पार्टी एकतामा अलमल



नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सहमति भए पनि अहिलेसम्म यसले सार्थकता पाउन सकेको छैन । वाम गठबन्धन गरेर चुनावी मैदानमा होमिएका यी दुई पार्टीले अपेक्षाकृतरूपमा दुई तिहाइ बहुमत ल्याएर विजय हासिल गरेका थिए । त्यसपछि पार्टी एकता र सरकार गठन सँगै हुने भन्दै आएकोमा सरकार गठन भएको दुई महिना बितिसक्दासमेत पार्टी एकीकरणको घोषणाका लागि मिति तय हुन सकेको छैन । हुन त एमाले र माओवादी केन्द्र दुवै पार्टीले पार्टी एकताका लागि अन्तिम तयारीमा पुगेको दाबी गरिरहेका छन् तर पनि अझै कुरा मिल्न सकेको देखिँदैन । पार्टी एकतामा हुन गएको ढिलाइले कतै यो विषय त्यसै सेलाउने त होइन भन्ने पनि शंका उठ्न थालेको छ ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि एकताका लागि सहमति जुट्न सकेन । पार्टी एकताका लागि विचार र सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा कुरा मिल्न नसकेको समाचार छ । ओली र प्रचण्डबीच समान हैसियतमा पार्टी एकता गर्ने विषयमा सहमति जुट्न नसकेको हो । माओवादीले समान हैसियतमा एकता हुनुपर्ने अडान राखेको छ भने एमालेले समान हैसियतमा होइन, पार्टीको हैसियतअनुसार एकता गर्नुपर्ने अडान राख्दै आएको छ । पार्टी एकताका लागि सहमति निर्माणमा जुटेका प्रमुख नेताहरूको आ–आफ्नै अडानका कारण पनि पार्टी एकताको घोषणामा ढिलाइ भएको देखिन्छ ।

केही समययता पार्टी एकता र सरकार सञ्चालनमा एमालेले माओवादीसँग पर्याप्त छलफल नगरी एकलौटी गर्न खोजेको भन्दै सरकार र पार्टीभित्र चर्को असन्तुष्टि देखिन थालेको समाचार पनि बाहिर आएको छ । सरकार सञ्चालनको विषयमा प्रधानमन्त्री एकलौटीरूपमा अगाडि बढेको भन्दै माओवादीले असन्तुष्टि जनाउँदै आएको छ । पार्टी एकता गर्दा समान हैसियत र न्यायसंगत ढंगले हुनुपर्ने माओवादीको प्रस्तावलाई एमालेले बेवास्ता गरेको तथा सरकारले गर्ने महत्वपूर्ण निर्णयमा समेत सत्तारुढ दल माओवादी र विभागीय मन्त्रीहरूलाई समेत थाहा नदिने गरेको माओवादीका नेता मणि थापाले बताउनुभएको छ । वाम गठबन्धन गरी चुनाव जितेर सरकारसमेत बनाइसकेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आपसमा आरोप–प्रत्यारोप बढ्दै जाने हो भने उनीहरूबीच हुने भनिएको पार्टी एकता ओझेलमा पर्न बेर लाग्दैन । यदि पार्टी एकता हुन सकेन भने यसले अरू समस्या निम्त्याउनेछ । त्यसैले दुवै पार्टीले लचकता अपनाएर पार्टी एकता गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्