पुग्न सक्छन्। उडानको विषयलाई अत्यन्त चिन्ताका रूपमा लिने गरेको पाइन्छ। किम र उनका अग्रजले कमैमात्र हवाइ यात्रा गरेका रेकर्ड छन्। उनीहरू प्रायः स्थलमार्गबाटै यात्रा तय गर्छन्। सिंगापुरलाई लिएर उत्तर कोरिया तनावमुक्त भएजस्तै अमेरिकाको पनि पुरानो मित्र हो। यो दक्षिणपूर्वी एसियामा अमेरिकालाई नौसैनिक जहाज राख्ने अत्यन्त उपयुक्त स्थान हो। यहाँ अमेरिकाको नौसैनिक बन्दोबस्त अड्डा नै रहेको छ।

उत्तर कोरियाका नेतासँग भेटवार्ताका लागि यहाँको सुरक्षालाई लिएर अमेरिका आश्वस्त हुन सक्ने स्थिति छ। सिंगापुरले यसअघि पनि यस्ता संवेदनशील बैठकको सफलतापूर्वक आयोजना गरिसकेको अनुभव बटुलेको छ। सन् २०१५ मा ६० वर्षपछि चीन र ताइवान पनि सिंगापुरमै भेटेका थिए। सिंगापुरको प्रमुख अखबार ट्रैट टाइम्सले लेखेको छ– ‘सिंगापुरमा सुरक्षा व्यवस्था अत्यन्त चुस्त छ, जुन कुनै पनि अमेरिकी राष्ट्रपतिका लागि प्राथमिक हुने गर्छ र उसले अत्यन्त कम समयको सूचनामा पनि महŒवपूर्ण अन्तर्राष्ट्रिय बैठकको आयोजना गर्न सक्छ।’

प्रतिक्रिया दिनुहोस्