प्रारम्भको प्राथमिकता विद्यालय र शिक्षा, पुनर्निर्माणले पिस्करबासीको मन छोयो



भगवती तिमल्सिना

२०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भौतिक संरचना निर्माण दिनानुदिन सम्पन्न हुँदै गएका छन्। त्यस्तै सिंगापुर रेडक्रसको अनुदानमा प्रारम्भ नामक सामाजिक संस्थाले सिन्धुपाल्चोकको पिस्करमा सञ्चालन गरेको पुनर्निर्माण परियोजनाले ५ वटा विद्यालय र एउटा सामुदायिक भवनको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको छ।

तात्कालीन पिस्कर गाविसमा रहेका ५ सरकारी विद्यालय र १ सामुदायिक भवनको निर्माण गरिएको उक्त परियोजना प्रारम्भका सचिव एवं पत्रकार केदार कोइरालाले जानकारी दिनुभयो। २०७२ माघदेखि सञ्चालन गरेको पिस्कर पुनर्निर्माण परियोजना २०७३ माघमा निर्माण सम्पन्न भई प्रयोगमा आएको थियो।

सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना क्षत्री तथा वरिष्ठ कलाकार हरिवंश आचार्य एवं उहाँकी धर्मपत्नी रमिला आचार्यले नवनिर्मित भवनको यही वैशाख १६ गते उद्घाटन गरी औपचारिकरूपमा निर्माण सम्पन्न भएको घोषणा गर्नुभयो। उक्त अवसरमा प्रारम्भ संस्थाले पिस्करमा रहेका सबै विद्यालयका विद्यार्थीका लागि विद्यालय पोशाक, ब्याग, स्टेसनरी तथा फर्निचर सामग्रीसमेत प्रदान गरेको थियो।

भूकम्प गएलगत्तै स्थानीयको नजिक पुगेको प्रारम्भले उद्धार र राहतमा समेत ठूलो मद्दत गरेको स्थानीय बताउँछन्। खाद्यान्न र जस्तापाता वितरण गर्न पिस्कर पुगेको संस्थाको टोलीसँग आफ्ना दुखेसो पोख्दै सहयोग गर्न आग्रह गरेका स्थानीयले सिंगै गाउँमा शिक्षा र स्वास्थ्यको मन्दिर बनाउला भन्ने अपेक्षासमेत गरेका थिएनन्। त्यतिबेला आफ्ना घरबासको ठेगान नभएको अवस्थामा सार्वजनिक सरोकारका भौतिक संरचना निर्माणमा कसैको ध्यान नै पुगेको थिएन।

‘तत्कालको समस्या कसरी हल गर्ने, भूकम्प र त्यसका पराकम्पनबाट कसरी जोगिने तथा दैनिक जीवनयापन कसरी गर्ने भन्ने पिरलो थपिएका बेला आफ्नै जीवनसँग जुध्नु नै आफूहरूको बाध्यता थियो’, स्थानीय प्रकाश बोहोरा भन्नुहुन्छ– ‘त्यस्तो कहालीलाग्दो अवस्थामा गाउँभरिका सबै विद्यालयको पुनर्निर्माणको जिम्मा लिन्छु भनेर आएको संस्थालाई हामीले हृदयदेखि नै स्वागत गर्यौं।’

उहाँ थप्नुहुन्छ– ‘पराकम्पनले धाँजा फाटेर गाँउ नै विस्थापित हुने अवस्थामा हामीलाई माया गरेर पुनर्निर्माण अभियान सञ्चालन गरेको प्रारम्भ र सिंगापुर रेडक्रस पिस्करका बासिन्दाका लागि कसैले मेट्न नसक्ने अटल छाप बनेको छ।’

मंगलामाई माध्यमिक विद्यालयका तात्कालीन प्रधानाध्यापक शिवकुमार कार्कीको विशेष पहलमा पिस्कर पुगेको टोली दह्रो आत्मविश्वाससहित विद्यालय भवन बनाउन जुटे र यी विद्यालयहरू उदाहरणीय नतिजामा परिणत भएका छन्।

पूर्वप्रधानाध्यापक कार्कीका अनुसार नवनिर्मित विद्यालय भवनले पिस्करभरिका करिब ५ सय विद्यार्थी भाइबहिनी र तिनका अभिभावक एवं ३३ जना शिक्षक–शिक्षिका प्रत्यक्ष लाभान्वित भएका छन्। साथै पिस्करको माथिल्लो गाउँ जलजलेमा निर्मित सामुदायिक भवन करिब ३ हजार ५ सय स्थानीयले सामाजिक कार्यका लागि प्रयोग गर्न पाउने छन्। उक्त भवनमा नियमित खोप तथा स्वास्थ्य केन्द्र सञ्चालन गरिनेछ। पिस्करबासीका लागि यो उल्लेख्य उपलब्धि हो।

