तालमेल नमिलेको विकासे यात्रा



पेशल आचार्य

भनिन्छ, राजनीति सोझो बाटोमा हिँड्दैन। अझ नेपालको राजनीति त हिँडेको पनि छैन। यहाँ भनिने गरेका कुरा र गरिने गरेका कुराहरूमा तालमेल नमिलेको करिब सात दशक नै भइसक्यो। हामीले नेपाल र नेपाली मोडेलका विकासका पथहरू कहिल्यै पनि दिगो हिसाबले खोल्न सकेनौं। विदेशीहरूका नीति, सहयोग र मोडेलहरूले हाम्रा शिक्षा, स्वास्थ्य र यातायातका क्षेत्रहरूलाई अलमल्याएर धुलीसात पारे। अहिलेको सरकार बहुमतमा छ। यसले उपल्ला तहमा देखिने र नदेखिने गरी भइरहेका माफियातन्त्र, घोटाला, भ्रष्टाचार, सिन्डिकेट, कालोबजारी र पेटी कन्ट्याक्टमा हुने गरेका डन र दादागिरीलाई निमिट्यान्न त पार्न सक्दैन नै कठोर आत्मबलका आधारमा क्रमशः न्यूनीकरण गर्दै जाने हो भने केही मात्रामा कम गर्न भने सक्दछ।

यो कुरा नीति निर्माताहरूलाई थाहा छ। यो कुरा उपल्लो तहमा रहेका कर्मचारीलाई पनि राम्रो हेक्का छ। अनि भलिभाँती ज्ञान त तिनीहरूलाई पनि छ, जो राजनीतिको बुई चढेर समाजसेवा गर्छौं भन्नेहरू छन्। हामी अझै देखिरहेका छौं, केही मानिस अझै आफ्नो सिभीमा राजनीतिलाई पेसा भनेर लेख्ने गर्दा रहेछन्। मौलिक नेपालीत्व भएका राजनेताहरूको नेपालमा उपस्थिति नै त नभएको होइन तर वर्तमानमा खडेरी परेको भने अवश्य हो।
गाउँघरमा धुले बाटो र डोजर आतङ्क हेर्नुपर्छ नेपालको विकासे गति मूल्याङ्कन गर्नका लागि। मानिस पहिले एक जिल्ला एक बाटो भन्थे। अलिपछि एक गाउँ एक बाटो भन्न थाले। अहिले एक घर एक बाटो भन्न थालेका छन्। हिँउदभर भए÷नभएको पैसा सक्न धुले बाटोहरू खन्यो अनि बर्खा लागेपछि ती सबै गलेर, झरेर, पैरिएर र भासिएर बिजोग हुन्छन्। भैंसी आहाल बस्न सक्ने खाल्डाहरू बाटामा भएपछि त्यसले गाउँमा उत्पादन भएका सामान शहरसम्म कसरी पुग्न सक्छन्। शहरका तयारी र उत्पादित मालमत्ता गाउँ कसरी सजिलैसँग ल्याउन सकिन्छ ? यी झिना प्रश्नहरू हुन् तर यी प्रश्नका उत्तर कुनै पार्टीका नेताहरूसँग छैन।

शिक्षा क्षेत्रमा चारैतिर भ्वाङैभ्वाङ देखिन्छ। एकातिर सरकार निजीलाई घुमाउरो बाटोबाट स्याबासी धाप मारिरहेको छ भने अर्कोतिर सरकारीलाई पनि हातखुट्टा बाँधेर निजीसँगै फास्ट ट्र्याकमा दौडी भन्छ। हामी अहिले नेपाली भाषालाई कक्षा ११÷१२ मा अनिवार्य गराउनुपर्छ भन्ने जुलुसमा पनि सामेल हुन्छौं अनि समय निकालेर आफ्ना बाबुनानीको शुल्क तिर्न अंग्रेजी माध्यमका स्कुलमा लुसुक्क छिर्छौं। कठोर विरोधाभाषले हाम्रो वर्तमान बिथोलिएको छ। विसङ्गत पक्षले नै हामी पक्षाघात भएका छौं। हामीलाई थाहा छ कि हामी जानेतिर होइन नजानेतिर गएका रहेछौं।
स्वास्थ्यको क्षेत्रमा झन्–झन् गरिब र निमुखा जनताहरूको पहँच क्रमशः टाढा भइसक्यो। गाउँमुखी स्वास्थ्य केन्द्रमा हुनुपर्ने जनशक्ति र ओखतीहरू नभएर जनता थप स्वास्थ्य सुविधा लिनका लागि शहरतिरै धाउनुपर्ने स्थिति छ। समाजवाद उन्मुख भन्ने गरिएको सरकारले कम्तीमा पनि आम जनताका शिक्षा, स्वास्थ्य र यातायातका सबालमा कठोर भएर न्यूनतम सेवा–सुविधाहरू दिने कार्यको थालनी गर्नै पर्दछ।

