पुटिनद्वारा चौथो राष्ट्रपतीय कार्यकालको शपथ ग्रहण



मस्को, (एजेन्सी)
भ्लादिमिर पुटिनले सोमबार रसियाको चौंथो राष्ट्रपतिय कार्यकालका लागि शपथ ग्रहण गरेका छन्। यसैक्रममा उनले ऐतिहासिक उपलब्धि हासिल गर्न राष्ट्रका प्रतिभाहरुलाई एकै स्थानमा जोड्न आ≈वान गरेका छन्।
एउटा भव्य क्रेमलिन हलमा आयोजित उक्त शपथ ग्रहण समारोहमा करिब ५ हजार पाहुनाको उपस्थिति रहेको थियो। उनी विगत १८ वर्षदेखि लगातार राष्ट्रपति र प्रधानमन्त्रीको हैसियतले सत्तामा रहँदै आएका छन्। तर राजनीतिक विपक्षी समूहले भने उनको शासनकाललाई जार वा सम्राटको शासनका रूपमा हेर्ने गरेको छ।

रुसी सरकारी टेलिभिजनले ६५ वर्षीय पुटिन आफ्नो क्रेमलिनस्थित कार्यालयबाट निस्केर शपथ ग्रहण कार्यक्रममा सरिक हुन लामो करिडोरमा हिँडिरहेको दृश्य प्रसारण गरेको छ। त्यसपछि उनले कोर्टेज नामक रसियामा नै निर्मित नयाँ लिमोजिनमा बसेर क्रेमलिन परिसरमा छोटो यात्रा गरेका थिए। यसअघिका यस्तै कार्यक्रममा उनी र उनका सहयोगीले विदेशी महँगा कार प्रयोग गर्ने गरेका थिए।

साथै विगतमा राष्ट्रपति पुटिनलाई मोटरकारको लामो लस्करसहित राजधानी मस्कोमा घुमाएर कार्यक्रम स्थलमा लाने गरिन्थ्यो। जर्मन पूर्वचान्सलर तथा हाल रुसी विशाल ग्यास कम्पनी ग्याजप्रोमका अध्यक्ष गेर्हार्ड स्रोडर, प्रधानमन्त्री दिमित्री मेदभेदेभ र अर्थोडोक्स चर्च प्याट्रियार्क किरिल पनि सो कार्यक्रममा उपस्थित भएका छन्।


अर्का सेलेबे्रटी तथा हलिउड स्टार एवं रुसी नागरिक स्टेभन सिगल पनि पहिलो लहरमा उभिएका थिए। पुटिनले भनेका छन्– ‘हामीले आफ्नो पितृभूमिको गौरवलाई ब्युँताएका छौं। राष्ट्राध्यक्षको हैसियतले रसियाको शक्ति र समृद्धि वृद्धिका लागि सक्दो कोसिस गर्नेछुँ। हामीले जीवनका हरेक पक्षमा उत्कृष्टता हासिल गर्नुपर्छ। यस्तो उपलब्धि सम्पूर्ण नयाँ र अतिविकसित कुराहरू स्वीकार्न तयार स्वतन्त्र समाजको मार्फत मात्र हासिल हुनेमा म विश्वास गर्दछु।’ शनिबार मस्कोलगायत रसियाका अन्य विभिन्न शहरमा पुटिनविरुद्ध आयोजित प्रदर्शनहरुमा दंगा प्रहरीले हस्तक्षेप गरेको थियो। यस दौरान उन्नाइसवटा शहरबाट १ हजार जनाभन्दा बढी पक्राउ गरिएको थियो।

प्रमुख सामाजिक अनुसन्धान निकाय लाभादा सेन्टरले हालै गरेको एक मत सर्भेक्षणअनुसार अधिकांश रुसी जनता पुटिनले धनी र गरिबबीचको दूरी घटाउन नसकेकोमा असन्टुष्टि जाहेर गरेका छन्। सन् २०१५ गरिएको सर्भेक्षणमा जस्तै यसपालि पनि रुसी जनताले पुटिन तलब, पेन्सन र अन्य सुविधा बढाउन असफल रहेको ओरोप लगाएका छन्।

गत महिना १ सय ३६ वटा रुसी शहरमा १ हजार ६ सय जनामाथि गरिएको उक्त सर्भेक्षणमा ४७ प्रतिशतले रसियालाई विश्वकै शक्ति राष्ट्रका रूपमा उभ्याउन सकेको भन्दै पुटिनको मुक्तकण्ठले स्वगत र प्रशंसा गरेका छन्। सन् १९९० मा रुस र संयुक्त राज्य अमेरिकाबीचको शीतयुद्धको अन्त्य भएको थियो। रसियामाथि अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउनसमेत हस्तक्षेपकारी भूमिका निभाएको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस्