सी पनि वार्तास्थल पुग्ने सम्भावना



टोकियो, (एजेन्सी)
जापानको एक अखबारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा हुने तय भएको शिखर वार्तामा चिनियाँ राष्ट्रपति सी जिन पिङ पनि पुग्ने सम्भावना रहेको जनाइएको छ। माइनिची सिम्बुनका वासिङटनस्थित संवाददाताले अमेरिकी कुटनीतिक स्रोतलाई उद्धृत गर्दै सीले सिंगापुरमा ट्रम्प र किमलाई भेट्ने सम्भावना रहेको जानकारी दिएका हुन्।

नेसनल सेक्युरिटी काउन्सिलका एक वरिष्ठ अन्तर्राष्ट्रिय वार्ताकारले ती संवाददातालाई एउटा तेस्रो देशका नेताले सहभागिता जनाउन सक्ने सम्भावना रहेको बताएको माइनिचीले समाचारमा उल्लेख गरेको छ। बिहीबार ट्रम्पले जुन १२ मा सिंगापुरमा किमसँग आफ्नो शिखर वार्ता हुने ट्विटमार्फत घोषणा गरेका थिए। तर, शुक्रबार बिहानसम्म पनि उत्तर कोरियाका सञ्चारमाध्यममा वार्तास्थल तथा तिथि घोषणाका विषयमा कुनै समाचार नभएको जापानी टेलिभिजन एनएचकेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्