एन्फा अध्यक्षमा शेर्पा अत्यधिक मतले विजयी, निर्वाचित सदस्य शेर्पा प्यानलकै



नेपाल समाचारपत्र
काठमाडौं
शनिबार भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभाले कर्मा छिरिङ शेर्पालाई अत्यधिक बहुमतले एन्फाको अध्यक्ष पदमा निर्वाचित गरेको छ।

अघिल्लो दिन शेर्पाका प्रतिद्वन्द्वी मणि कुँवरले निर्वाचनको मिति विधि विधानअनुसार नतोकिएको भन्दै निर्वाचन बहिष्कार गर्ने घोषित गरेसँगै शेर्पा अध्यक्ष पदमा एक्लो उम्मेदवार रहेका हुन्। ७६ मत खसेकोमा ६३ मत प्राप्त गरेर उनी आगामी चार वर्षको कार्यकालका लागि चुनिएका छन्। एन्फाको १५ जना केन्द्रीय सदस्यमा समेत शेर्पाको प्यानलले क्लिन स्विप ग¥यो। जम्मा १७ केन्द्रीय सदस्य निर्वाचित हुनेमा पेमा लामा पहिल्यै महिला सदस्यका रूपमा निर्विरोध निर्वाचित भएकी थिइन्। सरसर्ती हेर्दा एन्फामा शेर्पा युगको थालनी हुने भएको छ।

ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न १५औं एन्फा कंग्रेसमा उपाध्यक्ष पदका लागि पंकज नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्ण थापा र वीरबहादुर खड्का विजयी भएका छन्। पंकजले ६१, उपेन्द्रले ५८, कृष्णले ५२ र वीरबहादुरले ३९ मत प्राप्त गरेका थिए। यी विजयी उम्मेदवारका प्रतिद्वन्द्वीहरू विराटजंग शाहीले ३३, सुनील शमशेर राणाले २४, मोहम्मद समिउल्लाहले १५ र गणेशबहादुर चन्दले ५ मत हासिल गरेर हारेका थिए। गणेशले उम्मेदवारी फिर्ता लिएका थिए भने अर्का उम्मेदवारी छाडेका किशोर राईले मत प्राप्त गरेनन्।


११ सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएकोमा सबै जना शेर्पा प्यानलकै उम्मेदवारहरूले अत्यधिक मत हासिल गरेर जित दर्ता गरेका थिए। दावा लामाले सर्वाधिक ५६ मत ल्याएका थिए। यस्तै पूर्णमान चित्रकार, दिनेश व्यञ्जनकार र दीर्घबहादुर केसीले ५५÷५५ मत प्राप्त गरे। विजय घलेले ५३, निरोज खडगीले ५२ र किरण राईले ५० मत ल्याए। यसैगरी समान ४८ मत ल्याएर सदस्य पदमा निर्वाचित हुनेहरूमा मधुसूदन उपाध्याय, प्रदेश सिंह राठौर र रत्नकुमार श्रेष्ठ रहेका छन्। जबकि रवीन्द्रमान श्रेष्ठले ४२ मत प्राप्त गरेका थिए। शेर्पाले जितपछि नेपाल समाचारपत्रलाई बताए– ‘मैले पहिल्यै नै भने नि हामी दुई तिहाइ मतले जित्नेछौ भनेर। हाम्रो कार्यकालमा फुटबल जोगाउन नै प्राथमिकता दिइनेछौं। अब फुटबलमा नयाँ युग शुरुआत हुनेछ।’

गतवर्ष पूर्वअध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचार गरेको भन्दै १० वर्ष प्रतिबन्ध लगाएपछि केही समय अवधि बाँकी भएकोमा निर्वाचन हुँदा शेर्पा पराजित भएका थिए। उनलाई निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले कम मतअन्तरले हराएका थिए। यसपटक भने शेर्पालाई जिल्ला फुटबल संघ र क्लबहरूले सहयोग गरेपछि एन्फा अध्यक्ष पदमा जित्न कसरत गर्नुपरेन। उनका प्रतिद्वन्द्वीसमेतले साधारणसभा बहिष्कार गरिदिएपछि शनिबारको निर्वाचन उनका लागि औपचारिकता मात्रै भएको थियो।

शेर्पाले पूर्वअध्यक्ष गणेश थापासँग २०७० सालमा उपाध्यक्षका रूपमा काम गरेका थिए। पछि उनीहरूबीच आर्थिक पारदर्शिता नभएको र एन्फाले आफ्नै ढंगले काम गरेको भन्दै मनमुटाव भएको थियो। ‘ए’ डिभिजन क्लब हिर्मालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका शेर्पाले थापाविरुद्ध विरोध गरेर एन्फाको बैठकहरूमा अनुपस्थित भएका थिए। पछि थापा फिफाको कारबाहीमा परेपछि शेर्पाले २०७३ सालमा अध्यक्ष पदमा उम्मेदवारी दिए पनि उनलाई जित हात परेन। त्यतिबेला उनका प्यानलका उम्मेदवारहरूले उल्लेखनीय मत पनि ल्याउन सकेका थिएनन्। श्रेष्ठ अध्यक्षमा र मणि कुँवर वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि पूर्वअध्यक्ष थापाको अस्तित्व बाँकी रहेको सो निर्वाचनले देखाएको थियो। तर यसपटक शेर्पा समूहका उम्मेदवार विजय भएसँगै एन्फामा २३ वर्षपछि थापायुगको अन्त्यसमेत भएको छ।

प्रतिक्रिया दिनुहोस्