द भ्वाइस १ करोडमा



विश्वका १ सय ९१ राष्ट्रमा लोकप्रिय सिंगिङ रियालिटी सो द भ्वाइसको नेपालमा डिजिटल अडिसन सकिएको छ।
कार्यक्रमको स्थानीय आयोजक एएनसी इभेन्ट म्यानेजमेन्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनका क्रममा अब ब्लाइन्ड अडिसन हुने र सो अडिसनमा समावेश हुन सफल प्रतिस्पर्धीहरूको जीवनीबारेमा श्रव्य दृश्य सामग्री निर्माण गरिनुका साथै प्रत्यक्ष भेटेर आवाज सुन्न एउटा टोली पूर्व दौडाहामा रहेको जानकारी दिइएको छ।

ब्लाइन्ड अडिसनमा सहभागी हुन सफल प्रतिस्पर्धीलाई प्रतियोगितामा कोच (प्रशिक्षक) भनिएको छ। कोचले प्रत्यक्ष सुन्न र आफ्नै समूहमा समावेश गर्न प्रयास गर्नेछन्। कार्यक्रममा कोचहरूमा गायकगायिका दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहनेछन्। कार्यक्रम ब्लाइन्ड राउन्ड, ब्याटल राउन्ड र लाइभ सो गरेर तीन चरणमा समावेश हुने तथा अन्तिम चार जना प्रतिस्पर्धीबाट एक जना भ्वाइस अफ नेपाल घोषणा गरिने आयोजकले जनाएको छ। कार्यक्रमलाई नेपाल आइडल सिजन एकका निर्देशक लक्ष्मण पौडेलले निर्देशन गर्नेछन् भने सुशील नेपालले प्रस्तोताको भूमिका निर्वाह गर्ने जनाइएको छ।

कार्यक्रममा विजेता हुनेले नगद २५ लाख रुपियाँ, एउटा कार र २० लाख बराबरको एल्बम कन्ट्याक्ट एवं वल्र्ड टुर गराइने तथा सम्पूर्ण खर्च १२ करोड लाग्ने कार्यक्रम आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्