आइपीएलः नेपाली हिरो सन्दीपको खेल्ने पालो कहिले ?



नेपाल समाचारपत्र, काठमाडौं
दिल्ली डेयरडेविल्सले आईपीएलको जारी सिजनका लागि भएको खेलाडी लिलामी सन्दीप लामिछानेलाई किनेको थियो । भारु २० लाख यानि ३२ लाख नेपाली रुपियाँ उनले प्राप्त गरेका थिए । सन्दीप नेपालका युवा र उत्कृष्ट स्पिनर हुन् । उनलाई आईपीएलमा खेलेको हेर्न नेपाली क्रिकेट प्रेमीहरुले प्रतिक्षा गरिरहेका छन् । सन्दीप आफै पनि आईपीएलमा डेब्यु गर्न पर्खिरहेका छन् । तर पालो भने अझै आएको छैन । दिल्ली डेयरडेविल्सको १० औं चरणको खेल समाप्त हुँदा पनि उनलाई टोलीबाट खेलाएको छैन ।

दिल्ली डेयरडेविल्स १० खेलमा ३ खेल जितेर ६ अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा रहेको छ । शनिबार राति भएको खेलमा पनि दिल्ली डेयरडेविल्सले पराजय बेहोरेको थियो । सनराइजर्स हैदराबादले दिल्ली डेयरडेविल्सलाई सहजै ढंगले ७ विकेटले हराएको थियो । हैदराबाद यो जितसँगै १४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । जबकी त्यति नै अंक जोडेको रोयल च्यालेन्जर्स बैंगलोर दोस्रो स्थानमा रहेको छ ।

दिल्ली डेयरडेविल्सलाई पहिला गौतम गम्भीरले कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा लगातार हार आत्मसात गरेपछि उनले कप्तानी छाडेका थिए । यसपछि युवा भारतीय क्रिकेटर श्रेयस अय्यरले टोली सम्हालेका छन् । टोली अहिले प्लेअफमा स्थान बनाउन संघर्ष गरिरहेको छ । यसका लागि बाँकी चार खेल नै जित्नु पर्ने चर्को दवाव पनि टोलीमाथि बनेको छ ।

टोलीका स्पिनर अमित मिश्राले लगातार टोलीमा आफनो उपस्थित बनाइरहेकोले पनि सन्दीपले मौका पाउन सकेका छैनन् । मिश्राले बलिङमा विकेट दिलाइरहेका छन् । पहिलो खेलमा मात्रै मिश्राको बलिङ नराम्रो भएको थियो ।

यसपछि उनलाई विश्राम दिए तर सन्दीपलाई उनको स्थानमा खेलाएको थिएन । पछि फेरि अमितलाई टोलीमा फर्काएपछि लगातार उनले खेलिरहेका छन् । अब चार खेल बाँकी छ सन्दीपको प्रतिक्षा कतिखेर सकिन्छ भन्न सकिँदैन ।

यसअघि पनि आईपीएलमा खेल्दै नखेली घर फर्केका खेलाडीहरु पनि छन् । गत संस्करणको आईपीएलमा संयुक्त अरब इमिरेट्सका चिराग सुरी बेन्च मै बसेर आफ्नो देस फर्केका थिए । २२ वर्षीय ब्याटसम्यानलाई गुजरात लायन्सले १० लाख भारुमा किनेको थियो ।

चिराग आईपीएलमा आबद्ध हुने पहिलो अरब राष्ट्रका पहिलो क्रिकेट समेत बनेका थिए । भारतीय कप्तान विराट कोहलीको ब्याटिङ शैली अपनाउने यी खेलाडीलाई यसपटकको अक्सनको सूचीमा राखेको थिएन ।

प्रतिक्रिया दिनुहोस्