स्मृतिमा साहित्यकार ध.च. गोतामे



मोहन दुवाल
धच. गोतामे अर्थात् धनुषचन्द्र गौतम अब रहेनन्। वि.सं. १९८९ पुस १२ मा मनराकट्टी, महोत्तरीमा माता दीपवती तथा पिता गोविन्दचन्द्र गौतमका छोरा भई जन्मेका यिनी प्रशासनिक, अध्यापन, पत्रकारिता, निजामती सेवामा संलग्न रही सेवा पु¥याएर गएका प्रशासकका रूपमा पनि परिचित छन्। सूचना विभागका निर्देशकसमेत भई सरकारी सेवामा नाम छोडेर गएका तत्कालीन श्री ५ को सरकारका यिनी सहसचिव पनि हुन्। यिनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव बनेर आफूलाई प्राज्ञ बनेर चिनाएर गएका विद्वान् पनि हुन्।

वि.सं. २००८ मा सेवा पाक्षिकमा ‘पर्दा’ कथा छपाएर आफूलाई कथाकारका रूपमा पहिलोचोटि चिनाएका यिनी उपन्यासकारका रूपमा विख्यात छन्। यिनका प्रकाशित साहित्यिक तथा अन्य कृतिहरूमा नेपालको इतिहास (पाठ्यपुस्तक) लगायत घामका पाइलाहरू (उपन्यास २०३५), यहाँदेखि त्यहाँसम्म (उपन्यास २०४२), कालान्तर (संस्मरण २०५३), संज्ञा सर्वनाम (व्यङ्ग्य २०५४), सम्झनाका गल्छेंडाहरूमा (२०५५), तीन बास (२०५८), उत्तरोत्तर (संस्मरण २०५९) र आरोह–अवरोह (२०६२) प्रकाशित भएको देखिन्छ।

मदन पुरस्कार, साझा पुरस्कारलगायत थुप्रै पदक, पुरस्कार प्राप्त गर्न सफल यिनी चर्चा गर्नलायकका लेखक बनेर गएको देखिन्छ। सम्पादन गर्न पनि निकै दक्ष र सिपालु देखिँदो यिनले २०१५ सालमा नै बाछिटा दैनिक प्रकाशन गरेको देखिन्छ। उपन्यासमा आफ्नै पन लेखेर गएका उपन्यासकार ध.च. गोतामे आञ्चलिक उपन्यास लेखनमा आफ्नो शिखर व्यक्तित्व नेपाली साहित्यमा प्रतिस्थापन गरेर जान सफल छन्। ऐतिहासिक घटना प्रसङ्गलाई मार्मिक ढंगले पोख्न सिपालु, सामाजिक जनजीवनलाई रोचक शैलीमा प्रस्तुत गर्न पोख्त ध.च. गोतामेले आफ्नो लेखाइमार्फत सांस्कृतिक अवस्थितिलाई पनि अभिव्यक्तिमा प्रतिविम्बित गर्न सफल छन्।

यिनले थोरै लेखे तर धेरै चर्चा पाए। उपन्यास यिनको प्रिय र महत्वपूर्ण विधा रहे पनि हास्यव्यङ्ग्य निबन्ध, समालोचनाहरू पनि यिनले लेखे। साहित्यमा वि.सं. २००३ मा नै सेवा पत्रिकामा कथा प्रकाशित गरेर देखा परेका यिनले बाछिटा (दैनिक), फिलिङ्गो (साप्ताहिक)का साथै झङ्कार पत्रिकाको पनि सम्पादन गरेका छन्। सभा–समारोहमा कम मात्र देखा पर्ने यिनको स्वभावले धेरैले यिनलाई चिन्न पाएनन् तर पनि आफ्नो कृतिले यिनी आफूलाई चिनाउन सफल छन्। घामको पाइलाबाट शुरू भएको औपन्यासिक गन्तव्यलाई यहाँदेखि त्यहाँसम्ममा आएर आफूलाई सशक्त उपन्यासकारका रूपमा चिनाउन यिनी सफल छन्। यी दुवै उपन्यासहरू रोचक र प्रवाहमय रहेकै कारणले मदन पुरस्कार र साझा पुरस्कार यिनले हात पार्न सफल रहे। सामाजिक स्थितिको विश्लेषण गर्न सिपालु उपन्यासकार रहेको कारणले र उपन्यासमा प्रयोग भएको भाषा, शैली, सीपकै कारणले पनि यिनका उपन्यास आकर्षक र पठनीय छन्।

साहित्यविनाको मानिस पशुसमान हो र राष्ट्र गिरेको हुन्छ। साहित्य शाश्वत छ (साहित्यकार परिचय र अभिव्यक्ति) यस खालको दृष्टि आफ्नो मनमा खोपेर साहित्यकार बन्न र साहित्य लेख्न जाँगर चलाउने ध.च. गोतामे अन्य क्षेत्रमा भन्दा साहित्यकारका रूपमा चिर परिचित छन्। एकजना सबल लेखक जसलाई उपन्यासकारका रूपमा परिचय गराउँदा अन्यथा अर्थ लाग्नेछैन। अग्राखका पालुवाहरू ध.च. गोतामेद्वारा लिखित प्रकाशोन्मुख उपन्यास हो। कालान्तरमा आफ्नै ढङ्गको खोजी विषयका निबन्धहरू लेख्न सफल ध.च. गोतामेले सम्झनाका गल्छेडाहरूमा विचार सम्प्रेषण संस्मरणात्मक ढङ्गले प्रस्तुत गर्न जाँगर चलाएका छन्। तीन बासमा उनले आफ्नो दृष्टिचेत निबन्ध बनाएर पोखेका छन्। आरोह–अवरोहमा त्यस्तै मनका प्रसङ्गहरू सङ्ग्रहीत छन्। त्यस्तै उत्तरोत्तरमा ध.च. गोतामेका विचार स्पर्शहरू साहित्यिक अनुभूतिमार्फत स्पर्श गर्न सकिन्छ। नेपाली साहित्यका एउटा पर्याय नाम हुन् ध.च. गोतामे।

