गत संस्करणकै फाइनलको पुनरावृत्ति



काठमाडौं, (नेस)
शेरबहादुर खड्का स्मृति केएनपी चौथो राष्ट्रिय महिला भलिबलको उपाधिका लागि डिफेन्डिङ विजेता एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कवर्डहल त्रिपुरेश्वरमा सोमबार भएको पहिलो सेमिफाइनलमा एपीएफले न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हरायो । यी दुई टोली गत संस्करणको फाइनलिस्ट हुन् ।

कृपा अधिकारी नेपाली सेनामा अनुबन्ध भएपछि न्यु डायमन्डको प्रदर्शन खस्किएको देखियो । समूह ‘बी’मा नेपाल पुलिससँग पराजित हुँदै न्यु डायमन्ड समूह उपविजेतामा सीमित भएपछि एपीएफसँगको भेट सेमिफाइनलमै सम्भव भएको थियो ।

पहिलो सेट एपीएफले २५–१८ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा पुनरागमन गर्दै न्यु डायमन्डले २१–२५ ले आफ्नो पक्षमा पारेको थियो । तर, त्यसपछिका दुई सेट एपीएफले २५–१० र २५–२३ ले जितेर लगातार चौथोपटक फाइनलमा पुग्न सफल भयो । यसअघिका तीनै प्रतियोगितामा फाइनलमा पुगेको न्यु डायमन्ड भने यसपटक सेमिफाइनलबाट माथि जान सकेन ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पश्चिमाञ्चल भलिबल संघको टोलीविरुद्ध विभागीय टोली नेपाल पुलिस हाबी भयो । पुलिसले ३–० को सेटमा खेल जितेको हो । पश्चिमाञ्चलबिरुद्ध सहज जित हासिल गर्ने क्रममा पुलिसले २५–१९, २५–१५ र २५–२२ को नतिजा निकालेको थियो । प्रतियोगिताको उपाधि विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्