मोदीको भ्रमण सफल होस्



नेपालको सबैभन्दा नजिकको र पुरानो छिमेकीका रूपमा चिनिएका भारतका १४औँ प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण आज शुक्रबारबाट शुरू भएको छ। चार वर्षको अन्तरालमा मोदीले यो भ्रमण गर्न लागेका हुन्। वि.सं. २०७१ पछि उनको यसपटकको भ्रमण रामजानकी मन्दिर जनकपुरबाट शुरू भएर मुस्ताङमा अन्त्य गर्ने कार्यक्रम छ। नेपालमा नाकाबन्दीपछि जसरी मोदीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको थियो, त्यसमा सुधार ल्याउन पनि यो भ्रमण उपयोगी हुने धेरैले विश्वास लिएका छन्। विशेषतः भारतको अघोषित नाकाबन्दीका बलमा केपी ओलीको उदय भएसँगै नेपालमा भारतविरोधी भावनाको विकास भएको थियो। त्यसलाई मत्थर पार्नका लागि पनि मोदीले अहिले नेपालको भ्रमण गर्न लागेको बुझिन्छ।

ओली सरकार बनेदेखि नै कहिले विदेशमन्त्री त कहिले राजदूतलाई ओलीसँग भेट्न पठाउनु, सरकार बनेलगत्तै नेपाली समकक्षी केपी ओलीलाई भारत भ्रमणको निम्ता दिनुजस्ता तथ्यहरू हेर्दा मोदीले नेपाललाई दिएको उच्च प्राथमिकताको रूपमा बुझ्न सकिन्छ। सयौँ वर्षअघिदेखि नेपाल र भारतको बीचमा सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको छ। सधैँ भारतले हस्तक्षेप ग¥यो भनेर गुनासो बढिरहेको अवस्थामा मोदीले दुई देशको सम्बन्धलाई कुनै कागजी सम्बन्धका रूपमा मात्र बुझ्न नहुने विचार यसअघिको भ्रमणमा आउँदा व्यक्त गरेका थिए। उनले सन् १९५० देखि पछाडिका जुन कुनै सन्धि तथा सम्झौताहरू पनि पुनरवलोकन हुन सक्ने आसय पनि विगतको भ्रमणमा व्यक्त गरेका थिए। तर, नेपाल र भारतबीच भएका सन्धि सम्झौताको कार्यान्वयनको स्तरमा भने खासै प्रभावकारिता आउन सकेको छैन।

हामी आफैँ सक्षम र निर्णय क्षमतामा सफल भएमा अन्य देशले हस्तक्षेप गर्ने सम्भावना पनि देखिँदैन। नेपाली आत्मनिर्भर हुन चाकडीबाज गर्न नपर्ने अवस्था सिर्जना गर्न आर्थिक समृद्धिको बाटोमा लाग्नु जरुरी छ। जो होस्, मोदीको अहिलेको भ्रमण उपलब्धिमूलक र सफल होस्।
– सुमन्त सुन्दास, काठमाडौं

प्रतिक्रिया दिनुहोस्