विश्वकपमा मेसी र रोनाल्डोबीच समानता



कविरस शर्मा

आगामी महिना रसियामा हुने फिफा विश्वकपले संसारको ध्यान तान्ने निश्चित छ। वास्तवमा जात, धर्म, वर्ग सबैलाई एकै सूत्रमा बाँध्न फिफा विश्वकप सफल हुँदै आएको पनि छ। फिफा विश्वकपल सन् १९३० देखि २०१८ सम्म यात्रा गरिसक्दा थुप्रै खेलाडीहरूको जन्म भएको छ। थुप्रै खेलाडीले आफ्नो राष्ट्रलाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका पनि निभाएका छन्।

तीमध्येका कतिपय खेलाडीहरूले फिफा उत्कृष्ट वर्ष खेलाडी र बालोन डे ओरजस्ता अवार्ड पनि हात पारेका छन् भने कतिपय उत्कृष्ट छँदा यी अवार्डको उत्पत्तिसमेत भएका थिएनन्। तर वर्तमान विश्व फुटबलमा पछिल्ला एक दशकभित्र समान पाँच–पाँचपटक फिफा उत्कृष्ट वर्ष खेलाडी र बालोन डे ओरजस्तो फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड पाएर पनि विश्वकप ट्रफीलाई अहिलेसम्म छुनसमेत नपाएका अभागी खेलाडी हुन् अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो। यही कारणले पनि रोनाल्डो र मेसीबीचको समानता फिफा विश्वकपसंग जोडिएको छ।

फिफाको नियमअनुसार फिफा विश्वकप ट्रफीलाई विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक, फिफाका केही पदाधिकारी र देशको राष्ट्राध्यक्ष बाहेक अरूले बोक्न पाउँदैनन्। जसको मारमा अझै पनि परेका छन् । फुटबलकै सर्वाधिक प्रतिष्ठित अवार्ड समान ५–५ पटक जितेका रोनाल्डो र मेसी। विश्व फुटबलको सर्वकालीन महान् खेलाडीको उपमा पाएर पनि विश्वकप ट्रफी छुनसमेत नपाएका खेलाडी भनेर आउने पुस्ताका लागि यो आश्चर्यको विषय पनि बन्न सक्छ।

सन् २००६ देखि २०१४ सम्म गरी ३ वटा विश्वकपको १५ म्याच खेलेका मेसीले अर्जेन्टिनाबाट ५ गोल गरेका छन्। राष्ट्रिय टोलीबाट १ सय २३ म्याचमा मेसीले ६१ गोल गरेर अर्जेन्टिनाकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। १८ वर्षको उमेरमा सन् २००६ को जर्मनीमा भएको फिफा विश्वकपमा डेब्यु गरेका मेसीले सर्बिया र मोन्टेनेग्रोविरुद्धको खेलमा एक मात्र गोल गरेका थिए।

उक्त संस्करणको विश्वकपमा जर्मनीसँग पराजित हुँदै अर्जेन्टिना क्वार्टरफाइनलबाटै बहिरिएको थियो। यसैगरी सन् २०१० को विश्वकपमा पनि जर्मनीसँग क्वार्टरफाइनलमा नै पराजय बेहोरेको अर्जेन्टिनाका तर्फबाट मेसीले कुनै गोल गर्न सकेका थिएनन्। तर सन् २०१४ मा भने आफ्नो टोलीलाई फाइनलसम्मको यात्रा गराउँदा मेसीले ४ गोलको योगदान गरेका थिए। उक्त संस्करणमा विश्वकप ट्रफी उचालेर विश्वकपकै सर्वकालीन महान् खेलाडीको होडमा उभिन एक जित मात्र आवश्यक छँदा लगालग तेस्रापटक अर्जेन्टिनाको बाधक जर्मनी नै बनेको थियो।

