सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता, नवीन र विष्णु अन्तिम १६ मा



काठमाडौं, (नेस)
नेपाली सेनाका नवीन श्रेष्ठ र नेपाल प्रहरीका विष्णु कटुवाल सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरमा प्रवेश गरेका छन्।

नवीनले सप्तरीका सन्तोष कटुवाललाई २१–६, २१–५ ले र विष्णुले एपीएफका निरञ्जन देवकोटालाई २१–९, २१–१५को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरे। यस्तै एपीएफका गौतम कठायतले कञ्चनपुरका प्रकाश चन्दलाई २१–९, २१–१२ले, सुनसरीका प्रनिष सिंह ठकुरीले सप्तरीका सुनिल परियारबाट वाक ओभर पाएर अर्को चरणमा पुग्दा प्रहरीका जीवन आचार्यले सेनाका दिवस संकरलाई २१–१७, २१–११ ले पन्छाएका थिए।

यसैगरी एपीएफका विजित थापा मगरले सेनाका रुकेश महर्जनलाई २२–२०, २१–१४ले, प्रहरीका पूर्ण थापाले दाङका तुलसी महरालाई २१–८, २१–६ले, एपीएफका सुदीप सेढाईंले सुनसरीका सुजन श्रेष्ठलाई २०–२२, २१–१४, २१–१६ले र जेष्टका सुनिल जोशीले मोरङका सुमन राईलाई २१–९, २१–११ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरे।
महिला एकलमा जेष्ट ब्याडमिन्टन एकेडेमीकी तारा आले र धनकुटाकी अरूणा तामाङ प्रिक्वार्टरमा प्रवेश गरेका छन्। आलेले धनकुटाकी गीता राईलाई २१–१५, २१–१४ तथा तामाङले झापाकी अञ्जना राईलाई २१–१२, २१–१७ले पराजित गरे।

पुरुष यू–१९मा कञ्चनपुरका सौरभ चन्द, मोरङका जोन जसराज, दाङका सुरज गुप्ता, जेष्टका सुनिल जोशी, सेनाका रुकेश महर्जन, सुनसरीका क्षितिज केसी, सोलुखुम्बुका पेम्बा शेर्पा, ताप्लेजुङका मिलन गुरुङ, सेनाका दिवस संकर, जेष्टका प्रियान्सु क्षेत्री, कञ्चनपुरका विवेक चौधरी आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै प्रिक्वार्टरमा प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्