त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष भूपेन्द्रसिं श्रेष्ठले पिस्कर पुनर्निर्माण परियोजना सञ्चालन गरी स्थानीयलाई फराकिलो मानवीय सेवा गरेकामा सिंगापुर रेडक्रसको प्रशंसा गर्नुभयो। साथै उहाँले सिंगापुर रेडक्रसमार्फत त्यहाँका जनता र सरकारले गरेको सहयोगको हामी कहिल्यै बिर्सिने छैनौं र निरन्तर सहयोगको अपेक्षा गर्दछौं भन्दै स्थानीय सरकार प्रमुखको हैसियतले पिस्करबासीको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।

प्रारम्भले दोस्रो परियोजनाअन्तर्गत सिंगापुर रेडक्रसको सहयोगमा ललितपुर र काभ्रेका भूकम्प प्रभावित १ पुस्तकालय र २ विद्यालय पुनर्निर्माण गरिरहेको छ।

सिंगापुर रेडक्रसले सिंगारिएको पिस्कर
भूकम्पलगत्तै पिस्कर पुगेको सिंगापुर रेडक्रसका निशानी अझै मेटिएका छैनन्। खाद्यान्न, लत्ताकपडा, औषधि र दैनिक जीवनयापनका एकसरो सामान बोकेर पिस्कर छिरेको सिंगापुर रेडक्रस प्रारम्भको साथ लिएर करिब ३ वर्ष सिन्धुपाल्चोकमै रम्यो।


आफ्नो लोगो र होलोग्राम टाँसिएको जस्तापाता वितरण गर्न गएको रेडक्रसको सहयोगी मनलाई पिस्करले जसरी तान्यो, पिस्कर पुनर्निर्माण परियोजना सम्पन्न गरी फर्किंदासम्म सारा स्थानीय र सरोकारवालाको मन–मनमा बस्न सफल भएको छ। स्थानीय संघ–संस्थामार्फत विभिन्न जिल्ला पुगेझैं प्रारम्भको पथ प्रदर्शनमा सिंगापुर रेडक्रस सिन्धुपाल्चोक प्रवेश गरेको थियो।

नेपाल प्रतिनिधि एवं प्रारम्भका अध्यक्ष कल्पना क्षत्रीको परोपकारी हृदयको सपना साकार पार्न प्रतिबद्ध भएको सिंगापुर रेडक्रसले दिएको वचनअनुसार विद्यालय भवन मात्रै बनाएन। स्थानीय माग र आवश्यतालाई ख्याल गरी सबै विद्यालयमा विद्युतीय सामग्री जडान गरिदियो, फर्निचर सामग्रीको प्रबन्ध गरिदियो र विद्यार्थीका लागि पोशाक, झोला र स्टेसनरी सामग्रीसमेत उपलब्ध गराइदियो।

नवनिर्मित भवन उद्घाटनका लागि प्रमुख अतिथि भएर यात्रा गर्ने क्रममा काठमाडौंबाट ६ घण्टामा सबै क्रियाकलापबारे थाहा पाएपछि वरिष्ठ कलाकार हरिवंश आचार्यले भन्नुभयो– ‘सिंगापुर रेडक्रसले सिन्धुपाल्चोकको पिस्करलाई सिंगारिदिएछ। पुनर्निमाणले सज्जित विद्यालय भवनको उद्घाटन र परियोजना समापनको अवसरमा पिस्करमा पाइला राख्न पाएकामा आफूलाई भाग्यमानी ठानेको छु।’ अचार्यले पिस्कर र यहाँको घटनाका बारेमा आफूलाई जानकारी भएको तर भौगोलिक अवस्थाबारे थाहा नभएकाले यथार्थ वस्तुस्थिति थाहा पाउन आफ्नी श्रीमती रमिला आचार्यका साथ पिस्कर आएको बताउनुभयो।

राजनीतिक चेतना भए पनि ठाउँ विकट छ, जनजीवन कठिन छ भन्ने सुनेकाले भूकम्पले ध्वस्त भएको पूर्वानुमान गरिएको थियो तर सिंगापुर रेडक्रसले शिक्षाको मन्दिरको पुनर्निर्माण गरी गाउँ नै चटक्क सिंगारिदिएछ भनी खुसी व्यक्त गर्नुभयो। त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करका वडा अध्यक्ष टोटोलो थामीले आपत्का बेला सिंगापुर रेडक्रस नै पहिलो सहयोगी संस्थाका रूपमा आएकाले आफूहरूले कहिल्यै नभुल्ने बताउनुभयो।

