स्ट्रिट चिल्ड्रेन टोली रुस जाँदै



नेपाल समाचारपत्र
काठमाडौं
रुसको मस्कोमा हुने सडक बालबालिकाहरूको विश्वकप स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले बिदाई गरेको छ। ९ जना खेलाडीले मस्कोमा नेपालको प्रतिनिधित्व गर्नेछन्। स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा हुने प्रतियोगिता सेभेन ए साइडको स्वरूपमा हुनेछ। नेपाली टिम बुधबार मस्को प्रस्थान गर्नेछ।

रुस जाने नेपाली टिममा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनवीर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन्। सेल्टर आश्रय नेपालले भाद्रमा सडक बालबालिकाको राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको हो।

विद्यालय जाने उमेरका स–साना बालबालिकाहरूलाई सडकमा मागेको अवस्थालाई निर्मुल पार्न सेल्टर आश्रय नेपाल लागेको छ। सेल्टर आश्रयकी अध्यक्ष खुस्बू ओलीले सडकमा बटुको बोकेर माग्ने उभिने स्थिति रहेसम्म देशको उन्नति नहुने बताएकी छिन्। उनले भनिन्– ‘त्यसैले सडक बालबालिकाको व्यवस्थापन आवश्यक भएको छ। यही लक्ष्यका साथ सेल्टर आश्रय नेपालले सन् २०१८ मा रुसमा हुने फिफा विश्वकप अगाडि आयोजना हुन लागेको स्ट्रिट चिल्डे«न विश्वकपमा नेपालको सहभागिता सुनिश्चित गरेको हो।

प्रतियोगितामा २२ देसबाट २४ टोलीको सहभागिता रहनेछन्। जसमा छात्र र छात्रामा समान १२÷१२ टोली हुनेछन्। ओलीले आगामी विश्वकपमा नेपालको छात्रा टोली पनि सहभागि गराउने लक्ष्य लिएकी छिन्। यो विश्वकपको नारा हरेक अनाथ, असहाय तथा सडक बालबालिकाले जन्मदर्ताको अधिकार पाउनुपर्छ भन्ने रहेको छ।’

प्रतिक्रिया दिनुहोस्