इरान–इजरायल तनाव, असद र उनको सत्ता अन्त्य गर्ने इजरायलको चेतावनी



तेलअभिव, (एजेन्सी)
इजरायली सुरक्षा क्याबिनेटका एक मन्त्रीले सिरियाले इजरायलमाथि हमला गर्न इरानलाई आफ्नो भूमि प्रयोग गर्न दिएमा सिरियाली राष्ट्रपति बसर अल असदको सत्ता समाप्त पार्ने चेतावनी दिएका छन्। इजरायली ऊर्जा मन्त्री युवाल स्टिनित्जले यदि कुनै हमला भएमा असदले ऊ र उनको सत्ताको अन्त्य हुनेछ भन्ने बुझ्नुपर्ने बताए। हालै मात्र इजरायल, इरान र उसका सहयोगीहरूबाट हुन सक्ने सम्भावित क्षेप्यास्त्र हमलाको सामना गर्न तयारी गरिरहेको समाचारहरू प्रकाशित भएका थिए। ती समाचारका सम्बन्धमा प्रतिक्रिया दिने क्रममा युवा नेता स्टिनित्जले उक्त टिप्पणी गरेका हुन्।

केही समयअगाडि सिरियाभित्र इरानका केही सैन्य ठेगानामा क्षेप्यास्त्र हमला भएका थिए। इरानले यसको बदला लिने चेतावनी दिएको थियो। ती हमलामा इजरायलको हात रहेको बताइएको छ। यद्यपि इजरायलले ती हमलाका जिम्मेवारी पुष्टि गरेको छैन र आरोपको खण्डन पनि गरेको छैन। इजरायलले सिरियाभित्र इरानको सैन्य उपस्थिति बलियो हुन नदिने बताउँदै आइरहेको छ। सिरियामा सात वर्षदेखि चलिरहेको गृहयुद्धमा इरानले राष्ट्रपति बसर अल असदलाई समर्थन गर्दै आइरहेको छ। सिरियामा इरानका सयौं सैन्य सल्लाहकार तथा हजारौं लडाकू छन्।


इजरायली अखबारलाई दिएको साक्षात्कार स्टिनित्जले भने– ‘राष्ट्रपति असदले हाम्रो र आफ्नै नागरिकविरुद्ध गरेको अपराधका बाबजुद इजरायलले अहिलेसम्म युद्धमा हस्तक्षेप गरेको छैन। ऊर्जा मन्त्री स्टिनित्जले चेतावनी दिँदै भने– ‘यदि असद सिरियालाई हाम्रो विरुद्ध इरानको सैन्य अड्डा बन्न दिन्छन् र हामीमा हमला गर्न सिरियाको भूमि प्रयोग गर्न दिन्छन् भने यो उनका लागि आत्मघाती हुनेछ भन्ने बुझ्नुपर्छ र यो उनको सत्ताको अन्त्यको कारण बन्नेछ। उनी सिरियाको शासक अर्थात् राष्ट्रपति हुनेछैनन्।’

इजरायल सार्वजनिकरूपमा आफूले गरेका हमलाहरूको जिम्मेवारी स्वीकार गर्दैन, तर गत फेब्रुअरीमा इरानलाई सिरियाभित्र क्षेप्यास्त्र हमला गरेको स्वीकार गरेको थियो।


उसले सिरियाको टी–४ सैन्य अड्डालगायत कयौं सैन्य इलाकामा हमला गरेको स्वीकार गरेको थियो। इजरायलले आफ्नो वायुक्षेत्रमा एक इरानी ड्रोन प्रवेश गरेपछि उसले ती हमला गरेको बताएको थियो। इजरायलको कारबाहीका क्रममा सिरियाले इजरायलको एक लडाकू विमान खसालेको थियो। गत महिना सिरियाली सेनाले टी–४ सैन्य अड्डामा भएको एक हमलामा इजरायल जिम्मेवार भएको बताएका थिए। उक्त हमलामा १४ जनाको मृत्यु भएको थियो, जसमा ७ जना इरानको रिपब्लिकन गार्डस् फोर्सका सदस्य थिए।

एक हप्ताअगाडि मात्रै इरानको नियन्त्रण रहेको सिरियाको उत्तरी क्षेत्रमा भएको हमलामा कयौं इरानी मारिएका थिए। अधिकारीहरूले उक्त हमला इजरायली लडाकू विमानले गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्