बराबरी खेलमा सिटीको खुसीयाली



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग च्याम्पियन बन्ने पक्का गरिसकेको म्यानचेस्टर सिटीले आइतबार लिगको ट्रफी उचालेको छ ।

इतिहादको घरेलु मैदानमा हडर्सफिल्ड टाउनसँग भएको खेल गोलरहित बराबरीमा टुंगिएपछि जारी सिजनको लिगको ट्रफी उठाएर सिटीले खुसी बाँडेको थियो । यो पेप गार्डिओलाको सिटीमा आबद्ध भएयता दोस्रो सिजनमा पहिलो लिग उपाधि थियो । उनले प्रिमियर लिगमा आउनुअघि बायर्न म्युनिखलाई सम्हालेका थिए ।

३६ खेलमा ९४ अंक जोडेको पेप ग्वार्डिओलाको टोलीले प्रिमियर लिगमा नयाँ इतिहास रच्न भने अर्को खेल कुर्नुपर्ने भएको छ । गोलरहित बराबरीमा रोकिएकाले सिटीले बढी गोल गर्ने नयाँ कीर्तिमान बनाउन सकेन ।

सिटीले अब बाँकी रहेका दुई खेलमा एक गोल मात्रै गरे पनि चेल्सीले २००९–१० सिजनमा राखेको सर्वाधिक १ सय ३ गोलको कीर्तिमानसँग बराबरी गर्नेछ । प्रिमियर लिगमा भएको सर्वाधिक गर्ने गोलको रेकर्ड तोडिने सम्भावना पनि बढी छ । टोलीले विपक्षीलाई १ सय २ गोल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्