गायिका यादवद्वारा ३ डोम बालिका भर्ना



राजविराज, (नेस)। नेपाली तथा मैथिली भाषाका दर्जनौं गीतकी उदयमान गायिका अञ्जु यादवले सप्तरीको राजगढ गाउँपालिका–५, मलेकपुरका ३ डोम बालिकालाई विद्यालय भर्ना गराएकी छिन्।

गायिका यादवले सरकारको एक व्यक्ति एक विद्यार्थी भर्ना अभियानअन्तर्गत १२ वर्षीया पिंकी मरिक, ८ वर्षीया सजनकुमारी मरिक र ९ वर्षीया शान्ति मरिकलाई गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको कक्षा १ मा भर्ना गराएकी हुन्। उनीहरू आर्थिक अभाव र घरको कामले अल्झेर विद्यालय जानबाट वञ्चित थिए। कक्षा १० सम्मको पढाइ, लत्ताकपडा र अन्य आधारभूत सामग्रीका लागि आफूले सहयोग गर्ने गायिका यादवले बताइन्।

आफ्नो व्यक्तिगत खर्च कटाएर तीनै जना बालबालिकाको पढाइमा लगाउने उनले बताइन्। बालिका विद्यालय नआए, बिरामी परे, पढाइमा मन नलगाए, फोहोरी भएर आए आफूलाई खबर गर्न विद्यालय प्रशासनसँग आग्रह गरेकी उनले बालबालिकालाई विद्यालय भर्ना गराएर औपचारिकता पूरा गर्नुभन्दा पनि व्यावहारिक शिक्षा दिएर जीवन निर्वाह गर्न सक्ने बनाउनु आफ्नो उद्देश्य भएको बताइन्। छोरीहरू विद्यालय जान थालेपछि दुवै परिवारका अभिभावक दंग परेका छन्।

प्रतिक्रिया दिनुहोस्