शेर्पाको उपाध्यक्षदेखि अध्यक्षसम्मको यात्रा



फिरोज राजोपाध्याय

कर्मा छिरिङ शेर्पा अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा निर्वाचित भएका छन्। शेर्पा मात्रै होइन, वैशाख २२ गते भएको एन्फा निर्वाचनमा उनको पुरै प्यानल नै निर्वाचित भएको छ। यसले यही स्पष्ट पार्छ कि एन्फामा परिवर्तन चाहनेहरू छन् भनेर। यो निर्वाचनले करिब दुई दशकदेखि एन्फामा हैकम चलाएको गणेश थापाको अस्तित्वसमेत समाप्त गरिदिएको छ। अध्यक्ष पदमा निर्वाचित शेर्पा नेपाली फुटबलमा नौलो नाम भने होइन। उनले पूर्वअध्यक्ष थापासँग करिब १३ वर्ष उपाध्यक्ष भएर साथसाथै काम गरेका थिए। उनी २०५८ सालमा एकपटक कार्यवाहक अध्यक्ष बनेका थिए।

१३ वर्षसम्म शेर्पा थापाकै लहैलहैमा चलेका थिए। २०५७ सालमा त्यतिबेला एन्फा अध्यक्ष थापा बर्खास्त भएपछि राष्ट्रिय खेलकुद परिषद्ले गीता राणाको नेतृत्वमा तदर्थ समिति बनायो। जसमा राणा अध्यक्ष हुँदा शेर्पा उपाध्यक्ष पदमा नियुक्ति भएका थिए। यहाँदेखि शेर्पाको यात्रा एन्फामा शुरू भएको हो। तर एक वर्षपछि एन्फाको कार्यसमितिको बैठकले बहुमतको आधारमा राणालाई हटाइयो। शेर्पा र थापा साथसाथै यहीदेखि शुरू हुन थाल्यो। थापालाई एन्फामा पुनः फर्काउन शेर्पाले पनि महत्वपूर्ण भूमिका खेलेका थिए। २०५८ सालदेखि थापाको नेतृत्वमा शेर्पा उपाध्यक्ष पदमा रहेर २०७० सालसम्म साथ रह्यो।

२०७१ सालमा शेर्पाले पहिलोपटक थापाको विरुद्ध आवाज उठाए। साथसाथै हिँड्ने थापा र शेर्पाबीच यहीं सालदेखि नदीका २ किनारा सम्बन्ध बन्न पुग्यो। उनीसहित उपाध्यक्ष विजयनारायण मानन्धर तथा सदस्य किरण राई र पंकज नेम्वाङले थापाको नेतृत्वलाई चुनौती दिएका थिए। उनीहरूले त्यही वर्षको जेठमा थापाले आर्थिक अनियमितता गरेको र एकलौटी ढंगले एन्फा चलाएको भन्दै थापाविरुद्ध मुद्दा हालिदिए। वास्तवमा यहीदेखि थापाको पतन पनि शुरू भयो।

शेर्पासहितको समूहले संसद्को सार्वजनिक लेखा समिति, प्रधानमन्त्रीको कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरणमा उजुरी दिएका थिए। तर यो आवाज त्यतिकै मत्थर भयो पनि र उल्टो भ्रष्टाचारको आवाज उठाएका यी सदस्यहरू एन्फाबाट निलम्बित भए। तीन पटकसम्म बैठकमा अनुपस्थित भएको भन्दै शेर्पासहितको असन्तुष्ट सदस्यलाई २०७२ साल असोजमा बसेको एन्फाको कार्यसमितिको बैठकले निलम्बन गरेको थियो। तर शेर्पाले भने एजेन्डाविहीनको बैठकमा बस्न नमिल्ने प्रतिक्रिया दिएका थिए।

शेर्पालाई निलम्बनमा राख्नु थापाका लागि महँगो साबित पनि भयो। शेर्पाको समूह सशक्त बन्दै पनि आयो। यहाँसम्मकी एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघ (फिफा) ले समेत थापालाई सहयोग गरेनन्। फिफाले २०७३ वैशाखमा शेर्पासहित अन्य निलम्बन सदस्यलाई १५ दिनभित्र पुनर्बहाली गर्न निर्देशन दिएपछि थापालाई ठूलो झट्का लागेको थियो।


