रत्नजित र बिकास सेमिफाईनलमा



काठमाडौं, (नेस)
नेपाली सेनाका रत्नजित तामाङ र भोजपुरका बिकास श्रेष्ठ सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा नेपालका नम्बर एक तामाङले प्रहरीका जीवन आचार्यलाई २१–८, २१–८ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यस्तै पूर्व राष्ट्रिय च्याम्पियन बिकासले प्रहरीकै बिष्णु कटुवालमाथी २१–१९, १४–२१ र २–१ जित निकाल्दै अन्तिम चारमा पुगे । एक एक सेटको बराबरी खेल पछि निर्णायक सेटमा विष्णु पेट दुखाईले गर्दा रिटायर्ड हर्ट भएका थिए । यस्तै अर्को खेलमा सेनाका नविन श्रेष्ठ र एपिएफका दिपेश धामीले पनि अन्तिम चारमा स्थान सुरक्षित गरे । नविनले एपिएफका साजन कृष्ण ताम्राकारलाई १५–२१, २१–१०, २१–१८ तथा दिपेशले सेनाका प्रफुल महर्जनमाथी २१–१३, १६–२१, २१–१४ को तीन सेटमा जित निकाले ।

ईटहरीस्थित ईटहरी ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी नङशलदेवी तामाङले भोजपुरकी सिता राईलाई २१–१३, २१–१०ले पराजित गर्दै अन्तिम चारमा पुगिन् । उनले फाइनल पुग्न झापाकी जेसिका गुरुङसँग भेट पक्का गरेकी छिन् । जेसिकाले सेनाकी अनुमाया राईविरुद्ध १३–२१, २१–११ र २६–२४ को संघर्षपूर्ण जित निकालिन् । यस्तै सेनाकी रशिला महर्जनले एपिएफकी शोभा गौचनलाई २१–७, २१–१६ले र झापाकी सुनैना मुखियाले सेनाकी अमिता गिरीलाई २१–१७, २१–१९ले पराजित गर्दै अन्तिम चारमा भेट पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्