धु्रवचन्द्र गौतमका दाइ आज अस्ताएका छन् ध.च. गोतामे घामका पाइला भएर। आख्यान विधाका एकजना सशक्त हस्ताक्षरका रूपमा चिर परिचित यिनी उत्कृष्ट लेखनका एकजना सशक्त हस्ताक्षरका रूपमा आफूलाई चिनाएर जान सफल भएका छन्। आरोह अवरोह निबन्ध कृतिका लागि पछिल्लोपल्ट बगर फाउन्डेसनले उत्कृष्ट पाण्डुलिपि पुरस्कार दिएको छ।

घामका पाइला र यहाँदेखि त्यहाँसम्ममा खिचिएका साहित्यिक अनुभूतिहरू सधैँ–सधैँ घामझैँ व्याप्त रहिरहनेछन्। आफ्नै पनको शैलीमा उपन्यास र संस्मरणका अक्षरहरू कुँद्न सिपालु साहित्यकार ध.च. गोतामे नेपाली साहित्यका एक सशक्त विम्ब हुन्। उनको भौतिक देहको अवसान भए पनि उनले लेखेर गएका साहित्यिक अनुभूतिहरूलाई बिर्सन गाह्रो छ। यहाँदेखि त्यहाँसम्म उपन्यास ग्रन्थका केही हरफहरू ध.च. गोतामेलाई सम्झेर आज म यस स्तम्भमा लेखिरहेछु– मुर्किपलियाका ग्रामवासीहरू ⁄ तपाईंहरूले देख्नुभयो आफ्नो जिमदार बाजेका कुकृत्य ? मेरी छोरीले के अपराध गरेकी थिई कि उसलाई यिनले त्यागिदिए ? सबका सामु ज्यान मारेको देख्दादेख्दै पनि अड्डामा अनेक ऐन कानुनको परिबन्द मिलाएर उसको अपराध प्रमाणित गर्नुपर्दछ अनि मात्र सजाय दिइन्छ भने यिनी किन मेरी छोरीबाट भएको भुलचुकको उच्चारणसम्म गर्दैनन् र आज नोकर्नीभन्दा पनि गएबितेको अवस्थामा गौरीलाई दिनसम्मको सास्ती दिएर राखेका छन् ? माइतीमा राजकुमारी जत्तिकै सुखसयल गरेर बसेकी छोरीलाई तिम्रो जुत्ताले चुरोटको ठुटा किचिमिची पारेजस्तै गोता ख्वाउन हामीले पठाएका थियौं ? अरू हुँदा हुन् त मैले जानेको थिएँ त्यसको जिउँदै छाला काढेर यस मछुवाको हाँगामा सबैले देख्ने गरी झुन्ड्याइदिने थिएँ कि आउने जति निर्दोष र निमुखाहरूउपर अत्याचार गर्नेलाई घृणाले थुक्दै जाऊन्। तर के गर्ने, मेरी छोरीको सौभाग्य यी नरपिचाससित गाँसिएकाले आज मभित्र धड्किरहेको उर्लंदो तातो रगत निस्तेज तुल्याएर राख्न बाध्य भएको छु।

यी माथि उल्लेख भएका हरफहरूले बताउँछन्– ध.च. गोतामे समाजमा व्याप्त अनेकौं खालको परिस्थितिबारे बोल्न सिपालु उपन्यासकार हुन्। यिनले छोडेर गएका साहित्यिक डोबहरू मेटिने छैनन्। साहित्यिक जगत्मा यिनी सधैँ अविस्मरणीय रहनेछन्। म पनि घामका पाइलाहरू मन र तनमा राखेर यहाँदेखि त्यहाँसम्म पक्कै घाम विस्तार हुँदै जानेछन् भनी ध.च. गोतामेलाई उनका कृतिहरूबाट नियालिरहेछु। उपन्यासकारका रूपमा सधैँ लिपिबद्ध हुने अर्थमा मनमा राख्न पाएका मलाई मन परेका उपन्यासकार व्यक्तित्व हुन् ध.च. गोतामे। विषयवस्तुको चयन, भाषाशैलीको प्रयोग र कथावस्तु मन पराएर यिनका उपन्यासहरू पढेकै कारणले ध.च. गोतामे मेरा मनमा टपक्क टिपेर राख्न पाएका उपन्यासकार हुन्। यस अर्थमा म सम्झिरहेछु ध.च. गोतामे। यो देशमा कसैले कसैको कृतिगत, सेवागत, कृति सिर्जना, साहित्यिक सेवाका मूल्याङ्कन गर्ने चलन छैन। यहाँ त आफैं बलियो हुनुपर्ने। धनले बलियो, तनले बलियो, शक्तिले बलियो र आफ्नो पूर्खा–परिवारहरूले बलियाहरूको मात्र चर्चा–परिचर्चा भएको देखिन्छ। सरकार चलाउन पाइरहेकाहरूको आँखामा अँध्यारो छाएको छ। राम्रोभन्दा हाम्रो खोज्ने परिपाटीले गर्दा ध.च. गोतामेजस्ता पनि ओझेलमा पर्नु, चर्चामा नदेखिनु आश्चर्य मानिंदैन यो देशमा।

प्रतिक्रिया दिनुहोस्