मोदी बिकास त यस्तो पो



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा २ आउँदै गर्दा जनकपुरको मात्र होइन एकैछिन छ्यास्स प्रवेश गर्ने काठमाडौंका सडक पनि अहिले हरिभराउ देख्न पाउँदा धरहरालाई गर्व लागेको छ।
मोदी काठमाडौंमा आउने भएपछि सडकमा धूलो समेत उड्न छोडेको छ भने प्राकृतिक छटाले मनमोहक बनेको छ हाम्रो शहर। मोदीको भ्रमण कसको पक्षमा र कसको विपक्षमा छ भन्ने कुराको अहिले खोजी गर्नुभन्दा पनि भ्रमणको सफलताको कामना गर्नु नै उपयुक्त होला।

सरकार बनाउने र भत्काउने विषयमा पनि प्रमुख भूमिका खेल्ने गरेको र सधैं आफ्नो स्वार्थमा मात्र छिमेकीलाई प्रयोग गर्ने भनेर आरोप लागेका मोदीले यसपालि भने नेपालका लागि पनि केही उदाहरण काम गरेर जालान् भन्ने धरहराको झिनो आशा छ। विगतमा भएका सन्धी र सम्झौता कार्यान्वयन गर्न, सहयोग गर्छु भनेका सबै प्रकृतिका सहयोग र राहतका काममा दबाब दिन सरकारको ध्यान जाओस् भन्ने दबाब छ।

आफूलाई कमजोर ठान्ने र विदेशी शक्तिको अघि जे पनि मानिदिने गलत परम्पराले नेपालीहरू हैरान बन्दै आएको सत्य हामीमाझ जीवितै छ। भारतले नाकाबन्दी गरेपछि भारतप्रति नेपालीको राम्रो दृष्टिकोण बन्न सकेको छैन, यसैलाई पनि सकारात्मक बनाए भने उनको भ्रमण एकतर्फी रूपमा भएपनि उनको लागि उपलव्धिमूलक हुन सक्छ भन्ने धरहराको बुझाई छ।

नेपालका सीमा भारतले जहाँताँही मिचेको छ, जनता बोल्नुपर्ने छ तर पनि बोलेर हुनेवाला केही छैन , सधैं छिमेकीलाई आफ्नो अधिनमा राख्न खोजे त्यसको नतिजा पक्कै पनि राम्रो नहुने प्रष्ट ठहर भएकाले पनि कतै यो भ्रमण अप्ठ्यारोमा पर्ला कि भनेर धरहरालाई मात्र भएपनि चिन्ता लागेको छ।

प्रतिक्रिया दिनुहोस्