सिंगापुर रेडक्रस सोसाइटिका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत वेन्जामिन विलियमका अनुसार ३ वर्ष पहिले नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पुगेका ठाउँहरू नेपालका २० भन्दा बढी स्थानीय संघ–संस्थामार्फत ४३ सामुदायिक संरचना निर्माण सम्पन्न गरिसकेको छ भने अन्य परियोजना निर्माणाधीन छन्। महासचिव विलियम भन्नुहुन्छ– ‘नेपाल सरकारलाई पुनर्निर्माणको महाअभियानमा मद्दत पुगोस् भन्ने उद्देश्यले शुरू गरिएका परियोजनाबाट प्राप्त उपलब्धिका लागि स्थानीय साझेदार संस्थासँग आभारी छु।’ अति विकट मानिएकामध्ये प्रारम्भले छानेको पिस्करमा प्रोजेक्ट सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गर्नु आफैंमा चुनौती थियो। तर, प्रारम्भको टिमले त्यसलाई सफल बनाई त्यहाँका जनतालाई खुसी दिलाएकामा हामी अत्यन्तै हर्षित छौं।

चारैतिरको भित्ता हेर्दा पहिरो नै पहिरो र बीचमा ठूलो खोला उच्च भू–भागमा रहेको पत्रेढुंगालाई पाउ र शीर बनाएको पिस्करमा निकै कठिन यात्रा गरी पुग्नुभएकी सिंगापुर रेडक्रसकी अन्तर्राष्ट्रिय सेवा प्रमुख केरिस चान भन्नुहुन्छ– ‘निकै ठूलो चुनौती मोलेर प्रारम्भले पिस्कर छान्यो। अन्य दाता पुग्न नसकेको ठाउँमा उपस्थित भई सेवा गरेको छ। हामी त सहयोगी हांै आर्थिक मद्दत गर्यौं तर त्यसको व्यवस्थापकीय जिम्मेवारी निकै कठिन थियो। प्रारम्भ र स्थानीयको प्रयासमा यो सफल भएको छ। नेपालमा भएका सबै परियोजना सञ्चालन र समापन आफैंमा कठिन हँुदाहुँदै पनि क्रमशः सम्पन्न भइरहेका छन्। हामीले पनि सिंगापुर रेडक्रस स्थानीय साझेदारसँग प्रत्यक्ष सम्झौता गरी काम गरेका थियौं। नेपालमा ठूलो रकमको पहिलो अभ्यास गर्दा हामीले पनि जोखिम मोलेरै काम शुरू गरे पनि अहिले पाएको उपलब्धिले हामी पनि प्रसन्न छौं।’

मेरो पत्रकारिता र पिस्कर पुनर्निर्माण

 

बद्रीराज तिमल्सिना
प्रोजेक्ट डाइरेक्टर
पिस्कर पुनर्निर्माण परियोजना, सिन्धुपाल्चोक

म आमसञ्चार र पत्रकारिताको विद्यार्थी। डेढ दशकदेखि गरिरहेको पत्रकारिता र परोपकारिता नै मेरो अमूल्य कमाइ हो भन्ने ठानेको छु। अहिलेसम्मको पेसागत एवं सामाजिक अनुभव नै मेरो निजी सम्पत्ति हो। त्यही अनुभव र सिकाइ भोगाइको माध्यमबाट मैले सेवामूलक कार्य गरिरहेको छु। झण्डै डेढ दशकको यो सामाजिक यात्रामा अक्सर गरेर ग्रामीण भेगमा अनेकन भौतिक संरचना निर्माण गरियो।

हामीले व्यक्तिगत तथा संस्थागत पहलमा देश–विदेशमा रहेका नेपाली तथा गैरआवासीय नेपालीको सरसहयोगमा विद्यालय भवन, पुस्तकालय, शौचालय, सामुदायिक भवन, स्वास्थ्यचौकी, तालिम केन्द्र, प्रतीक्षालय, खेलकुद मैदान निर्माण कार्य गरिरहेका थियौं।

समाचार संकलनका क्रममा चिने–जानेका र जोडिएका सम्बन्धलाई परोपकारी कार्यमा समेट्न गरिएका ती थुप्रै प्रयासले सफलता हाँसिल गरेका छन्। तालिम, गोष्ठी, सभा, सेमिनार, स्वास्थ्य शिविर, रक्तदान, खेल प्रतियोगितालगायतका काममा समेत हामीले सहयोग गरिरहेका थियौं। यी सबै क्रियाकलाप र प्राप्त उपलब्धिले म र मेरो समूहलाई एक प्रकारको अत्मविश्वास र सामाजिक कार्यमा ऊर्जा थपिइरहेको थियो।

