सहमति भयो तर बनेनन् सडक



सुरेश तामाङ, ललितपुर

२०७५ वैशाख १५ भित्र सातदोबाटो (चापागाउँदोबाटो) देखि ढोलाहिटी सडक खण्डको ९ सय ६० मिटर सडक खण्ड कालोपत्रे गएको चैत ९ गते सडक विभागमा विभाग, डिभिजन सडक कार्यालय, ललितपुर र सडक संघर्ष समितिबीच त्रिपक्षीय सहमति भयो।

सहमति पश्चात् २ दिन ठप्प सातदोबाटोदेखि ढोलाहिटी सडक खण्ड सुचारु भयो। सडक विस्तारमा भएको ढिलाइका कारण स्थानीयले सास्ती खेप्नुपरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गर्न सठक ठप्प पारेका थिए।

४ वर्षदेखि सडक निर्माण शुरू भए पनि अझै सम्पन्न नगरेकाले स्थानीयले सडक अवरोध गरेका थिए। सडक अवरोधमा अत्यावश्यक सवारीलाई अवरोध नगर्ने भनिए पनि सडकमा कुनै पनि सवारीसाधनलाई प्रवेश गर्न दिइएको थिएन।


सडक ठप्प पार्दा एम्बुलेन्स, तरकारी, दमकललगायत अतिआवश्यक सवारीसाधनलाई समेत पूर्णरूपमा निषेध थियो। त्यस सडकमा हिँड्ने बटुवादेखि सडक छेउछाउमा व्यापार व्यवसाय गर्नेसम्मले धूलो–धूवाँको सास्ती खेप्नुप¥यो।

निश्चित भाका राखेर त्रिपक्षीय सहमति भए पनि भाका पुगेको २ हप्ता हुन लागिसक्यो। तर, न अहिलेसम्म भाका गरेअनुसार सडक कालोपत्रे हुन सक्यो न त सडकमा धूलो–धूवाँ उड्न नै छोड्यो।

सहमतिअनुसार सातदोबाटोदेखि ढोलाहिटी सडक खण्डको ९ सय ६० मिटरमध्ये २०७४ चैत १५ गतेभित्र ३ सय मिटर सडक खण्ड र बाँकी रहने ६ सय ६० मिटर सडक खण्ड २०७५ वैशाख १५ गतेभित्र सम्पन्न गरिसक्ने सहमति भएको थियो।

तर, अहिलेसम्म त्यही सडक खण्डमा ३ सय मिटर कालोपत्रे गर्ने कामबाहेकको सडक विस्तारको काम हुन सकेको छैन। त्यस बेला निकै आक्रमक तरिकाले लागिरहेका संघर्ष समितिसमेत सहमति गरेको मिति नाघेर २ हप्ता पुगिसक्दासमेत जुर्मुराउन सकेका छैनन्।

सातदोबाटो–ढोलाहिटी सडक संघर्ष समितिका अध्यक्ष हिमाल राईले आफूहरू अब के गर्ने भन्ने विषयमा छलफल गरिरहेको बतानुहुन्छ। उहाँले भन्नुभयो– ‘हामी अहिले छलफलमै छौं। हामी योजना बनाउँदै छौं। अबको केही दिनमा यसको प्रतिफल थाहा पाइनेछ।

सहमति भएअनुसार ठेकेदारले काम नगरेको र सम्बन्धित निकायले पनि अनुगमन नगरेको उहाँको आरोप छ। ‘२ दिनसम्म आन्दोलन गरेर सडक विस्तारका लागि बाटो त खुलाइयोु, उहाँले भन्नुभयो– ‘सबै पक्षबीच सहमति भएकै हो। सहमतिअनुसार न ठेकेदारले काम गरे न त डिभिजन सडक कार्यालयले नै काम चाँडो गर भन्न सक्यो।

यस सडक खण्डको तुतेपानीदेखि ६ सय ६० मिटर सडक खण्डमा हिजोआज घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदा पनि यात्रुलाई बाध्य भएर हिँड्न परिरहेको छ।

त्यस सडक आसपासका घरहरू पूरै धूलोले ढाकिएको अवस्थामा प्रस्टै देख्न सकिन्छ। भने पानी पर्दा त्यी घरका भित्ताहरू हिलो छ्यापेर लिपेको जस्तै देखिन्छ। सडकमा खाल्डा खुल्डी, सडक छेउमा फोहार थुपारिएको, निर्माण सामग्रीहरू यत्रतत्र थुपारिएको छ। जसका कारण सर्वसाधारण यात्रुसमेत सहजरूपमा आवत–जावत गर्न कठिन छ।

यस्तै अवस्था केही दिनसम्म पनि सहन नसक्ने संघर्ष समितिका अध्यक्ष राईले भन्नुभयो। ‘यस्तो सास्ती अब खेप्न केही दिन पनि सहन सक्दैनौं। अब फेरि संघर्षको विकल्प छैन। –उहाँले भन्नुभयो।

सडक बजारमा रहेकाले बटुवा हिँड्नालाई फुटपाथ पनि चाहिन्छ तर यस सडक विस्तारमा फुटपाथ राखिएको छैन। बटुवा मुस्किललै त्यही सडकबाटै हिँड्न बाध्य छन्। शहरी सडकको चौडाइ २२ मिटर हुनुपर्नेमा त्यस सडक खण्डमा साढे १७ मिटर चौडाइ कायम छ, जसले गर्दा सडकछेउमा बटुवा हिँड्ने फुटपाथ बन्न नसकेको काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला कार्यालय ललितपुरले जनाएको छ।

यसै कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सडक विभागको नजरमा यो सडक विस्तार अझैसम्म पनि मापदण्डविपरीत नै छ। सडकको मापदण्डअनुसार २२ मिटरको सडकमा साढे १७ मिटर कालोपत्रेको भागमात्र रहनुपर्दछ। र, बाँकी दायाँ–बायाँ १–१ मिटरको फुटपाथ हुनुपर्दछ। साढे १७ मिटर सडक मात्रै कालोपत्रेको भाग रहनुले त्यस सडक खण्ड नबनेको हो।
ललितपुर महानगरपालिका–१५ का वडा अध्यक्ष सुदर्शन मिश्रले सडक कालोपत्रे गर्ने कार्य चाँडोभन्दा चाँडो सम्पन्न गराउन आफू लागिपरेको बताउनुभयो। २०६९ सालमा ठेक्का पाएर २०७२ सालमा सम्पन्न गर्न युनाइटेड विल्डर्ससँग सम्झौता भएको हो। डिभिजन सडक कार्यालय प्रमुख, प्रकाश भण्डारीले यसै वर्षात्अगावै सडक कालोपत्रे गरिसक्ने बताउनुभयो।
‘यस सिजनअगावै कालोपत्रे गर्ने काम सम्पन्न गरिसकिनेछ। ठेकेदारलाई त्यहीअनुसार निर्देशन भएको छ। –उहाँले भन्नुभयो। ठेकेदारलाई जेठ १५ भित्र सडक कालोपत्रे गर्न मौखिक निर्देशन दिइसकेको उहाँले बताउनुभयो। ‘हामीले अन्तिम निर्देशन मौखिक भए पनि दिएका छौं। वर्षात्भित्र काम सम्पन्न नभए हामी ठेक्का रद्ध गरेर ठेकेदारलाई कारबाही गर्छौं। –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्