झन फिफाले थापामाथि नै सशक्त प्रहार गरिदिएपछि थापाको फुटबलसँग र एन्फासँग सम्बन्ध नै सिद्धियो। एएफसीका पदाधिकारीलाई जित दिलाउन उनले घुस लिएको प्रमाणित भएपछि थापालाई फिफाले १० वर्षको लामो समयका लागि फुटबल गतिविधिबाट निलम्बन गरिदियो। तर एन्फा बाहिर रहेपनि २०७३ कात्तिकमा सम्पन्न एन्फाको निर्वाचनमा शेर्पाको बलियो उपस्थित बाबजुद् थापाका पक्षधरकै जित भयो। शेर्पा निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठसँग ५ मतले हारेका थिए। यो हारमै उनले त्यतिबेला नै बताएका थिए– ‘यो निर्वाचन परीक्षण मात्रै हो। अर्कोपालि जित्नेछु।’

नभन्दै यसपटक एन्फाको अध्यक्ष पदमा शेर्पा अत्यधिक बहुमतले विजयी भए पनि। शेर्पाले ७६ मत खसेकोमा ६३ मत प्राप्त गरेका थिए। प्रतिशतको हिसाबले भन्ने हो भने लगभग ८३ प्रतिशत मत उनले प्राप्त गरे। जबकी उनका प्रतिद्वन्द्वी मणि कुँवरले उम्मेदवारीमा सहभागिता नजनाए पनि १२ मत उनको पक्षमा खसेको थियो। एक मत बदर भएको थियो। कुँवर थापाकै निकट व्यक्ति पनि हुन्। उनले निर्वाचनको मिति तोक्नु विधानविपरीत भएको भन्दै निर्वाचनमा भाग नलिने जनाएका थिए।

थापारहितको एन्फा
गणेश थापा नेपाली फुटबलका एक उत्कृष्ट स्ट्राइकर हुन्। उनको जस्तो कला नेपालमा अहिलेसम्म कसैसँग पनि छैन भने पनि हुन्छ। थापाको खेलाडी जीवन सानदार नै बनेको थियो। उनले बंगलादेशको लिगमा खेलेर विदेशी लिगमा खेल्ने पहिलो नेपाली फुटबलर बन्ने सौभाग्य पनि प्राप्त गरे। थापाले जे–जस्तो उपलब्धि खेलाडी करियरमा पाए त्यस्तै खेलाडीबाट सन्यास लिएपछि पनि उनको करियर त्यति नै राम्रो भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उनको राज करिब २ दशक रह्यो। तर उनी भ्रष्टाचारमा मुछिएर अहिले फुटबलभन्दा बाहिर भएका छन्। उनलाई २०७२ साल कात्तिकमा विश्व फुटबल महासंघ (फिफा) ले भ्रष्टाचार गरेको प्रमाणित भएपछि थापालाई १० वर्षसम्मका लागि फुटबल गतिविधिबाट प्रतिबन्ध लगाइदियो।

एन्फामा यति हैकम चलाएका थापा या उनका पक्षधर अहिले निर्वाचनमा निर्वाचित हुन सकेनन्। शेर्पाको प्यानल नै जितेपछि पहिलोपटक एन्फा थापारहित बनेको छ। थापाले २०५१ सालमा एन्फाको नेतृत्व सम्हालेदेखि एक छत्र राज गरेका थिए। भन्नुपर्दा नरेन्द्र श्रेष्ठको कार्यकालसम्म (२०७४ सम्म) थापाको नेतृृत्वमा एन्फा चलिरहेको थियो। यसअघि २०५७ सालमा थापा एन्फाको नेतृत्वमा रहेका थिएनन्। त्यतिबेला राष्ट्रिय खेलकुद परिषद्ले तत्कालीन अध्यक्ष थापालाई हटाएर तदर्थ समित गठन गर्दा गीता राणा अध्यक्ष बनेकी थिइन्। उनको राणासँग करिब १ वर्ष अध्यक्ष पदका लागि संघर्ष भएको थियो। पछि राणालाई हटाएर थापा पुनः अध्यक्ष पदमा आसिन भएका थिए। यसपछि थापा अध्यक्ष पदमा निर्वाचित हुँदै आएका थिए।

थापाको एन्फामा हैकम सकिनुको कारण पूर्वसीईओ इन्द्रमान तुलाधरसहित वीरबहादुर खड्का, मानार्थ अध्यक्ष टाशी घले शेर्पा समूहमा आगमन हुनुलाई पनि लिन सकिन्छ। निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले यसपटक उम्मेदवारी नदिए पनि अध्यक्षका उम्मेदवार मणि कुँवरलाई सघाएका थिए। तर उनको समर्थनले पनि थापाको अस्तित्व जोगाउन सकिएन। शेर्पा पक्षधर भएका तुलाधर अहिले महासचिव र खड्का उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै थापाका खासखास व्यक्तिहरू पनि विभिन्न पदमा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्