यसरी कल्याणकारी काममा उत्साहित भई पत्रकारितामार्फत पेसागत सञ्चारकर्मीहरूको हक–हित र संरक्षणका लागि अनवरतरूपमा सक्रिय हुँदै कलममार्फत आवाज विहीनहरूको आवाज समेटिरहेको थिएँ। २०७२ को भूकम्पपछि सामाजिक क्रियाकलापले एकाएक गति लियो। धेरै जन–धनको क्षति हुने गरी आएको भूकम्पपश्चात् तत्काल उद्धार र राहतको शिलशिलामा थुप्रै जिल्ला र गाउँमा चहार्दै जस्तापाता वितरणका लागि सिन्धुपाल्चोकको पिस्कर पुगियो।

तत्कालीन पिस्कर गाविस ऐतिहासिक राजनीतिक पृष्ठभूमि बोकेको ठाउँ रहेछ भन्ने त्यहाँ पुगेपछि थाहा भयो। २०४० सालको माघेसंक्रान्तिका दिन पिस्करमा आयोजित सांस्कृतिक कार्यक्रममा राज्य पक्षद्वारा आक्रमण गरी स्थानीयको हत्या भएको भनी चिनिँदो रहेछ। यो ठाउँ नेपाली राजनीतिक वृत्तमा पिस्कर हत्याकाण्डले चिनिँदो रहेछ। क्षतविक्षत पिस्करको अवस्था देखेपछि केही सहयोग गर्ने विचार आयो। त्यतिबेला राहत वितरणको नेतृत्व सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना क्षत्रीले गरिरहनुभएको थियो।

उहाँले तत्कालै आफ्नो टिममा कुरा राख्दा सकारात्मक धारणा पाएपछि पिस्करका सबै विद्यालय निर्माण गर्ने प्रतिबद्धता गरी हामी राजधानी फर्कियौं। राजनीतिक परिवर्तनका लागि समेत योगदान दिएको ठाउँ भूकम्पले पूर्णरूपमा क्षति भई स्थानीय प्रशासन र नेपाली सेनाले गाउँ नै स्थानान्तरण गर्न सुझाव दिएका थिए रे। तर, नेपाली सेनाबाहेक उद्धार, राहत र पुनर्निर्माणमा कसैको पनि चासो र सरोकार नरहेको यस ठाउँमा जस्तापाता, खाद्यान्न, औषधि र लत्ताकपडा वितरण गरी पिस्करका सबै सरकारी विद्यालय र सामुदायिक भवन निर्माण गर्ने समाचारले गाउँबासी प्रफुल्लित भएछन्।

एकैपटक एउटै संस्थाले सबै संरचना निर्माण गर्ने प्रतिबद्धताले स्थानीय प्रशासन, सरोकारवाला निकाय, राजनीतिक दल, शिक्षक शिक्षिका, विद्यार्थी एवं अभिभावहरूमा खुसी ल्यायो तर काम भने निकै चुनौतीपूर्ण थियो। आफू बस्ने घर भत्किएर त्रिपालको समेत व्यवस्था गर्न नपाएका स्थानीयका लागि यो प्रतिबद्धता भूकम्पको त्रास मेट्ने अचुक औषधि बन्यो। त्यति नै बेला स्थानीय बासिन्दाले प्रतिबद्धता गर्न थाले– ‘हामी हाम्रो निजी घरभन्दा पहिले आफ्ना बालबच्चा पढाउने विद्यालय बनेको हेर्न चाहन्छौं।’

उनीहरूको एउटै चाहना थियो सन्तानलाई दिनमा विद्यालयमै व्यस्त गराउन सकियो भने भत्किएको घर र बिहान बेलुकाको राशनपानीको व्यवस्थापन गर्ने समय मिल्थ्यो।

त्यही चिन्ता दूर गर्न हामी पनि कस्सिएर लागेका थियौं र औपचारिक घोषणा गरी सम्बन्धित विद्यालय र समुदायसँग सम्झौता गरियो। सरकारले तोकेको मापदण्डअनुसारको प्राविधिक अध्ययन गर्न थुप्रै टोली पिस्कर पठायो तर जो–जति पिस्कर पुगे उनीहरू सम्पर्कमै आएनन्। आवत–जावत गर्न कठिन, भौगोलिक विकटता, निरन्तरको पराकम्पनले थपिदिएको त्रासले गर्दा कोही कसैले पनि हामीसँग मिलेर काम गर्न चाहेनन्।