यता रोनाल्डोले पनि पोर्चुगलको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले राष्ट्रिय टोलीबाट १ सय ४९ म्याचमा ८१ गोल गरेका छन्। उनले पनि सन् २००६, २०१० र २०१४ गरी तीनवटा विश्वकप खेलेका छन्। जहाँ उनले १३ म्याचमा जम्मा ३ गोल मात्र आफ्नो नाममा लेखाएका छन्। जसका कारण उनी विश्वकपको सर्वाधिक गोलकर्ता सूचीको उत्कृष्ट ६० भित्र पनि परेका छैनन्। २१ वर्षको उमेरमा सन् २००६ को विश्वकपमा डेब्यु गरेका रोनाल्डोले प्रतियोगिताभरि एक मात्र गोल गरेका थिए। उक्त संस्करणमा पोर्चुगलले चौथो स्थान प्राप्त गरेको थियो। यसैगरी २०१० को विश्वकपमा प्री–क्वार्टरफाइनलसम्म यात्रा गरेको पोर्चुगलका तर्फबाट रोनाल्डोले एक गोल गरेका थिए। यस्तै सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको पोर्चुगलका तर्फबाट पनि उनले एक गोल मात्र आफ्नो नाममा लेखाएका थिए।

पछिल्ला ३ विश्वकप खेलिसकेका यी दुवै दिग्गज फुटबलर अहिले छिपिन थालेका छन्। रोनाल्डोका लागि आसन्न फिफा विश्वकप अन्तिम हुने सम्भावना प्रबल रहेको छ। उनी अहिले ३३ वर्ष पुगिसकेका छन्। तर ३० वर्ष पुगेका मेसीले भने सन् २०२२ मा कतारले आयोजना गर्ने विश्वकपसम्म खेल्ने सम्भावना छ। यदि मेसीले रोनाल्डो कै उमेरसम्म खेललाई निरन्तरता दिएमा पनि अझै थुप्रै उपलब्धि हासिल गर्न सक्नेछन्। हुनत उमेर र खेलको प्रसंग निस्कँदा रसिया विश्वकप छनोट खेलेका इजिप्टका ४५ वर्षीय गोलरक्षक एल हाडरी उदाहरण बन्न सक्छ। अहिले उनको प्रदर्शनलाई हेर्दा उमेर भनेको वास्तवमै संख्यामा मात्रै सीमित हो कि भन्ने लाग्छ। यो कुरा रोनाल्डो र मेसीले पनि अनुसरण नगर्ला भन्न सकिन्न।

मेसी र रोनाल्डोबीच अन्य समानता
वर्तमान विश्व फुटबल मेसी र रोनाल्डो नामबिना अधुरो नै बनिसकेको छ। यसै साता मात्र पनि रियल मेड्रिड र बार्सिलोनाबीच भएको ‘एल क्लासिको’ म्याचमा यी दुवै उत्कृष्ट खेलाडी आमनेसामने भएका थिए। जहाँ यी दुवैले आ–आफ्नो नाममा एक–एक गोल पनि लेखाएका थिए। वास्तवमा ’एल क्लासिको’ म्याचको लोकप्रियता स्पेनिस ला लिगा फुटबलको शुरुआतदेखि हुँदै आएको छ। तर एक दशकयता भने मेसी र रोनाल्डोको उपस्थितिले यसले झनै लोकप्रियता बटुलेको छ। केही वर्षयता विभिन्न सञ्चारमाध्यमबाट विश्वभर ‘एल क्लासिको’ म्याचलाई हेर्नेको संख्या ४ सय देखि ६ सय मिलियन पुगेको तथ्यांकले देखाएको छ।

यी २ वर्तमान विश्वका यस्ता उत्कृष्ट खेलाडी हुन् जो एउटै कालमा उदाएका छन्। यदि यी भिन्दाभिन्दै अन्तरालमा जन्मेका भए यिनीहरूको लोकप्रियता अहिलेजस्तो बाँडिनुबाट जोगिन्थ्यो। योबाहेक यी दुईले पाउने अवार्ड पनि अहिले यिनका समर्थकहरू माझ चासोको विषय बन्ने गरेका छन्। अहिले विश्वभर यी दुईमध्ये कसको समर्थक बढी छन् भनेर निश्चित संख्यामा भन्न पनि कठिनै छ।

