जुडोको ब्ल्याकबेल्ट खेलाडी भ्लादिमिर पुटिन चौथो पटक रुसी राष्ट्रपति



काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो पटक राष्ट्रपति पद सम्हालेका छन् । गत मार्च महिनामा राष्ट्रपति निर्वाचित ६५ वर्षे पुटिनले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

उनले प्रधानमन्त्रीमा आफ्ना बफादार नेता दिमित्री मेतभेदेवलाई नियुक्त गर्ने संकेत गरेका छन् । कार्यकाल सम्हालेपछि उनले ६ वर्षभित्र गरिबी घटाउने, रसियन नागरिकको सरदर आयु ७२ वर्षबाट बढाएर ७८ वर्ष पुर्‍याउने लगायतका लक्ष्य पूरा गर्ने बताएका छन् ।

सोभियत संघको बिघटनपछि एकदशकसम्म रुसमा कानुनविहीन तर अपेक्षाकृत मुक्त समाज रहेपछि पुटिनले दोस्रो पटक क्रेमलिन (रुसी सत्ताको केन्द्र)मा मजबुत पकड जमाएका छन् । विश्वका शक्तिशाली नेताहरुमध्येका एक पुटिनले विपक्षीहरुलाई कमजोर बनाइसकेका छन् र रुसको शक्ति विश्वसामू प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय मोर्चामा उनले तीन अमेरिकी राष्ट्रपतिको कार्यकाल देखे । उनले युक्रेनको क्रिमिया क्षेत्रलाई रुसमा बिलय गराएर र सिरियामा हस्तक्षेप गरेर पश्चिमी देशका साथ एक प्रकारको दुश्मनी शुरु गरे । फोर्ब्स पत्रिकामा प्रकाशित हुने विश्वकै शक्तिशाली नेताको सूचीमा पुटिन विगत चार वर्षदेखि अटाइरहे ।

जुडोको ब्ल्याकबेल्ट खेलाडी

पुटिनको जन्म १९५२ अक्टुबर ७ मा भएको थियो । पुटिन जुडोको ब्ल्याक बेल्टधारी हुन् । उनले कहिले साइबेरियाको जंगलमा घोड सवारी गरेको, कहिले कमिज नै नलगाएको र कहिले लोपोन्मुख बाघलाई शान्त पार्नका लागि डार्ट प्रहार गरेको फोटो खिचाएर उनी चर्चामा आए ।

पुटिनलाई एकातिर उनका समर्थकहरुले एक उद्धारक मान्दछन् जसले कमजोर देशलाई शक्तिशाली बनाए । अर्कोतर्फ उनका विरोधीहरुले उनलाई निरंकुश र लोकतन्त्र विरोधी मान्दछन् ।

पुटिनले रुसी गुप्तचर सेवा केजीबीमा शामेल भएर आफ्नो बाल्यकालको सपना पूरा गरेका थिए । ७ अक्टुबर १९५२ मा तत्कालीन लेनिनग्राद (हालको सेन्ट पिटर्सबर्ग)मा एक साधारण परिवारमा जन्मिएका पुटिनले रुसी गुप्तचर सेवा केजीबीमा सामेल भएका थिए । पछि उनी पिटर्सबर्गको मेयर अनाचोली सोबचाकको छत्रछायाँमा रहेर राजनीतिमा उदाए ।

रुसमा लोकतान्त्रिक तरिकाबाट निर्वाचित पहिलो राष्ट्रपति बोरिस यल्तसिनको सचिवालयमा रहेर काम गर्नका लागि पुटिनलाई राजधानी मस्कोमा बोलाइयो । त्यसपछि १९९८ मा उनलाई केजीबीको उत्तराधिकारी एजेन्सी एफएसबीको प्रमुख बनाइयो ।

रक्सीको लतको कारण स्वास्थ्य समस्याबाट जुधिरहेका यल्तसिनले पुटिनलाई १९९९ को अगस्टमा देशको प्रधानमन्त्री बनाइदिए । र, चेचेन्या क्षेत्रमा विद्रोहीलाई दमन सुरु गरेपछि उनको चर्चा झन् भयो । त्यतिबेलादेखि नै पुटिन चर्चासँगै र शक्तिशाली पनि बन्दै गए र विश्वमा आफ्नो प्रभाव बढाउँदै लगे ।

श्रीमतीसँग सम्बन्ध बिच्छेद र प्रेम प्रसंग

उनले आफ्नो निजी जीवनलाई हमेशा मिडियाको नजरबाट टाढै राख्ने कोशिस गरे । तर, बिहे भएको तीन दशकपछि सन् २०१३ मा पत्नी ल्युडमिलासँग सम्बन्ध बिच्छेद गरेको कुरा लुक्न सकेन ।

त्यसपछि लगातार उनको नयाँ प्रेम सम्बन्धको चर्चा पनि भइरहयो । पूर्व ओलम्पिक जिम्नास्टसँग उनको प्रेम सम्बन्धको चर्चा अलि बढी नै भयो यद्यपि त्यसको पुष्टि हुन भने सकेन ।

भ्लादिमिर पुटिनले पहिलो पटक सन् २००० को मे महिनामा राष्ट्रपति पद सम्हालेका थिए । चार-चार वर्षको दुई कार्यकाल सन् २००८ मा समाप्त भयो ।

त्यसपछि मे २००८ मा उनी रुसको प्रधानमन्त्री बने । र, दिमित्री मेदभेदेव राष्ट्रपति बने । त्यसअघि बोरिस यल्तसिनले आकस्मिकरुपमा राजीनामा दिएपछि पुटिन सन् १९९९ देखि २००० सम्म पनि प्रधानमन्त्री बनेका थिए ।

संवैधानिक व्यवस्थाअनुसार सन् २००८ मा दोस्रो कार्यकाल पूरा गरेपछि पुटिनले सत्ताको बागडोर आफ्नो बफादार नेता दिमित्री मेदभेदेवलाई सुम्पिए र आफू प्रधानमन्त्री बने ।

संविधान संशोधनपछि चार वर्षे कार्यकाललाई ६ वर्षे बनाइयो । त्यसपछि उनी सन् २०१२ मा उनी फेरि राष्ट्रपति बने । त्यसको चर्को विरोध भयो । तर पुटिन लगातार शक्तिशाली बनिरहे ।

एकपटक पुटिनलाई पत्रकारहरुले सोधे- तपाईं आगामी ६ वर्षे कार्यकालको लागि पनि चुनाव लड्नुहुन्छ ? पुटिनले जवाफ दिए- तपाईंहरु पनि मजाक गर्नुहुन्छ, तपाईंहरुलाई लाग्छ कि म एक सय वर्षको उमेरसम्म पनि यहीँ रहन्छु, अहँ, यस्तो हुँदैन ।

– बीबीसी

प्रतिक्रिया दिनुहोस्