महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता



क्वालालम्पुर, (एजेन्सी)
मलेसियाको अत्यन्तै प्रतिस्पर्धापूर्ण चुनाव जितेका ९२ वर्षीय महाथिर मोहमद विश्वकै सबैभन्दा बढी पाको उमेरका निर्वाचित नेता बन्न सफल भएका छन्। सरकारी समाचार निकाय बर्नामाका अनुसार उनले स्थानीय समयअनुसार बिहीबार बेलुका साढे ९ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको थियो।
राजनीतिबाट अवकाश लिइसकेका पूर्वप्रधानमन्त्री महाथिर कुनै समय आफ्नै नजिकका सहयोगी नाजिव रजाककैविरुद्ध चुनाव लड्न राजनीतिमा फर्केका हुन्। उनको यस ऐतिहासिक चुनावी सफलतासँगै सन् १९५७ मा मलेसियाले स्वाधीनता हासिल गरेयता सत्तामा रहँदै आएका बारिसान नासिओनल (बीएन) गठबन्धन बाहिरिएको छ।

महाथिरले चुनाव जितेको पुष्टि हुनासाथ उनका समर्थकहरूले राजधानी क्वालालम्पुरका सडकमा निस्केर खुसीयाली मनाएका छन्। नाजिवले आफूलाई जनताको निर्णय स्वीकार्य भएको बताएका छन्। गठबन्धनका कुनै पनि राजनीतिक पार्टीले स्पष्ट बहुमत ल्याउन नसकेकाले मलेसियाका सुल्तानले नै प्राविधिकरूपमा नयाँ सरकार निर्माणका लागि निर्णय गर्नुपर्ने स्थिति आएको छ।
बिहीबार बिहान सबेरै आयोजित पत्रकार सम्मेलनमा महाथिरले भनेका छन्– ‘हो, हो, म अझे जीवित छु। मेरो गठबन्धनले कुनै प्रतिशोध लिने छैन बरु कानुनी राज्यको स्थापना गर्नेछ। खुसीयाली मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिने घोषणा गर्दछु।’

तर विजेताहरुलाई भने बिदा हुने छैन। चुनावको औपचारिक परिणामअनुसार विपक्षी पाकातान हारापानले प्रतिस्पर्धा गरेका २ सय २२ सिटमध्ये १ सय १३ र बीएनले ७९ वटा सिट जितेका छन्। नाजिवविरुद्ध थुपै्र भ्रष्टाचारको आरोप लागेको थियो। बीएन गठबन्धनको अध्यक्षको हैसियतले सन् १९८१ देखि लगातार २२ वर्षसम्म प्रधानमन्त्री बनेका महाथिरले सन् २००३ मा पदबाट राजीनामा दिएका थिए।

सन् २००८ मा प्रधानमन्त्री बनेका नाजिवका उनी मार्गदर्शक पनि मानिन्छन्। महाथिरकै नेतृत्वमा मलेसियाले नब्बेको दशकमा दु्रतगतिले आर्थिक उन्नति गरी एसियाको स्थापित नमुना राष्ट्र बन्न पुगेको थिए।

तर तानाशाही स्वभावका उनलाई विवादास्पद सुरक्षा कानुन प्रयोग गरी आफ्ना विपक्षी राजनेताहरू थुन्ने गरेको आरोप लाग्ने गरेको थियो। उनले आफ्ना उपप्रधानमन्त्री अनवर इब्राहिमलाई भ्रष्टाचार र समलिंगी गतिविधिमा संलग्न रहेको आरोपमा बर्खास्त गरेका थिए।

राजनीतिक र आर्थिक सुधारका लागि आवाज उठाएकाले इब्राहिमलाई सो कारबाही गरिएको थियो। नाजिवविरुद्ध उनले आफैले खडा गरेको राष्ट्रिय लगानी कोष १ मलेसियन डेभलपमेन्ट बर्हाडको करिब ७० करोड अमेरिकी डलर भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो। तर उनले सो आरोप अस्वीकार गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्