वास्तवमा यी दुईबीच धेरै कुरामा समानता रहेको छ। अर्जेन्टिना तथा बार्सिलोनाका प्लेमेकर लियोनेल मेसी तथा पोर्चुगल र रियल मेड्रिडका स्ट्राईकर क्रिस्टियानो रोनाल्डो अहिलेसम्म सर्वाधिक ५–५ पटक फिफा वर्ष खेलाडी बन्ने २ खेलाडी हुन्। पछिल्ला १० वर्षयता उक्त अवार्डको होडबाजीमा यी २ आमनेसामने हुँदै आएका छन्। यी दुईले क्लब फुटबलमा मात्र होइन आफ्नो राष्ट्रिय टिमलाई पनि सफलता दिलाउन भरमग्दुर प्रयास गरेका छन्।

मेसीको कुरा गर्नुपर्दा उनले सन् २०१४ को फिफा विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पु¥याउन ठूलो योगदान गरेका थिए। यस्तै महादेशीय प्रतियोगिता कोपा अमेरिकामा लगालग २ पटकसम्म अर्जेन्टिना उपविजेतामा सीमित बन्दा उनको योगदान अतुलनीय बनेको थियो। सन् २०१४ को फिफा विश्वकप देखि २०१६ को कोपा अमेरिकासम्म अर्जेन्टिनाले लगातार तीनवटा विश्वस्तर प्रतियोगिताको फाइनलको यात्रा गरेर पनि उपाधी नजित्दा भने उनले अभागी खेलाडीको छवि बनाएको छ।

यस्तै अवस्था सन् २०१६ मा सम्पन्न युरोपियन कप अघिसम्म रोनाल्डोको पनि थियो। क्लबस्तरमार्फत एउटा फुटबल खेलाडीले पाउने विश्वस्तरका सबैजसो सम्मान पाए पनि उनले राष्ट्रलाई प्रमुख प्रतियोगिताको उपाधी दिलाउन नसकेका कारण अभागी खेलाडीकै पहिचान बनाउँदै आएका थिए। तर फ्रान्समा सम्पन्न युरोपियन कपमा पोर्चुगललाई पहिलोपटक उपाधी दिलाएसँगै उनले राष्ट्रिय टिमबाट अभागी छाप मेटाएका थिए।

घरेलु फुटबलको कुरा गर्नुपर्दा मेसी सम्मिलित बार्सिलोना ९ पटक स्पेनिस ला लिगा च्याम्पियन बनिसकेको छ। तर रोनाल्डो सम्मिलित म्यानचेस्टर युनाइटेडले ३ तथा रियल मेड्रिडले २ गरी कूल ५ पटक घरेलु फुटबल लिग जितेका छन्। यस्तै फिफा क्लब विश्वकपमा भने यी दुवै समान तीन–तीनपटक सफल भएका छन्।

योबाहेक च्याम्पियन्स लिगमा पनि यी २ बीच समानता नै देखिन्छ। च्याम्पियन्स लिगमा १ सय गोलको कोशेढुंगा कटाउनेमा यी २ जनाले मात्र आफ्नो नाम लेखाएका छन्। आजको मितिसम्म रोनाल्डो युएफा च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका छन्। रियल मेड्रिडका गोल मेसिन रोनाल्डोले सन् २००३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिगमा डेब्यु गरेयता १ सय २० गोल गरिसकेका छन्। यता १ सय गोल गरेर लियोनेल मेसी उक्त सूचीको दोस्रो स्थानमा छन्।

स्पेनिस ला लिगामा भने मेसी सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेको छ। उनी सम्मिलित बार्सिलोनाले सन् २००६, २००९, २०११ र २०१५ मा गरी चारपटक च्याम्पियन्स लिगको उपाधी जितेको छ। यता रोनाल्डो भने ला लिगाको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन्। उनी सम्मिलित म्यानचेस्टर युनाइटेडले सन् २००८ तथा रियल मेड्रिडले २०१४, २०१६ र २०१७ मा गरी ३ पटक च्याम्पियन्स लिगको ट्रफी उचालेका छन्।

सिनियर टिमको तथ्यांकलाई हेर्दा पनि मेसी र रोनाल्डोबीच समानता नै रहेको छ। सन् २००८ को बेइजिंगमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण दिलाउन मेसीले महत्वपूर्ण भूमिका खेलेका थिए भने अर्काेतिर सन् २०१६ मा सम्पन्न युरोकपको उपाधी पोर्चुगललाई दिलाउन टिमको प्रेरणास्रोत र उर्जा बनेका थिए, रोनाल्डो।

प्रतिक्रिया दिनुहोस्