सानदार प्रदर्शनसँगै हैदराबाद प्लेअफमा



नयाँ दिल्ली । यस सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले सानदार प्रदर्शन गर्दै अंकतालिकाको शीर्ष स्थान कब्जा गरिरहेको छ ।
बिहीबार राति दिल्लीको फिरोजशाह कोटला मैदानमा हैदराबादले प्रतियोगितामा खराब लयमा रहेको दिल्ली डेयरडेविल्सलाई ९ विकेटले हराएको हो । यो जितसँगै हैदराबादको प्लेअफको स्थान सुरक्षित समेत भएको छ । टोलीले ११ औं खेलमा नवौं जित हात पारेको छ । अंकतालिकामा हैदराबाद १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

त्यसो त दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षेतिमा १ सय ८७ रनको ठूलो योगफल बनाएको थियो । हैदराबादले १ सय ८८ रनको लक्ष्य आरामका साथ मात्र १ विकेट गुमाएर एक बल बाँकी राखी भेटाएको थियो । टोलीका लागि ओपनर शिखर धवन र कप्तान केन विलियमसनले सानदार ब्याटिङ गरेका थिए । एलेक्स हेल्स १५ रनको योगफलमा आउट भएपछि धवन र विलियमसनले दोस्रो विकेटका लागि १ सय ७३ रनको साझेदारी गरेका थिए । जसमा धवनले ५० बलमा ९ चौका र ४ छक्काको सहयोगमा ९२ रन र विलियमसनले ५३ बलमा ८३ रन बनाएर अन्तसम्म आउट भएनन् । विलियमसनले ८ चौका र २ छक्का प्रहार गरेका थिए ।

यसअघि दिल्लीका लागि आफनो घरेलु मैदानमा रिषभ पन्तले नटआउट हुँदै सतक प्रहार गरेका थिए । कप्तान श्रेयस अय्यर सस्तैमा रनआउट भएपछि पन्तले हर्षल पटेलसँग ५५ रनको साझेदारी गरेका थिए । अरु नचले पनि पन्तले १५ चौका र ७ छक्काको सहयोगमा १ सय २८ रन बनाएका थिए । यो यस सिजनको आईपीएलमा तेस्रो सतक पनि हो । यसअघि पञ्जाबका क्रिस गेल र चेन्नईका शेन वाटसनले सतक जोडेका थिए । पन्तको सतकीय योगदान भए पनि दिल्लीले जारी प्रतियोगितामा आठौ हार बेहोरेको छ र टोली पुछारमा रहेको छ । यो टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध छन् । तर अहिलेसम्म बेन्चमै सीमित छन् उनी ।

प्रतिक्रिया दिनुहोस्