चेन्नईले बैंगलोरलाई हरायो



पुणे, (एजेन्सी)
रोयल च्यालेन्जर्स बैंगलोरले दिएको केबल १ सय २८ रनको लक्ष्य भेटाएर चेन्नई सुपर किंग्स जारी आईपीएल–११ को शीर्ष स्थानमा उक्लेको छ।

शनिबार महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा खेलिएको खेलमा चेन्नई ६ विकेटले जितेर १४ अंकसहित शीर्ष स्थानमा आएको हो। आईपीएलको ३५औं खेलअन्तर्गत पहिलो ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो। सो मध्यम लक्ष्य महेन्द्र सिंह धोनीको टोलीले ४ विकेट गुमाएर १८ ओभरमा प्राप्त गरेको थियो। यो हारपछि बैंगलोर ६ अंकका साथ छैटौं स्थानमा रहेको छ।

चेन्नईको पहिलो विकेट शेन वाटसन (११ रन)को रूपमा गुमेको थियो। उनलाई उमेश यादवले क्लिन बोल्ड गरेका थिए। त्यस्तै सुरेश रैना २१ बलमा २५ रन जोडेर उमेशकै बलमा क्याच आउट भएका थिए। यसपछि अम्बाती रायडुले ३२ रनको योगदान दिएका थिए। कप्तान धोनीले फेरि एकपटक नटआउट हुँदै ३१ रन जोडेर टोलीलाई जित दिलाए। ड्वायन ब्राभो १४ रनमा नटआउट रहेका थिए। बैंगलोरका बलरमा उमेशले दुई विकेट लिएका थिए।

यसअघि बैंगलोरका लागि पहिलोपटक खेल्न आएका पार्थिव पटेलले अर्धशतक बनाएका थिए। ब्रेन्डन म्याककुलुम, कप्तान विराट कोहली, एबी डिविलियर्स सस्तैमा पवेलियन फर्केको स्थितिमा पटेलले ५३ रन जोडेर टोलीलाई सम्मानजनक स्कोरमा पु¥याएका थिए। उनीपछि टिम साउदीले २६ बलमा ३६ रनको आकर्षक इनिङ खेलेका थिए। चेन्नईका तर्फबाट रवीन्द्र जडेजाले ३ र हरभजन सिंहले दुई विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्