सेमिफाइनल समीकरण पूरा



नेपाल समाचारपत्र
काठमाडौं
चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार भएको खेलमा जित हात पार्दै शिवम् न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल संघले अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो। पश्चिमाञ्चल समूह ‘ए’ र पुलिस समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। यसअघि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजेताका हैसियतमा सेमिफाइनलमा स्थान बनाएका थिए।

सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपीएफ र समूह ‘बी’ को उपविजेता न्यु डायमन्ड एकेडेमी तथा समूह ‘बी’को विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’ को उपविजेता पश्चिमाञ्चल भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनल खेल सोमबार हुनेछ।

आइतबार भएको पहिलो खेलमा शिवम् न्यु डायमन्ड एकेडेमीले कठिन जित निकाल्यो। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै न्यु डायमन्डले अन्तिम चारमा स्थान बनायो। न्यु डायमन्डले आर्मीलाई २५–१९, १९–२५, २५–१८, २२–२५ र १५–१० ले पाखा लगायो। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको अर्को खेलमा पश्चिमाञ्चल भलिबल संघले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो। एकपक्षीय खेलमा पश्चिमाञ्चलले २५–१३, २५–२० र २५–२० को जित निकाल्यो।

वैशाख २५ सम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता छ। लिगकम नटआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले एक लाख ५० हजार रूपियँँ पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रूपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले नगद १० हजार रूपियाँ पाउनेछन्। विधागत उत्कृष्ट हुने खेलाडीले जनही ५ हजार पुरस्कार पाउनेछन्। यसै गरी प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेर पनि उत्कृष्टभित्र पर्न नसकेका एक खेलाडीलाई नगद १० हजार रूपियाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्