बार्सिलोना अपराजित यात्रामा



लन्डन, (एजेन्सी)
निस ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले बुधबार राति भएको खेलमा पनि सानदार जितसँगै निरन्तर अपराजित यात्रामा रहेको छ ।

बार्सिलोनाले भिया रियलमाथि ५–१ कोे फराकिलो जित हात पारेको हो । यो संगै बार्सिलोना जारी सिजनको ला लिगामा अपराजित नै रहेको छ । उक्त खेलमा बार्सिलोनाले सुरु देखिनै बलियो नियन्त्रण जमाएको थियो । फिलिप काउटिन्होले ११ औं मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रतामा राखेका थिए । १६औं मिनेटमा पाउलिन्होको गोलमार्फत् अग्रता दोब्बर पारे । यसैगरीे ४५औं मिनेटमा आन्दे« इनिएस्टाको पासमा लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफसम्म ३–० ले अघि पारेका थिए ।

यता दोस्रो हाफको सुरुमै भिया रियलका निकोला सान्सोनेले एक गोल फर्काउन सफल भए । तर खेलको ८७औं र इन्ज्युरी समयको तेस्रो मिनेटमा ओस्मान डेम्बेलेले लगालग दुई गोल थपेपछि बार्सिलोनाको गोल संख्या पांच पुग्यो । यो संगै लिगका ३६ खेलमा अपराजित रहंदै बार्सिलोनाले ९० अंक जोडेको छ ।

रियल मेड्रिड स्तब्ध
च्याम्पियन्स लिगमा लगातार तेस्रो पटक उपाधि जित्ने होडमा रहेको रियल मेड्रिड स्पेनिस लिगमा सेभियासंग ३–२ ले स्तब्ध भएको छ । बुधबार सेभियाको घरेलु मैदानमा ३–० को फराकिलो गोल अन्तरले पछि परेको रियलले पुनरागमन गरेपनि हारलाई भने टार्न सकेन ।

सेभियाले २६औं मिनेटमा विराम बेनको गोलमार्फत् खेलमा खाता खोलेका थिए । यसैगरी ४५औं मिनेटमा स्टिभन एन्जोन्जीको पासमा मिगुएल लायुनले गोल गर्दै पहिलो हाफसम्म घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । यस्तै ५८ औं मिनेटमा रियल मेड्रिडले पेनाल्टी हान्ने अवसर पाएको थियो । जसलाई सर्जियो रामोसले गोलमा बदल्न नसकेपछि रियल गोलको खाता खोल्नबाट चुकेको थियो ।

यस्तै ८४ औं मिनेटमा रामोसले आत्मघाती गोल गरेपछि सेभियाले ३–० को अग्रता लिन सफल भएको थियो । यता गोलका लागि भौतारिरहेको रियलका लागि ८७औं मिनेटमा बोर्जा मायोरालले पहिलो गोल फर्काएका थिए । यस्तै ९० औं मिनेटमा रामोसले पेनाल्टीमार्फत् नै गोल गरेपछि रियलले खेलमा फर्किने छांटकांट देखाए पनि हारलाई भने टार्न सकेन । हारपछि रियल ३६ खेलमा ७२ अंक जोड्दै ७५ अंकका साथ दोस्रो स्थानमा रहेको एट्लेटिकोभन्दा ३ अंकले पछाडि छ ।

प्रतिक्रिया दिनुहोस्