कार्ल माक्र्सको प्रतिमा विवादास्पद



वर्लिन, (एजेन्सी)
चीनले उपहारस्वरूप पठाएको कार्ल माक्र्सको प्रतिमा जर्मनीहरूमाझ नै विवादास्पद बनेको छ। माक्र्सको २००औं जन्मजयन्तीको उपलक्ष्यमा उनकै जन्मस्थान ट्रियर शहरमा यस प्रतिमाको अनावरण गर्ने तयारी भइरहेका बेला विवाद निस्केको हो।

कम्युनिस्ट घोषणपत्रका सहलेखक माक्र्सले सम्पूर्ण मानव इतिहास वर्ग संघर्षमा आधारित रहेको बताएका छन्। उनको कृति अझै पनि युरोपमा विवादास्पद रहेको छ। तर चीनले भने आफ्नो केन्द्रीय शासन प्रणालीमा समेत यसको प्रयोग गरेको छ।

शनिबार ट्रियरमा यस प्रतिमाको विषयलाई लिएर ¥यालीकको आयोजना गर्ने कार्यक्रम रहेकाले स्थानीय अधिकारीले विपक्षी राजनीतिक समूहलाई शान्त रहन अपिल गरेका छन्।

डीपीए समाचार निकायले कम्युनिस्ट र पुँजीवादीविरुद्ध ¥यालीलगायत चीनमा प्रतिबन्धित फालुन गोंग आन्दोलनप्रति ऐक्यबद्धता जनाएर पनि प्रदर्शन गरिने कार्यक्रम घोषणा भएको थियो। ट्रियरका प्रवक्ता माइकल स्किमित्जले चाहेको खण्डमा माक्र्सविरुद्ध पनि प्रदर्शन गर्न सकिने तर सो कार्य हिंसात्मक र विनाशकारी हुनु नहुने डीपीएलाई बताएका छन्।

कम्युनिस्ट शासन प्रणाली लागू भएको तत्कालीन सोभियत संघ र चीनमा मानवअधिकार उल्लंघन हुने गरेको आरोप लगाइने गरिन्छ। सन् १९४९ देखि सन् १९९० मा पूर्व र पश्चिम जर्मनी एकीकरण हुनुअघिसम्म पूर्वी जर्मनी सोभियत संघको उपनिवेशका रूपमा रहेको थियो।

त्यसबेला पूर्वी जर्मनी पश्चिमको तुलनामा निकै गरिब रहेको थियो। सन् १८८३ मा निधन भएका कार्ल माक्र्सलाई बेलायतको राजधानी लन्डनको हाइगेट चिहानमा समाधिस्थ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्