उत्तरले दक्षिण कोरियासँग मिलायो



सोल, (एजेन्सी)
हालै दक्षिण कोरियामा सम्पन्न उत्तर तथा दक्षिण कोरियाबीचको ऐतिहासिक शिखर वार्ताको दौरान उत्तरका सर्वोच्च नेताले दिएको वचनबमोजिम शनिबार उत्तर कोरियाले आफ्नो समय दक्षिण कोरियासँग मिलाएको छ। यसअघि उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा ढिला थियो।

उत्तर कोरियाको सरकारी समाचार निकाय केसीएनले दक्षिण कोरियासँगको टाइम जोनसँग उत्तर कोरियाको टाइम जोन समान बनाइएको आधिकारिक जानकारी दिएको हो। शिखर वार्ताका दौरान किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन कोरियाली युद्धलाई औपचारिकरूपमा अन्त्य र कोरियाली प्रायद्विपलाई आणविक हातहतियारमुक्त गर्ने विषयमा सहमति भएको थियो। सो शिखर वार्ताको संयुक्त घोषणापत्रको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्तर्राष्ट्रिय जगतले स्वागत गरेका थिए।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले भनेको छ– ‘ऐतिहासिक उत्तर–दक्षिण शिखर बैठकपछि टाइम जोन मिलाउनु पहिलो व्यावहारिक कदम हो, यसले उत्तर एवं दक्षिण कोरियालाई एक बनाउने प्रक्रियालाई तीव्रता दिन सकोस्।’ सन् २०१५ देखि उत्तर र दक्षिण कोरियाको टाइम जोन अलग–अलग भएको थियो। त्यस समय उत्तर कोरियाले आफ्नो मानक समयलाई दक्षिण कोरियाको भन्दा ३० मिनेट ढिलो गरेको थियो। कोरियाली शिखर वार्ताअघि किमले उत्तरको गठबन्धन मुलुक चीनको गोप्य भ्रमण गरेका थिए।

उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग भेटवार्ता गर्न गत २७ अप्रिलमा दक्षिण कोरिया पुगेका थिए। सन् १९५३ मा कोरियाली युद्धपछि कुनै पनि उत्तर कोरियाको नेताले दक्षिण कोरियामा पाइला टेकेको यो पहिलो पटक हो। युद्धपछि कोरिया उत्तर र दक्षिण कोरियाका रूपमा विभाजित भएको थियो। निकट भविष्यमा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि भेट्ने कार्यक्रम रहेको छ।

केही समय अघिसम्म मात्र उत्तर कोरियाले गर्ने गरेका आणविक र क्षेप्यास्त्र परीक्षणका कारण तेस्रो विश्वयुद्ध हुन सक्ने हल्ला फैलिएको थियो। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा लगाइएको नाकाबन्दीलाई अटेर गर्दै उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम अघि बढाउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्