त्रिलोचनका पाँच बालउपन्यास



शरद श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य भएर राजनीतिमा पनि सक्रिय रहँदै आएका त्रिलोचन ढकाल साहित्यलाई मन पराएर साहित्यिक सिर्जना गर्न पाउँदा खुशी र दङ्ग छन्। केही महिनाअगाडि यिनले आफूले लेखेका पाँचथान बालउपन्यास कृति प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नेकपा (एमाले) का वरिष्ठ नेता के.पी. ओलीलाई सार्वजनिक गर्न लगाए। उक्त कार्यक्रमका म पनि अतिथि थिएँ। उक्त साहित्यिक गोष्ठीमा स्याङ्जाका साहित्यकारहरूको विशेष उपस्थिति थियो। सबै छक्क पर्ने गरी त्रिलोचनका ५ वटा बालउपन्यासहरू त्यस कार्यक्रममा विमोचित भए। विमोचित बालउपन्यासहरूमा (१) सबै आमाको काखमा, (२) घामलाई केले खायो ?, (३) वर्षा रिसाइरहन्छिन्, (४) घामको नाति जून र (५) भूइँचालो आयो छन्।

त्रिलोचन ढकाल राजनीति गर्दै आएका साहित्यलाई मन पराउने साहित्यकार भएकैले यिनी आफ्नो दृष्टि र भावनामा स्पष्ट अडान राख्छन्। सबैजसो बालकृतिहरूमा वैज्ञानिक विषयवस्तुहरूको चयन भएका छन्। बालकेन्द्रित पात्रहरूको बालमस्तिष्कमा विज्ञान–चेत भर्न प्रयत्यनरत लेखक भएकोले यिनका यी पाँचवटा उपन्यासहरूको सबै कथन, विषयवस्तुमा विज्ञानसम्मत तर्कहरू प्रस्तुत गर्न भ्याएका छन्। रुढिवादको विरोध गर्नु यिनले आफ्नो कर्तव्य सम्झेकै कारणले यिनका यी पाँचवटा उपन्यासमा रुढिवादको विरोधमा आफ्नो सिर्जना रोपेका छन्। सरल भाषाशैलीको प्रयोग, बालकेन्द्रित पात्रहरूको चयन र जीवनदृष्टिमा विज्ञानसम्मत तर्क र कथन यिनले पाँचैवटा उपन्यासमा आफ्नो पहिचानका रूपमा देखाउन सफल छन्।

बच्चाहरूलाई झुट सिकाउनुहुँदैन, अनायास डर देखाउनुहुँदैन, गलत कुरा सिकाउँदाका परिणामहरू कस्ता डरलाग्दा हुन्छन् भन्ने सही सत्य कुराहरू उपन्यासमार्फत सिकाउने प्रयास गरेका छन्। त्रिलोचन लेखकले माथि उल्लेख भएका कुराहरू कथामार्फत ‘सबै आमाको काखमा’ उपन्यासमा पोखेका छन्। ‘घामलाई केले खायो ?’ उपन्यासमा सूर्यग्रहण र चन्द्रग्रहणलाई विषयवस्तु बनाएर उपन्यासकारले विज्ञानसम्मत अध्ययन गरेर वैज्ञानिक सन्देश दिन खोजेको छ यस कृतिमा। ‘वर्षा रिसाइरहन्छिन्’ मा उपन्यासकारले वर्षाका प्राकृतिक स्वरूपलाई देखाउन खोजेका मात्र छैनन् वर्षाका विभिन्न रूप र रङ्गलाई कथामार्फत परिचय गराउन खोजेका छन्।

यी उल्लिखित तीनवटा कृतिका अलावा ‘घामको नाति जून’ चौथो कृतिमा पनि यिनले वैज्ञानिक तथ्यको जानकारी दिने सोचकै कारणले यस उपन्यासलाई पनि अन्धविश्वासका विरुद्ध वैज्ञानिक तर्कले सबै घटना–प्रसङ्गहरूलाई देखाउन प्रयत्न गरे। यसैले यिनी प्रगतिशील–चेत व्याप्त भएका प्रगतिशील साहित्यकारका रूपमा देखा पर्न सफल छन्। पाँचौं बालउपन्यास ‘भुइँचालो आयो’ मा यिनले पछिल्लोपल्ट वि.सं. २०७२ मा आएको बलशाली भूकम्पको वर्णन गरेर भूकम्पको इतिहास, भूकम्पबाट हुन सक्ने क्षति र प्रतिरोध गर्ने वातावरण के–के हुन सक्छन्, सबैको वर्णन गरेका छन्। त्रिलोचन ढकालले यी उपन्यासहरूमार्फत आफूलाई वैज्ञानिक तथ्यमा आधारित उपन्यास लेख्न सक्षम उपन्यासकारका रूपमा देखाउन सफल छन्। बालउपन्यासकार त्रिलोचन ढकाललाई वैज्ञानिक बालउपयोगी सिर्जनाका लागि बधाई भनिरहेछु।

प्रतिक्रिया दिनुहोस्