इरानसँगको परमाणु सम्झौता रद्द गर्न नदिने अन्तिम प्रयास जारी



वासिङ्टन, (एजेन्सी)
अमेरिकाका लागि बेलायतका राजदूत सर किम डेरोकले इरानसँगको परमाणु सम्झौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिन्ता कम गर्ने विषयमा आएका प्रस्तावहरुमा काम गरिरहेको बताए।

अमेरिकी राष्ट्रपति ट्रम्प शुरूदेखि नै इरानसँगको परमाणु सम्झौताका कडा आलोचक हुन्। राष्ट्रपति ट्रम्पले इरानसँगको उक्त सम्झोता रद्द गर्ने घोषणा गर्न सक्ने आशंका व्यक्त गरिएको छ। अर्थात् इरान र विश्वका ६ शक्ति राष्ट्रबीच सम्पन्न उक्त परमाणु सम्झौताबाट अमेरिका बाहिरीन सक्ने सम्भावना बढेको छ।

बेलायतका राजदूत सर किम डेरोकले अमेरिकालाई उक्त सम्झौता रद्द गर्नबाट रोक्ने उपाय खोज्नमा बेलायत, फ्रान्स र जर्मनीले प्रयास गरिरहेको बताए। उनले भने– यो मुद्दामा हाम्रा केही विचार छन्। राष्ट्रपति ट्रम्पको चिन्ता हटाउन केही गर्न सकिन्छ र हामी त्यसका लागि केही भाषा खोज्न सक्छौं भन्ने हामीलाई लागेको छ। हामी फ्रान्स र जर्मनीमा आफ्ना सहयोगीसँग कुरा गरिरहेका छौं। जबसम्म इरानले यो सम्झौता पालना गरिरहन्छ तबसम्म सम्झौता कायम होस् भन्नेमा हाम्रो प्रयास हुनेछ।

अमेरिकाका लागि पूर्वबेलायती राजदूत पिटर वेस्टमेकटले यदि अमेरिकाले उक्त सम्झौता तोडेमा इरान आफ्नो परमाणु कार्यक्रम पुनः शुरू गर्न सक्छ। पश्चिमी देशसँग यस प्रकारको सम्झौता गर्न नचाहने इरानको रिभेलुस्नरी गार्ड र अन्य कट्टरपन्थीले परमाणु कार्यक्रम पुनः शुरू गर्नुपर्नेमा सर्वोच्च नेता अयातुल्लाह खोमेनी र अन्य नेताहरूलाई मनाउन सक्ने उनले बताए।


यसअघि इरानका राष्ट्रपति हसन रुहानीले यदि राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता अन्त्य गरेमा अमेरिकाले ऐतिहासिकरूपमा दुःखित बन्नुपर्ने चेतावनी दिएका थिए। इरानसँग संसाधन, ज्ञान रहेको विज्ञहरु बताउँछन्। यदि सम्झौता रद्द भएमा इरानले जुन परमाणु अनुसन्धान कार्यक्रम चलाइरहेको हो, त्यसलाई तीव्र गतिमा अगाडि बढाउने उनीहरु बताउँछन्। ट्रम्पले सैन्य कारबाहीको धम्की दिइरहेको भए पनि जर्ज बुसले इराकमाथि गरेजस्तै अमेरिकाको प्रयास ट्रम्पकै कार्यकालमा इरानविरुद्ध सैन्य कारबाही गर्ने प्रयास भइरहेको उनीहरुले बताए।

इरानसँगको परमाणु सम्झौतामा अमेरिका, रुस, चीन, जर्मनी, बेलायत र फ्रान्सले हस्ताक्षर गरेका थिए। तीन वर्षअगाडि भएको उक्त सम्झौता अमेरिकाबाहेक बाँकी सबै देशले कायम रहनुपर्ने चाहेका छन्।

यस सम्झौतापछि इरानले आफ्नो परमाणु कार्यक्रम रोकेका थिए। यसको बदलामा अमेरिकाले इरानमाथि लगाउँदै आएका आर्थिक प्रतिबन्ध खुकुलो पारेका थिए। यो सम्झौता राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्