जितेन्द्र र सन्तोषको जोडी पहिलो



काठमाडौं, (नेस)
जितेन्द्र परियार र सन्तोष खत्रीको जोडी छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन्।
त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा भएको फाइनलमा जितेन्द्र र सन्तोषको जोडीले अनिल शाही र प्रदीप खड्काको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे। उमेरसमूहको प्रतिस्पर्धामा कृष्णराज घलले दोहोरो उपाधि हात पारे। भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कृष्णले विनोद गुरुङलाई ६–० र ६–१ ले हराए। सोही उमेरसमूहको डबल्स फाइनलमा कृष्णले सुवर्ण धाक्वासंग मिलेर राजु क्षेत्री र सुदर्शन विष्टको जोडीलाई १–६, ६–२ र १०–६ ले हराएका थिए।
भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा श्रीराम मगर र सोभितमान श्रेष्ठको जोडीले स्वर्ण जिते। उक्त जोडीले फाइनलमा चन्द्र शाही र राजु श्रेष्ठको जोडीलाई २–६, ६–२ र ११–९ ले पाखा लगाए। ५५ वर्षमाथि पुरुष डबल्सको उपाधि मनोज राणा र छ्याम्बा डन्डुपले जिते। फाइनलमा मनोज र छ्याम्बाको जोडीले करिम मुल्लाह र राजेन्द्रसिंह भण्डारीको जोडीमाथि ६–१ र ६–२ को जित दर्ता गरे।

प्रतिक्रिया दिनुहोस्