परीक्षण कालमा छ हाम्रो संघीय शासन व्यवस्था। मुलुक आर्थिकरूपमा करिब–करिब टाट पल्टने स्थितिमा पुगिसक्या छ। हामीलाई शासन गर्नेहरूको जुलुस छ। केन्द्र र स्थानीयका बीचमा अनायासै लादिएको प्रदेश राजनीति त्यसले उब्जाउने करले जनताका ढाड अवश्य सेक्ने छ। सडक विकासमा नेपाली मोडेल ल्याइएन। बिजुली विकासमा त झन् यसलाई नजर अन्दाज गर्नै खोजियो। शिक्षाका क्षेत्रमा हामी न हाँसको चाल न बकुल्लाको चालमा पुगेका छौं। नेपाल संसारकै लागि खुला प्रयोगशाला भएको छ। जसले बढी बजेट दियो उसको विचार बिक्ने त्यो देश नेपाल नै हो जहाँ हामी अभूतपूर्व रूपमा संघीय शासनको रिहर्सल गरिरहेका छौं।

हुन त अझै नेपाली जनताहरू सन्तुष्ट भइसकेका छैनन्। देशभित्रबाटै राष्ट्रवादका नयाँ–नयाँ कलेबरमा विविध मेखाला लगाएका मानिसहरू उफ्रन लागिरहेका छन्। चुनावमा आएका विवेकहरू चुनावपछि दुला लुक्नु, आफैं हारेर क्लान्त भएको जेठो प्रजातान्त्रिक पार्टी आफ्नो हारको आरोप विपक्षीहरूको संगठनलाई लगाउनु यी हास्यका पहेलीहरू हुन सक्छन्। अर्कातिर जसले गरिब र निमुखाको दुहाई दिएर पार्टी एकीकरणको नारा घन्काइरहेको छ उही नै एक या अनेक फत्तुरहरू लगाएर सुदूर यात्राका लागि पनि बीच–बीचमा भाँजो हाल्न खोजिरहेको देखिन्छ। त्यसैले भनिएको हो– विकासोन्मुख देशको राजनीति कहिल्यै बुझिँदैन। राजनीतिले सपाट कुराहरू भन्न सक्नुपर्ने हो। विकासलाई जनजनका हृदयमा आत्मसात गर्न सक्नुपर्ने हो। पेटका सबालमा, मनका भावनामा र दिमागका चुलीमा पुगेर विकासका मोडेलहरू तयार गर्न सक्नुपर्ने हो। नेपालमा विकासका कुरा गर्नेहरूलाई एउटै मेलाम्ची खानेपानी आयोजनाको लक्ष्य र प्रगति सुनाइदिए हुन्छ। नेपाल वायु सेवा निगमको स्थिति बताइदिए हुन्छ। अनि त्रिभुवन विश्वविद्यालयको अवस्थालाई यथार्थ चित्रण गरिदिए हुन्छ।

पुराना नेताहरू भन्ने गर्छन्। पञ्चायतले खोलेका उद्योगहरू बहुदलले देख्न सकेन। बहुदलमा खोलिएका केही थप उद्योगहरू पनि संघीय गणतन्त्रकालमा धुलीसात भए। देश युवालाई घोषितरूपमै वैदेशिक रोजगार केन्द्र खोलेर विदेशीका श्रमिक र भरियाका रूपमा निर्यात गर्दा उधुम गौरव मान्छ। सिन्डिकेटरूपी दल–दलका सिरानीहरू लगाएर यो वा त्यो आश्वासनका रूपमा जनता अलमल्याउँदै नेपालका दजनौं कम्युनिस्ट पार्टीहरू हँसिया र हथौडा चि≈नलाई ट्रेडमार्कका रूपमा भजाएर सत्तारुढ हुने र सत्तामा जाने प्रकल्पना गर्दछन्। तीतो यथार्थ यस्तो छ कि सच्चारूपमा नेपाललाई माया गर्नेहरू कि त खबुजको बाक्लो रोटी खाएर अरबमा पीडाका गीतहरू गाउँदै छन् कि त यूएस, क्यानडा र अस्ट्रेलियातिर उच्च शिक्षामा व्यस्त छन्।

