उत्तर कोरियाले ३ अमेरिकी बन्दी छोड्ने संकेत आएको छ : ट्रम्प



सोल, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो भेटअगाडि प्योङयाङले बन्दी बनाइएका ३ अमेरिकी नागरिकलाई छोड्न सकिने संकेत दिएको बताएका छन्। केही महिनासम्म पनि असम्भव मानिएको अमेरिका–उत्तर कोरिया ऐतिहासिक वार्ता अब लगभग तय भएको अनुमान गरिएको छ।

वार्ता अघि बन्दी रिहाइको संकेत दिँदै डोनाल्ड ट्रम्पले भने– ‘हामी उत्तर कोरियासँग विस्तृत वार्ता गर्न गइरहेका छौं। यो वार्ताअगाडि नै उत्तर कोरियासँग हाम्रा बन्दी नागरिकको रिहाइका बारेमा केही प्रगति भएको छ। तपाई चाँडै नै राम्रो कुरा सुन्न पाउनुहुन्छ भन्ने मलाई लागेको छ। भेटवार्ताको समय र दिन तय भइसकेको छ। हामी चाँडै नै यसको घोषणा गर्दैछौं।’ तर राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा आफ्ना सैन्य उपस्थितिलाई कम गर्ने विषयमा आफूले कुनै नसोचेको बताए। पत्रकारले उनीसँग उत्तर कोरियासँगको हुने वार्ता टेबुलमा अमेरिकी सेनाको संख्या कटौती समावेश हुन्छ, भन्ने प्रश्न राखेका थिए।

उक्त प्रश्नको जवाफमा ट्रम्पले भने– ‘होइन, होइन, हामी त्यस्तो गर्दैनौं। मैले भन्नेपर्छ कि हो म भविष्यमा केही पैसा बचाउन चाहन्छु। तपाईलाई थाहा छ, त्यहाँ हाम्रा ३२ हजार सैनिक छन्। तर मेरो विचारमा धेरै जसो राम्रो कुरा हुन गइरहेको छ। तर एउटा कुरा प्रष्ट छ, सैनिकको संख्या वार्ताको हिस्सा हुने छैन।

टाइम जोन एउटै
यसबीच उत्तर कोरियाले अर्को सकारात्मक कदम उठाउँदै आफ्नो टाइम जोन दक्षिण कोरियासँग मिलाएको छ। अहिलेसम्म उत्तर कोरियाको समय दक्षिण कोरियाको समयभन्दा आधा घण्टा ढिलो थियो।
उत्तर कोरियाको सरकारी सन्चार माध्यमले यसलाई दुई देशको एकीकरण प्रक्रियाको पहिलो व्यवहारिक कदम बताएको छ।

प्रतिक्रिया दिनुहोस्