कोटेश्वर–कलंकीमा थप आकाशे पुल



काठमाडौं, (नेस)
कलंकी–कोटेश्वर सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ। चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरू बनाइन लागेको हो।

काठमाडौं चक्रपथ सुधार योजनाले उक्त सडक खण्डको विभिन्न भागमा ती पुलहरू बनाउन लागेको जनाएको छ।
सो योजनाका इन्जिनियर निरञ्जन शर्माले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना र सानेपामा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकमा पुल बनाइने बताउनुभयो।

उहाँका अनुसार बालकुमारी, सातदोबाटो, सानेपा र एकान्तकुनामा फाउन्डेसन बनाई पिलर राख्ने र बाँकीमा फाउन्डेसनको काम भइरहेको छ।

बालकुमारी, सातदोबाटो र एकान्तकुनामा अवाले विल्डर्स जेभी र महालक्ष्मीस्थान र सानेपामा पूर्णचण्डी ड्रामा जेभीले उक्त कामको ठेक्का पाएका छन्। यस सडक विगत ५ वर्षदेखि चीनले विस्तार गरिरहेको छ। पछिल्लो थप म्यादअनुसार चीनले जुलाई २०१८ सम्म सम्पूर्ण विस्तारको काम सम्पन्न गर्ने सम्झौता भएको हो।

निर्माणाधीन रहेकै सडकखण्डको विभिन्न भागमा नेपालको आफ्नै लगानीमा थप ५ स्थानमा आकाशे पुल बनाइरहेको योजनाले जनाएको छ। हाल निर्माणाधीन साढे १० किमि सडकको डिजाइनमा कोटेश्वर, बीएन्डबी र बाघडोलमा आकाशे पुल निर्माण सम्पन्न भइसकेको छ।

सरकारले ५ आकाशे पुल निर्माणका लागि करिब २० करोड रुपियाँ विनियोजन गरेको छ। २०७६ को असारभित्र सम्पन्न गर्ने गरी २०७४ असारमा सो योजना शुरू भएको थियो।

प्रतिक्रिया दिनुहोस्