दसकौंदेखि बजिरहेका छन् आश्वासनका गीतहरू। संगीत आ–आफ्नै तालमा ठोकिरहेका छन् नेताहरू। जनता त हरेक पाँच–पाँच वर्षमा एउटा लफेटो चेपेर भोट दिन लामबद्ध हुने त्यस्ता वाचाल पात्रहरू हुन् जो जतिसुकै विरोध र अन्तर्विरोधका कुराहरू गरेर पनि आखिरमा आफ्नो पार्टी र विचारलाई तिलाञ्जली दिन नसकी बाध्य भएर गाली गर्दै भोट खसालिदिन्छन्। पुरानो पार्टी, पुरानो विचार र पुरानो शैलीले हामी कति दशकमा विकास र समृद्धिको यात्रा तय गर्दै सम्पन्नताको शिखरमा पुगौंला। खै⁄ यसै भन्न सकिने स्थिति छैन।

काठमाडौंको अवस्था हेर्दा नै प्रस्ट होइन्छ। वर्तमान शासनरुढ मेयरका वाचा र सय दिनमा गर्छु भनिएका कुराहरू समय एक वर्ष नाघिसक्न लाग्दा पनि थालनी नै भएका छैनन्। यो एक वर्ष गफमा बित्यो। अर्को वर्ष योजना बनाउँदै बित्छ। तेस्रंो वर्ष बजेट स्वीकृत गर्दा नै बित्ला। चौथो वर्ष सुरुबुरु काम होला अनि पाँचौं वर्ष फेरि चुनावी वर्ष हुनेछ। यसैरी नै स्थानीय सरकारका कामहरू पनि अघि बढे भने नेपाल र नेपालीले जत्रासुकै नाराका शेरगुल खिलाएर ल्याएको परिवर्तन पनि फिस्स हुन बेर लाग्दैन।

चीनले बुलेट ट्रेन देखाउँछ। मेघा सिटी देखाउँछ। आकाशे मार्गमा चल्ने मोटरहरू देखाउँछ। अचम्मै लाग्ने कृषि क्रान्ति देखाउँछ। औद्योगिक विकासका एक अनेक महारथहरू देखाउँछ। भारतले पनि लुखुर–लुखुररूपमै परिवर्तन भइरहेका केही भिडियो क्लिप्स देखाउँछ। कम्तीमा आईटीको तरक्की देखाउँछ। तर, नेपालले फुर्ती मात्र देखाउँछ। हामीसँग चीन र भारतलाई लोभ्याउने र तान्ने अनगिन्ती वस्तु र चिजबिज नभएका कहाँ हुन् र ? एउटै जानकी मन्दिरलाई हेभेन पेलेस बनाइदिने हो भने पचासौं करोड भारतीय हिन्दु बा≈य पर्यटकका रूपमा तान्न सकिने सम्भावना हुनेछन्। गौतम बुद्धका हितमा अहिलेसम्म भएका कामभन्दा जरा हट्केको शैलीमा काम हुने हो भने करोडौंकरोड बुद्धिस्ट पर्यटकको अन्तिम गन्तव्य लुम्बिनी हुन नसक्ने कुनै कारणै छैन। साहसीहरूका लागि सगरमाथा, अन्नपूर्ण पदयात्रा, रारा, खप्तड, मनाङ र मुस्ताङका सयौं हेरिटेज छन्। जलयात्रा र वन विहारका कुराहरू पनि छन्। गुफा, तालतलैया र झरना त कति कति। तर अब ती सब देखाउने कुरा नभएर सुनाउने कुरा मात्र भएका छन्। धन्य नेपाल, धन्य नेपाली नीति।

धिमा राजनीतिको यही ट्रेन अझै केही दशक नेपालमा चालू भइर≈यो भने नेपाली युवामा एक किसिमको चरम निराशाले घर गर्न थाल्ने छ जसका जगमा उठ्ने आँधीहुरीका सैलावहरूले प्राप्त स्वतन्त्रतालाई पनि एकातिर लगेर नथुपार्ला भन्न सकिन्नँ। नेपाली जल, जंगल, जडीबुटी र जमिनलाई आधिकारिकरूपमा नेपालीले जबसम्म दोहन र उपयोग गर्न सक्दैनन् तबसम्म नेपालको अवस्था यहीं रहिरहन्छ र गोलचक्करमा घुमिरहन्छ। हामी क्रमशः दाइँ गरेजस्तो शैलीमा घुमिरहन्छौं। अनि हाम्रो सनातन उखान घुमीफिरी रुम्जाटारको उखान चरितार्थ भइरहनेछ।

प्रतिक्रिया दिनुहोस्