“ट्रम्प दक्षिण कोरियाबाट फौज फर्काउने कसरतमा”



वासिङटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ अमेरिकी फौजको संख्या कटौती गर्ने योजना पस गर्न रक्षा विभागलाई आदेश दिएको बिहीबार दि न्युयोर्क टाइम्सले जनाएको छ। राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेटवार्ता गुर्न केही साताअघि अमेरिकाले यो कदम चाल्न लागेको हो।

केही दिनअघि मात्र उत्तर र दक्षिण कोरियाबीच सीमानाको असैनक क्षेत्रमा ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो। अज्ञात सूत्रलाई हवाला दिँदै टाइम्सले दक्षिण कोरियामा ठूलो संख्यामा फौज तैनाथ गर्नुको कारण थुप्रै खर्च बढेको र उत्तर कोरिया पनि यसैको कारण विवादास्पद आणविक कार्यक्रममा लागिपरेको महसुस गर्दै ट्रम्प फौजको आकार घटाउन दृढ रहेको जनाएको छ।

तर ट्रम्पले सम्पूर्ण फौज नै फिर्ता लाने हो कि भन्ने अनुमान अस्वाभाविक रहेको पनि उल्लेख गरिएको छ। सन् १९५३ मा कोरियाली युद्ध रोकिएपछि भएको सुरक्षा समझौताअन्तर्गत दक्षिण कोरियामा अमेरिकी फौज राख्न थालिएको हो भने हाल यसको संख्या २८ हजार ५ सय रहेको छ।

जसबापत अमेरिकाको वार्षिक ८९ करोड अमेरिकी डलर खर्च हुने गरेको छ। यसै वर्षको उत्तरार्धमा अमेरिकाको दक्षिण कोरियासँगको फौज तैनाथी सम्झौताको म्याद सकिन लागेको छ। तर शुक्रबार दक्षिण कोरियाले अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो राष्ट्रिय सुरक्षा प्रमुख चुँग एयुइ योङलाई उक्त खबर झुठो भएको बताउँदै टाइम्सको भनाइको खण्डन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्