नापनक्सा र डिजाइनमा महिनांैसम्म कुर्नुपर्यो। यो बीचमा निकै समस्या आइपरे। अन्य संघ–संस्थाको आवत–जावत र सहयोगबाट प्रभावित भई हामीसँग केही व्यक्तिले व्यक्तिगत फाइदाका लागि दुःख दिन थाले। पूर्ववत सर्तअनुसार स्थानीयले ४० प्रतिशत जनश्रमदान गर्न मानेनन्। विद्यार्थीका लागि भन्दा पनि अन्य फाइदा खोज्न थाले। देशमा नाकाबन्दीले हरेक सामान, ढुवानी र आवात–जावत निकै महँगो भइरहेको थियो। भौगोलिक विकटताले समेत पिस्कर पुनर्निर्माण परियोजना सम्पन्न गर्नु निकै ठूलो चुनौती बनेर देखा पर्यो।

त्यतिबेला के विश्वास थियो भने पत्रकारितामार्फत सिकेको सीप, चिनेजानेको नेटवर्क र सम्बन्धले काम अघि बढाउन मद्दत गर्छ। तर, सोचेजस्तो सहज भएन। पिस्कर परियोजना सम्पन्न गर्न यस्ता कैयन असहजतासँग जुध्नुपर्यो।

सरकारी निकायबाट भएको ढिलासुस्ती र असहयोगका कारण परियोजनाका लागि अनुमान गरिएको भन्दा बजेट बढ्दै गयो। हामीलाई अध्ययन, अनुगमन र प्राविधिक निरीक्षणमा जानेले गरेको हतोत्साहित व्यवहारले परियोजना नै छाडिदिने सोचमा पुगिसकेका थियौं। तर, हरेक पटक पिस्कर जाँदा खुला चौरमा पढिरहेका स–साना भाइबहिनीहरूलाई देखेर हाम्रो आँखा रसाउँथे।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा सेवामूलक काम गर्न भनी अमेरिकाको सुखशयल र आनन्दित जीवन त्यागेर नेपाल फर्किनुभएकी सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना क्षत्रीको अदम्य साहसले मात्र यो परियोजना सम्पन्न भएको हो। परियोजना निर्देशकको हैसियतले धेरै समस्या झेल्दै गर्दा उहाँको सल्लाह र सहयोगले परियोजनालाई सफलतापूर्वक समापन गर्न सफल भयांै। प्रोजेक्ट बन्द गर्ने सोच बन्दासमेत उहाँले त्यसो गर्न दिनुभएन। त्यतिबेला प्रारम्भ र सिंगापुर रेडक्रसले बालबच्चाको खुसीलाई आफ्नो मूल खुसी र उद्देश्य मानेको थियो। प्रारम्भ अध्यक्षसमेत रहनुभएकी क्षत्रीकै दृढताका कारण परियोजना सफलतापूर्वक सम्पन्न भयो।

पिस्करमा रहेका सबै सरकारी विद्यालय र सामुदायिक भवन एकै ढाँचामा तयार भए। आज सबै विद्यालयमा विद्यार्थी निर्धक्कसँग पढिरहेका छन्। स्वास्थ्य केन्द्रको रूपमा समेत सञ्चालन गर्ने गरी बनाइएको सामुदायिक भवन देखेर स्थानीय खुसी र दंग छन्।

संरचना तयार भएपछि स्थानीयहरूबाट विगतमा भए गरेका गल्ती कमजोरीको आत्मालोचना गर्दै स्याबासी र धन्यवाद दिइरहेका छन्। हामीले पिस्करबाट खोजेको पनि त्यति हो। पिस्करबासीको माया र सदासयता पाएका छौं। हाम्रो मद्दतले खास गरी भोलिका कर्णधारले सहज ढंगबाट अध्ययन गरिरहेका छन् भने शिक्षक शिक्षिकालाई समेत सुविधा मिलेको छ। २०७२ माघ १३ गते शिलान्याश गरी शुभारम्भ गरेको परियोजनामार्फत बनेका सबै विद्यालय भवनहरू २०७३ माघदेखि प्रयोगमा आएका थिए। २०७५ वैशाख १६ गते वरिष्ठ कलाकार आचार्यद्वारा औपचारिक उद्घाटन गरी पिस्कर पुनर्निर्माण परियोजनाको समापन भइसकेको छ। दातृ निकाय, सहयोगी संघ–संस्था एवं कार्यालय, प्रेसका साथीहरू, स्थानीय नागरिक तथा शुभेच्छुक सबै धन्यवादका पात्र बनेका छन्।

प्रतिक्रिया दिनुहोस्